विशिष्ठहरु ‘अनधिकृत’ बूस्टर डोज लगाउँदै, १३ लाख बालबालिकालाई छैन खोप !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ पहिलो साताबाट अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूका लागि कोभिड १९ विरुद्ध खोपको बूस्टर डोजु दिने योजना अघि सारेको छ।
मन्त्रालयको निर्णय नआउँदै नेपालमा पहुँचवाला र विशिष्ट व्यक्तिहरूले कोभिड खोपको थप मात्रा लगाइरहेको विवरणहरू सार्वजनिक भएको छ। तर मन्त्रालयले यसबारे जानकारी नभएको बताएको छ।


गत साता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि परेका छन्। तर प्रधानमन्त्रीनिकट एक स्रोतले शेरबहादुर देउवाले कोभिड खोपको तेस्रो मात्रा लगाइसकेका जनाएको छ।
यस विषयमा बुझ्न खोज्दा उनका स्वकीय सचिव भानु देउवाले कुनै प्रतिक्रिया दिएनन्।
प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्थ एक स्रोतले प्रधानमन्त्रीले पनि बूस्टर मात्रा खोप लगाइसकेको जानकारी दिएको थियो।
स्वास्थ्य मन्त्रालय स्रोतले धेरै विशिष्ट व्यक्तिहरूले कोभिडविरुद्ध बूस्टर मात्रा लिइसकेको जानकारी दियो। अधिकांशले पहिले लगाएकै खोपको बूस्टर मात्रामा लगाएका छन् भने केहीले बूस्टरका लागि फरक खोप लगाएका छन्।
तर यसरी खोप लगाएको पाइए सरकारले खोपमा संलग्न निकायलाई स्पष्टीकरण सोध्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए।
१३ लाख बालबालिकालाई छैन खोप
यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशभरका ६० जिल्लाका बालबालिकाहरुलाई कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गरेकोे छ ।
६० जिल्लाका सबै स्थानीय तहहरुले आफ्नो मातहतमा रहेका विद्यालयहरुसँग सहकार्य गरेर १२ वर्ष माथि र १८ वर्ष मुनीका बालबालिकाहरुलाई खोप दिइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका ५७ जिल्लाका बालबालिकाहरुलाई मोर्डना खोप लागाइरहेको छ भने काठमाडौँ उपत्यकाका तीन जिल्लाका बालबालिकाहरुलाई फाइजर खोप लगाउने काम भइरहेको छ ।
स्वास्थ्य मन्त्रालले ५७ जिल्लामा गत पुस ४ गतेबाट मोर्डना खोप दिन थालेको हो भने काठमाडौँ उपत्यकाका बालबालिकाहरुलाई पुस २७ गतेबाट खोप दिन थालिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार फाइजर र मार्डना खोप लगाउने लक्षित बालबालिकाको संख्या करीब ३५ लाख रहेको छ ।
खोप लागाउने लक्षित बालबालिका संख्या करीब ३५ लाखको भएपनि स्वास्थ्य मन्त्रालयसँग सबै बालबालिकाहरुलाई एकैपटक दुवै डोज दिन सक्ने खोप छैन ।
मन्त्रालयसँग अहिले करीब ३६ लाख मोर्डना खोप रहेको छ भने ६ लाख ६४ हजार फाइजर खोप रहेको छ ।
यो हिसाबमा अहिले स्वास्थ्य मन्त्रालयले करीब १८ लाख बालबालिकालाई मोर्डनाको पूर्ण डोज र करिब ३ लाख बालबालिकालाई फाइजरको पूर्ण डोज खोप दिनसक्ने अवस्था रहेको छ ।
अहिले स्वास्थ्य मन्त्रालयसँग उपलब्ध खोपले करिब २२ लाख बालबालिकाई पूर्ण जोड खोप दिन सक्ने भए पनि बाँकी १३ लाख बालबालिकालाई भने केही समय लाग्ने भएको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणको खोप अभियानमा खोप लगाउन नपाएका बालबालिकाको लागि खोप ल्याउने तयारी भइरको बताए ।
उनका असार माघ महिना दोस्रो सातामा अन्य बालबालिकाहरुको लागि पनि आवश्यक मात्र खोप आइपुग्ने छ ।