के जनावरबाट मानिसमा कोरोना फैलिन्छ ?

हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो। हङकङका अधिकारीहरूका अनुसार पसलमा बेच्न राखिएको कुनै सङ्क्रमित ह्याम्सटरबाट मानिसमा भाइरस सरेको हुनसक्छ।



यहाँ भाइरस कसरी सर्यो भन्ने यकिन हुन नसके पनि स्वास्थ्य वैज्ञानिकहरू जनावरहरूमा भाइरस उत्परिवर्तन भएर मानिसहरूमा नयाँ महामारी निम्त्याउन सक्ने कुरामा चिन्तित छन्।



हङकङमा ठूलो सङ्ख्यामा ह्याम्सटरहरू मारिएको घटना धेरै देशहरूमा समाचारको शीर्षक बन्यो। अधिकारीका हातबाट ह्याम्सटरहरू मारिनबाट जोगाउन मानिसहरूले यसलाई पाल्न प्रस्ताव गरेको र यी जनावर मारिनुअघि नै मानिसहरू घरपालुवा जनावरका पसलमा जाँदै गरेको समाचारहरू प्रकाशित भए।



जनावरहरूमा कोभिड फैलिएका धेरैमध्येको यो पछिल्लो एउटा घटना मात्र थियो। जनावरको स्वास्थ्यका लागि विश्व सङ्गठन (ओआईई) ले १७ प्रकारका जनावरमा ६२५ वटा कोभिड सङ्क्रमणका घटना भएको गत महिना जनाएको छ।
विभिन्न ३२ वटा देशको तथ्याङ्कमा सिंह, बाघ देखि कुकुर, बिरालो र बन बिरालोसम्म छन्। तर अधिकांश सङ्क्रमित जनावरहरू चिडियाखानामा भएका कारण उनीहरूलाई क्वारन्टीन राख्न र परीक्षण गर्न अप्ठ्यारो थिएन।
तर जनावर स्वास्थ्यका विज्ञहरूका अनुसार जङ्गली जनावरमा सङ्क्रमण फैलिए ठूलो जोखिम निम्त्याउन सक्छ। अहिलेसम्म एउटा मात्रै जङ्गली जनावरमा मानिसबाट सङ्क्रमण सरेको थाहा हुन आएको छ। अमेरिका र क्यानडामा जनावरहरूमा कोभिड परीक्षण गर्ने क्रममा सेतो पुच्छर भएको हरिणमा मानिसबाट सङ्क्रमण सरेको पाइएको थियो।
तर परीक्षण नै नभएका देशहरूमा मानिसहरूबाट जङ्गली जनावरमा भाइरस सरेको चिन्ताबीच ओआइईले जङ्गली जनावरहरूको तत्कालै विश्वभर परीक्षण गर्न विज्ञहरूसँग काम भइरहेको जनाएको छ।
विज्ञहरू जङ्गलमा रहने जनावरहरू भाइरसको सञ्चय स्थल बन्न सक्ने, उनीहरूमा भाइरस उत्परिवर्तन भएर थप खतरनाक हुँदै मानिस र जङ्गली जनावर दुवैलाई जोखिम बढाउने सम्भावना रहेको बताउँछन्।
यस अर्थमा पनि जङ्गली जनावरहरूको निगरानी हुनु महत्त्वपूर्ण छ तर त्यो भइरहेको छैन, सिङ्घापुरको ड्यूक एनयूस मेडिकल स्कुलमा उदाउँदा सङ्क्रामक रोग सम्बन्धी कार्यक्रम हेर्ने प्राध्यापक लिन्फा वाङ् भन्छिन्।
यदि मैले यो गर्न चाहेँ भने पनि स्रोत कहाँबाट जुटाउने, कति नमुनामा परीक्षण गर्ने र को सँग सहकार्य गर्ने भन्नेबारे मलाई केही पनि थाहा छैन। यो हामीले झेल्नुपर्ने ठूलो चुनौतीको रूपमा रहेको छ।ू
यो महामारी पनि जनावरबाट मानिसमा भाइरस फैलिएकै कारण सुरु भएको ठान्ने गरिएको छ। विश्व भेटेरिनरी असोसिएशनकी महामारी जोखिम व्यवस्थापन विज्ञ प्राध्यापक नोएल मरेन्डा यो भाइरस फेरि मानिसहरूबाट जनावरमा फैलन सक्ने प्रति ध्यान दिन हुन जरुरी हुने बताउँछन्।
कोभिड सम्बन्धी आवश्यकताका लागि जङ्गली जनावरहरूको निगरानी गर्नु विश्वव्यापी मुद्दा हुनुपर्ने हो तर अहिले त्यो देखिइरहेको छैन, उनले भने।
मानिस र जनावरहरूबीचको यो आदानप्रदान छानबिन हुनुपर्छ र अन्तर सम्बन्धित समस्याहरूको अध्ययनको लागि बहुआयामिक सहकार्य आवश्यक पर्छ।
