No Image Headlineदेशमुख्य खबर

थपिए ६ हजार ४६२ जना कोरोना संंक्रमित, कहिलेबाट घट्छ संक्रमण ?

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभरमा १७ हजार ४३७ ओटा नमूना परीक्षण गरिएको थियो । उक्त अवधिमा १३ हजार ३७७ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले विगत दुई सातादेखि नेपालमा कोभिड- १९ संक्रमण निरन्तर बढिरहेको बताए । उनका अनुसार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत एक हप्तामा गरिएको परीक्षणमा ४८ दशमलव २ प्रतिशत र एन्टिजन परीक्षणमा ३५ प्रतिशतमा पोजिटिभ फेला परेको छ ।
अहिले आईसीयूमा २१५ जना र भेन्टिलेटरमा ७४ जना बिरामी भएको मन्त्रालयले बताएको छ।

नेपालमा कुल संक्रमितमध्ये ९०  प्रतिशतभन्दा बढी निको भएका छन्।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

डेल्टा भेरिएन्टका कारण दोस्रो लहरमा फैलिएकोमा यसपालि ओमिक्रोनका कारण संक्रमितको संख्या बढेको हुनसक्ने विज्ञहरू बताउँछन्।

तर सरकारले ओमिक्रोनबाट संक्रमित व्यक्तिहरूका बारेमा कुनै छुट्टै तथ्याङ्क भने दिएको छैन। मन्त्रालय अन्तर्गतको सरुवा रोग महाशाखाले यसै हप्ता संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।

बढ्दो संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत शनिवारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ।

उपत्यकामा भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाइनुका साथै विद्यालय, सिनेमा घर, जिमखाना सहितका भिडभाड हुने सेवाहरू बन्द गरिएको छ। घरबाट बाहिर निस्कँदा मोबाइलमा भए पनि खोप कार्ड पनि अनिवार्य रूपमा राख्न भनिएको छ।

नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको उक्त मन्त्रालयले बताएको छ । उसका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय रहेको पाइएको छ ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ ओटा नमूनाको जिन सिक्वेन्सिङ गरिएकोमा २८ ओटामा ओमिक्रोन र बाँकी चार ओटामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button