मेसीलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा अवार्ड
बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले सोमबार लियोनल मेसी र मोहम्मद सालाहलाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फको अवार्ड जितेका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिष्टियानो रोनाल्डो भने स्पेसल अवार्डबाट सम्मानित भएका छन् ।
पोल्यान्डका लेवनडोवस्कीले लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् । उनले गत वर्ष पनि फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका थिए । लेवनडोवस्कीले गत महिना सम्पन्न बालोन डी‘अर अवार्ड विजेता मेसीलाई पछाडि पार्न सफल भए ।
बालोन डी‘अर अवार्डमा मेसी पहिलो हुँदा लेवनडोवस्की दोस्रा भएका थिए । तर, लेवनडोवस्कीले अन्ततः अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन सफल मेसीलाई पछि पारे । लिभरपुलका फरवार्ड सालाह भने तेस्रो स्थानमा रहे ।
‘‘यो ट्रफी जित्न पाउँदा मैले आफूलाई धेरै सम्मानित ठानेको छु,’’ म्युनिखमा रहेका लेवनडोवस्कीले भिडियो लिङ्कमार्फत भने । अवार्ड फिफा मुख्यालय जुरिचमा भर्चुअल समारोहमार्फत वितरण गरिएको थियो ।
अवार्डमा २०० भन्दा धेरै देशको राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक र पत्रकारहरुले मतदान गरेका थिए । विश्वभरका समर्थकको ठूलो साथ पाएका मेसी थोरैले मात्र पछि परेका थिए ।
मेसी, सालाह र लेवनडोवस्कीले पनि राष्ट्रिय टोलीको कप्तानका हैसियतले मतदान गरेका थिए । त्यसमा लेवनडोवस्कीले मेसीलाई दोस्रो स्थानमा राखेका थिए । सालाहले भने लेवनडोवस्कीलाई दोस्रो र मेसीलाई तेस्रो स्थानमा राखेका थिए ।
मेसीले भने आफ्ना प्रतिद्वन्द्वीलाई शीर्ष तीनमा राखेका थिएनन् । मेसीले पेरिस सेन्ट जर्मेन ९पीएसजी० आफ्नै सहयात्री नेइमारलाई दोस्रो र काइलियन एमबाप्पेलाई तेस्रो स्थानमा राखेका थिए ।
विजेता लेवनडोवस्कीले बुन्डेसलिगमा दुई कीर्तिमान तोडेका थिए । २०२०र२१ को सिजन बायर्नका लागि ४१ गोल गर्नुका साथै लेवनडोवस्कीले २०२१ क्यालेन्डर वर्षमा ४३ गोल गरेका थिए । यो दुबैमा लेवनडोवस्कीले बायर्न महान खेलाडी ग्रेड मुलरले १९७२ मा बनाएको कीर्तिमान तोडेका हुन् ।
‘‘केही वर्षअघिमात्र तपाईंले मलाई यो सम्भव छ भनेर सोध्नु भएको भए, मेरो जवाफ बुन्डेसलिगामा यति धेरै गोल गर्न सम्भव छैन भन्ने हुन्थ्यो,’’ लेवनडोवस्कीले भने ।
महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलसले उत्कृष्ट वर्ष महिला खेलाडीको अवार्ड जित्न सफल भइन् । उनले आफ्नै टोलीकी जेनिफर हेर्मोसो तथा चेल्सीकी साम केरलाई पछि पार्दै अवार्ड जितेकी हुन् । बार्सिलोनाले पहिलो महिला च्याम्पियन्स लिगको उपाधि जित्दा पुटेलस कप्तान थिइन् । उपविजेता चेल्सीकी केर दोस्रो स्थानमा रहँदा हेर्मोसो तेस्रो स्थानमा रहिन् ।
पुटेलसले गत महिना बालोन डी‘अर अवार्ड पनि जितेकी थिइन् । बालोन डी‘अरमा हेर्मोसो दोस्रो र केर तेस्रो भएका थिए ।
उत्कृष्ट प्रशिक्षकको अवार्डमा भने महिला र पुरुष दुबैमा चेल्सीले क्लिन स्विप गरेको छ । पुरुषतर्फ चेल्सीका थोमस टुचेलले अवार्ड जित्दा महिलातर्फ इमा हाएसले जितिन् । टुचेलले च्याम्पियन्स लिगको उपाधि जिताएका थिए भने इमा उपविजेता बनेकी थिइन् ।
टुचेलले म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र इटालीका रोबर्टो मान्सिनीलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । इटालीलाई युरो–२०२० को उपाधि जिताएका मान्सिनी दोस्रो स्थानमा रहेका थिए भने सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन सफल ग्वार्डिओला तेस्रो स्थानमा रहे ।
इमाले भने च्याम्पियन्स लिगको उपाधि जिताउन सफल बार्सिलोनाकी लुइस कोर्टेस र नदेरल्यान्ड्सलाई २०१७ को युरोपियन च्याम्पियन बनाउन सफल सरिना विगमनलाई पछि पार्दै अवार्ड जितेकी हुन् । बार्सिलोनाले चेल्सीलाई फाइनलमा ४–० ले हराउँदै उपाधि जितेको थियो ।
अझ विश्वको उत्कृष्ट ११ खेलाडीमा महिलातर्फ शीर्ष तीनमा रहेका कोही पनि पर्न सकेनन् । अझ बार्सिलोनाका एकजना खेलाडी पनि पर्न सकेनन् ।
त्यस्तै पुरुषतर्फ पनि सालाह उत्कृष्ट ११ भित्र पर्न सकेनन् । ३–३–४ फर्मेसनमा छनोट गर्दा अग्रपंक्तिमा मेसी, लेवनडोवस्की, इर्लिङ हालान्ड र क्रिष्टियानो रोनाल्डो पर्न सफल भए ।
जुरिचमा सम्पन्न अवार्ड कार्यक्रममा रोनाल्डो पुनः स्टार भए । पोर्चुगलका फरवार्ड रोनाल्डोलाई विशेष अवार्डमार्फत सम्मानित गरियो । रोनाल्डोले गत वर्ष पुरुषमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भङ्ग गरेका थिए ।
६ पटकको अवार्ड विजेता मेसी र पाँच पटकको विजेता रोनाल्डोले एक अर्कालाई वेवास्ता गर्ने क्रम यस वर्ष पनि जारी रह्यो । यस वर्ष रोनाल्डोले लेवनडोवस्कीलाई एक नम्बरमा राखेका थिए ।
चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीले जिते । चिलीकी क्रिष्टियन इन्डलरले महिला गोलकिपरको उपाधि जितिन् ।
फिफा पुस्कास अवार्ड टोटेनह्यामका इरिक लामेलाले जिते । उनले १४ मार्चमा आर्सनलविरुद्ध गरेको गोल उत्कृष्ट घोषित भयो । फिफा फ्यान अवार्ड डेनमार्कले जित्यो । त्यस्तै फिफा फेयर प्ले अवार्ड डेनमार्क र त्यहाँको मेडिकल टिमले जित्यो ।