ढल र फालिएका खानेकुराबाट जनावरहरूमा भाइरस सर्ने जोखिम सम्बोधनका लागि वैज्ञानिकहरूले सहरी योजनाविद् र फोहोर व्यवस्थापन विज्ञहरूसँग सहकार्य गरेको उनी देख्न चाहन्छन्।
जनावरहरूले सञ्चय गरेका भाइरसका कारण मानिसहरूलाई असर गरेका धेरै उदाहरणहरू छन्। वैज्ञानिकहरूका अनुसार इबोला, हेन्द्रा र निपा भाइरस चमेरामा सञ्चित भएर बसेको थियो। रेबिज भाइरस रकुनहरू र फ्याउराहरूमा बस्ने गरेको पाइएको थियो। क्षयरोगको भाइरस पनि जनावरबाटै मानिसमा सरेको थियो।
उनीहरूका अनुसार सन् २००९ मा महामारीको रूप लिएको स्वाइन फ्लू कसरी जनावर र मानिसहरूबीच एक अर्कामा भाइरस सर्न सक्छ भन्ने उदाहरण भएको बताउँछन्। स्वाइन फ्लू सबैभन्दा पहिले सुँगुरबाट मानिसमा सरेको थियो भने पछि मानिसले सुँगुरलाई सङ्क्रमित गराएका थिए।
बिरामीको कुनै पनि लक्षण नदेखिएको सेतो पुच्छर हुने हरिणमा कोरोनाभाइरसको कुनै उत्परिवर्तन भए नभएको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्।
हामीले सिक्वेन्स गरेका नमुनाहरूबाट कुनै पनि उल्लेख्य उत्परिवर्तन भएको पाएनौँ, पेन स्टेट विश्वविद्यालयका क्लिनिकल प्राध्यापक डाक्टर सुरेश कुचिपुडीले भने।
ती नमुनाहरू महामारीको सुरुवाती चरणमै लिइएका थिए। भाइरस हरिणहरूमा फैलँदै गए नगएको र उत्परिवर्तन भए नभएको पत्ता लगाउन हामीले सबैभन्दा पछिल्ला उदाहरणहरूको पनि विश्लेषण गरिरहेका छौँ।
जति धेरै भाइरस फैलँदै गयो मानिसहरूलाई खतरा निम्त्याउने जोखिम पनि उति नै धेरै हुने गर्छ। यो हामी सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन भनेजस्तै हो, डा मरेन्डा भन्छन्। जनावरको संसार पनि यसैमा समेटिन्छ।
तर हामीले सबै वन्यजन्तुलाई कसरी निगरानीमा राख्नेरु जबकि स्तनधारी जीवहरू मात्रै ५,००० प्रकारका छन्। प्रोसिडिङ्स अफ न्याशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित एक अनुसन्धानले ४१० वटा फरक प्रजातिहरू पहिचान गरेको छ जसको कोषको सतहमा पाइने प्रोटिनमा कोरोनाभाइरस टाँसिन सक्छ।
त्यसमध्ये पनि २५२ वटा जनावर स्तनधारी, ७२ चरा, ६५ माछा, १७ सरीसृप र चार वटा उभयचर प्रजाति छन्। कोषको बनोटका आधारमा कोभिड सङ्क्रमण हुनसक्ने अति उच्च, उच्च र मध्यम जोखिममा रहेका १०३ प्रजातिका जनावर मध्येमा ४० प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको जोखिम, लोपोन्मुख र अति लोपोन्मुख जनावरको रातो सूचीमा रहेका प्रजाति छन्।
हाम्रो विश्लेषणले विश्वका आदिम र पुराना जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण विकाश हुनसक्ने देखाएको छ। त्यसमध्ये पनि चीनमा पाइने २१ प्रजातिका आदिम जनावरहरू कोरोनाभाइरस भण्डारण गर्न सक्ने सम्भावित जनावरहरू हुन सक्छन्, सन् २०२० मा प्रकाशित अनुसन्धानले भनेको छ।
यो परालको कुन्यूमा सियो खोज्नुजस्तै हो। विश्वमा कोभिड बिरामीका लागि भेन्टिलेटरहरू जुटाउन सङ्घर्ष गरिरहेका देशहरू पनि छन्। उनीहरूका लागि यो प्राथमिकतामा पर्दैन, हङकङको सिटी विश्वविद्यालयमा वन हेल्थका प्राध्यापक डर्क फाइफर भन्छन्। त्यसैले हामी कसरी अघि बढ्ने र यसलाई प्रभावकारी रूपमा कसरी गर्ने भन्ने अहिलेको मुख्य प्रश्न हो। बीबीसी