No Image Headlineदेश

एमालेको ओरालो यात्रा: राष्ट्रियसभामा पनि निरीह

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनमा सहभागी पाँच दल एक हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) खुम्चिएको छ।

बहुमतप्राप्त तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको एमालेको ओरालो यात्राको परिणाम राष्ट्रियसभा निर्वाचनमा देखिएको छ।

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेका नेताले बनाएको गठबन्धन सरकार नै एमालेका लागि घातक बनेको हो। पार्टी र सरकारमा एकाधिकार प्रयोग गरेको भन्दै पार्टीभित्र विद्रोह गरेका तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल नै एमालेलाई कमजोर बनाउने गठबन्धनका हर्ताकर्ता बने।

ओलीले पटकपटक संसद विघटन गरेपछि प्रचण्ड र नेपालकै प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको हो। गठबन्धनले बुधबार राष्ट्रिय सभामा एमालेलाई तीतो हार चखाएको छ। १९ सिटका लागि भएको निर्वाचनमा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ।

प्रदेश १ बाट एक सिट जिते पनि समग्र परिणाम एमालेले गुमाएको हो। बुधबारको परिणामले एमालेले राष्ट्रिय सभाका सात सदस्य गुमाएको छ। एमालेले सात जना राष्ट्रियसभा सदस्य गुमाउँदा सत्तारुढ माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादीको ४ र नेपाली कांग्रेसले ४ सिट जितेका छन्। गठबन्धनमा सहभागी जनमोर्चाले राष्ट्रिय सभामा ऐतिहासिक उपस्थिति जनाएको छ।

गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट जनमोर्चाका तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए। चार जना मतदाता रहेको जनमोर्चाले राष्ट्रियसभामा प्रतिनिधित्वको ऐतिहासिक अवसर पाएको हो।

राष्ट्रिय सभाको चुनावले एमालेलाई ठूलो क्षति भएको छ। राष्ट्रिय सभामा तत्कालीन नेकपा झण्डै दुई तिहाई नजिक थियो। पछिल्लो निर्वाचनपछि एमाले अध्यक्षबाहेक राष्ट्रिय सभामा १६ सिटमा झरेको छ।

ठूलो पराजयले पनि राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको एमाले गठबन्धनसँग कमजोर बनेको हो। एमाले १६ सिटमा झर्दा सत्ता गठबन्धने करिब दुई तिहाई जुटाएको छ। प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत कायम नै छ।

राष्ट्रिय सभामा अब एमाले १६, माओवादी १५, नेपाली काँग्रेस १०, समाजवादी ८, जसपा ३, लोसपा १, जनमोर्चा १, स्वतन्त्र १ र मनोनित दुई जना रहेका छन्। अब १ जना भने मनोनित हुन बाँकी छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button