विशेष

बूस्टर डोज के हो , कोभिड खोप कति पटकसम्म लगाउन मिल्छ ?

Thrill Factory
Rungta Group

कोरोनाभाइरसविरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुनः सक्रिय बनाउन दिइने खोपको मात्रालाई बूस्टर मात्रा भनिने गरिएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी कोभिड १९ विरुद्धको खोप एक पटक लगाएर जीवनभरि ढुक्क भएर बस्ने प्रकृतिको खोप नभएका कारण दुई मात्रा प्राथमिक खोप लगाएकाले पनि बूस्टर खोप लगाउनुपर्ने बताउँछन्।

बूस्टर भनेको रोग प्रतिरोधात्मक शक्ति छ, त्यसलाई अझ बढाउने अर्थात् बूस्ट गर्ने मात्रा हो। त्यसैले यो मात्रा लगाउनैपर्छ । अतिरिक्त मात्रा र बूस्टर मात्रामा पनि भिन्नता भएको उनी बताउँछन्।

दुई मात्रा दिइसकेकालाई भन्यौँ भने त्यो बूस्टर भयो। प्रतिरोधी क्षमता कम भएका र दीर्घरोगीका लागि प्रतिरोधी क्षमता बढाउन दिइने अतिरिक्त मात्रा हो, उनले भने।

एन्टिबडी भनिने रोगप्रतिरोधका लागि शरीरमा बन्ने तत्त्व बिस्तारै क्षीण हुँदै जाने र थप खोप नदिए फेरि रोग लाग्न सक्ने सम्भावना बढ्दै जाने भएकाले बूस्टर डोज लगाउनुपर्ने विज्ञहरू बताउँछन्।

साधारणतया दोस्रो मात्रा खोप लगाएको छ महिनापछि बूस्टर मात्रा दिनु उपयुक्त हुने विशेषज्ञहरूको सुझाव छ।

नेपालमा सोमवारसम्म दुई करोड ६० लाख मात्राभन्दा बढी मात्रा कोभिड खोप वितरण भइसकेको छ। सरकारी अधिकारीहरूका अनुसार यसमा एक मात्रा, दुई मात्रा, बूस्टर मात्रा र अतिरिक्त मात्राको सङ्ख्या पनि जोडिएको छ।

बूस्टर मात्राबारे लगाउनेबारे सरकारले निर्णय नगरेका कारण मानिसहरूले पुनः नयाँ खोप कार्ड बनाएर बूस्टर मात्रा लगाउने गरेको खोप अभियानमा संलग्न अधिकारीहरूको भनाइ छ।

भाइरससँग लड्ने क्षमता कम भएका दीर्घरोगी र ६० वर्षमाथि उमेर समूहका मानिसहरूलाई पहिलो चरणमा बूस्टर मात्रा दिनुपर्ने विज्ञहरूको सुझाव छ।

यसअघि दुई मात्रा खोप लगाइसकेकाहरूलाई बूस्टर मात्रा दिने योजना भए पनि विस्तृत कार्यविधि अझै तयार नभएको अधिकारीले जानकारी दिए।

ज्येष्ठ नागरिकहरूलाई माघ दोस्रो साताबाट बूस्टर मात्रा खोप दिने तयारी पनि मन्त्रालयले अघि सारेको छ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा अग्रपङ्क्ति काम गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बूस्टर मात्रा दिएपछि मात्रै बाँकी उमेर समूहलाई दिने तयारी भइरहेको जनाएको छ।

भारतमा एक व्यक्तिले कम्तीमा आठ पटकसम्म कोभिड १९ विरुद्धको खोप लगाएको जानकारी सार्वजनिक भएको छ।

बिहार राज्यका ६५ वर्षीय ब्रह्मदेव मण्डलले आफूले ११ पटकसम्म कोरोनाभाइरसविरुद्धको खोप लगाएको र त्यसका कारण आफूलाई कुनै नराम्रो असर नपरेको दाबी समेत गरेका छन्।

इजरेललगायत कतिपय देशले ओमिक्रोन भेरिअन्ट विश्वमा फैलिन सुरु भएपछि चौथो मात्राको खोप दिन सुरु गरेका छन्।

तर केही विज्ञहरूले तीन मात्राभन्दा बढी खोप लगाउन अहिले आवश्यक नरहेको बताएका छन्। तीन मात्रा खोपले पनि ओमिक्रोन भेरिअन्टबाट हुने गम्भीर समस्याका लागि सुरक्षा दिने भएकाले चौथो मात्रा आवश्यक नरहेको यूकेका विज्ञहरूको राय छ। बीबीसीको सामग्रीमा आधारित 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button