कुशल र दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा कर्णालीविरुद्ध पुलिसको सहज जित
ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ८९रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।
जितसँगै समुह ‘ए’को शीर्ष स्थानमा रहेर पुलिसले सेमिफाइनल यात्रा सहज बनाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर २ सय ४४ रनको विशाल योगफल तयार गरेको थियो ।
पुलिसले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रनमात्र बनाउँन सफल भयो ।
कर्णालीको ब्याटिङमा प्रकाश जैशीले ४७ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको उत्कृष्ट प्रदर्शन गरे । कप्तान रविन्द्र शाही १७, मनिष थापा १५, विपिन रावल १० रन बनाएर पेभेलियन फर्किदा दिवन पुन १७ रन जोडेर अविजित रहे ।
पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान २ विकेट लिए । यस्तै, करण केसी, गुल्सन झा, पवन सराफ र कुशल भुर्तेलले समान १ विकेट लिए ।
यस अघि ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्कासहित सबैभन्दा धेरै ८२ रन जोड्दै उत्कृष्ट इनिङ खेले ।
यस्तै,तेस्रो नम्बरमा क्रिजमा आएका दिपेन्द्र सिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनको योगदान गरे । पवन सरार्फ २२ रन र कप्तान मन्जित श्रेष्ठ १९ रन जोडेर पेभेलियन फकिँदा दिलिप नाथ ३१ र आरिफ शेख १८ रन बनाएर अविजित रहे ।
कर्णालीको वलिङमा अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले समान २ विकेट लिए ।
पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको पुलिसले दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको थियो । यस्तै, पहिलो खेलमा प्रदेश–१ विरुद्ध ३१ रनको जित निकालेको कर्णाली दोस्रो खेलमा सुदुरपश्चिमसँग ४७ रनले हारेको थियो ।