नेपाल आयल निगमको आर्थिक संकट : इन्धन खरिद गर्न स्थिरीकरण कोषबाट निकासा
नेपाल आयल निगमले इन्धन खरिदका लागि मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८८ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।
‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष(सञ्चालन) नियमावली २०७१’ मा रहेको सो रकम झिक्ने निर्णय कोषको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गरेको हो ।
उक्त रकम निगमले आइतबार (आज) इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्नेछ । २०७१ चैत २३ मा राजपत्रमा सूचना प्रकाशित गरेर डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्यको १ प्रतिशतका दरले स्थिरीकरण कोषमा जम्मा गरिँदै आएको थियो ।
लगातार मूल्य बढेपछि इन्धन खरिद गर्न नसक्ने अवस्था पुगेपछि कोषको रकम निकाल्न प्रस्ताव गरिएको निगमले जानकारी दिएको छ । कोषमा १२ अर्ब रुपेैयाँ जम्मा भएको र त्यहीबाट केही रकम निकालेर आईओसीलाई भुक्तानी गर्न लागिएको निगमको भनाइ छ ।
“कोषमा भएको रकम दुई÷तीन महिनालाई पुग्छ । त्यसपछि तेल खरिद गर्न रकम व्यवस्थापन गर्न ऋण लिनुपर्ने अवस्था आउँछ,” निगमका प्रवक्ता वीनितमणि उपाध्यायले भने ।
निगमले गत बुधबार डिजेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ तथा बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर १ सय डलरले मूल्य बढाएको थियो ।
मूल्य समायोजन गर्दा पनि १५ दिनमा १ अर्ब ८८ रुपैयाँ घाटा रहेको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए । ६ वर्षदेखि नाफा कमाउँदै आएको निगम पछिल्लो समय घाटामा गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएपछि निगम घाटामा गएको हो । निगमले आर्थिक वर्ष २०७१-०७२ बाट आव २०७६-०७७ सम्ममा निरन्तर नाफा कमाएको थियो ।
आव २०७६-०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको निगमले गत वर्ष भने ४ अर्बभन्दा बढी घाटा व्यहोरेको छ ।निगमले निरन्तर ६ वर्षमा नाफाबाट सञ्चितीमा राखेको १९ अर्ब रुपैयाँ हाल सकिसकेको छ ।
अहिले इन्धन किन्न पनि पैसा नभएको निगमको गुनासो छ ।अहिले निगम मासिक करिब २ अर्ब रुपैयाँले घाटामा छ । पछिल्लो ६ महिनाको घाटा १९ अर्ब २६ करोड पुगिसकेको छ ।
अहिले बजारमा पेट्रोल प्रतिलिटर १ सय ३९, डिजेल-मटीतेल १ सय २२, हवाई इन्धन आन्तरिक १०६, बाह्य प्रतिकिलोलिटर ९ सय ९५ र खाना पकाउने एलपीजी ग्यास १ हजार ५ सय ७५ रुपेैयाँ रहेको छ ।
मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल प्रतिलिटरमा १० रुपैयाँ ७५ पैसा, डिजेलमा ६ रुपैयाँ ३३ पैसा, ग्यासमा प्रतिसिलिन्डर ६ सय ४६ रुपैयाँ घाटा छ ।
निगमलाई हवाई इन्धन आन्तरिकमा ९ रुपैयाँ ६२ पैसा, बाह्यमा २९ रुपैयाँ र मटीतेलमा २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।