अर्थ

धानमा चामलको मात्रा घट्यो, चामल उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चल्दै

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म देशभर परेको हावाहुरीसहितको अकस्मात् वर्षाका कारण धानमा चामलको मात्रा घटेको छ । धान काटेर थन्क्याउने समयमै परेको ठूलो वर्षाले धानको गुणस्तर खस्किँदा चामलको मात्रा घट्न गएको हो ।

एक क्वीन्टल सफा र राम्रो धानमा ५२ किलोसम्म चामल उत्पादन हुनेगर्छ । तर, यस वर्ष अकस्मात् आएको वर्षाका कारण धेरैजसो जिल्लामा धान कुहिएको छ । यसले गर्दा एक क्वीन्टल धानमा ७ किलोसम्म चामलको मात्रा घटेको बताइएको छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघका उपाध्यक्ष नरेश राठीका अनुसार धान राम्रो भएमा एक क्वीन्टल धानबाट ५२ किलोसम्म चामल र १० किलोजति कनिका उत्पादन हुने गर्छ । तर, अहिले कनिकाको मात्रा बढेर १७ किलोसम्म पुगेको छ भने भुसको मात्रा ३८ किलोसम्म पुगेको छ ।

यसबाट धान उत्पादक किसान, चामल उद्योगी र ग्राहक सबैका लागि घाटा हुने उनले बताए । ‘धानमा चामलको मात्रा घट्दा उत्पादन लागतसमेत बढ्छ ।

यसको प्रत्यक्ष मार उपभोक्तामा नै पर्ने गर्छ । तत्कालै त चामलको मूल्यवृद्धि भइहालेको छैन तर यसकै कारण पछि मूल्य नबढ्ला भन्न सकिँदैन,’ उनले भने ।

यति बेला चामल उद्योगहरू आफ्नो उत्पादन क्षमताको ५० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् । संघले दिएको जानकारीअनुसार अहिले व्यापारीहरूले भारतिय बजारबाट धान आयात कम र चामल आयात बढी गरिरहेका छन् ।

भारतबाट चामल अयात अत्यधिक मात्रामा हुनाले नेपाली चामल उद्योगहरूले आफ्नो उत्पादन क्षमताको पूर्ण रूपमा प्रयोग गर्न नपाएको उपाध्यक्ष राठीले बताए ।

नेपालमा उत्पादित धानले मात्र नेपालमा मागहुने चामलको आवश्यकतालाई पूरा गर्न नसक्ने नहुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । तर, चामलभन्दा पनि धान आयात बढी गर्न पाए नेपाली चामल उद्योगहरूले पनि निरन्तर काम पाइरहन्थे र स्वदेशमा रोजगारी सृजनामा सघाउ पुग्ने उनको विश्वास छ । सरकारले चामल भन्दा पनि धान आयात गर्न स्वदेशी उद्योगहरूलाई प्रोत्साहन दिनुपर्ने उनले बताए ।

नेपालमा सञ्चालित खाद्यान्न उद्योगहरूले वार्षिक रूपमा नेपाललाई आवश्यक पर्ने कुल खाद्यान्नको ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन गर्छन् । आर्थिक अभियान

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button