नेपालमा कसरी फैलियो कोरोनाको ओमिक्रोन भेरियन्ट ?




पुस १८ गते २ सय १६ जनामा कोभिड १९ देखिँदा २ जनाको मृत्यु भएको थियो । त्यसको अर्को दिन ३ सय २६ जनामा संक्रमण पुष्टि भयो भने २ जनाले ज्यान गुमाए । यस्तै २० गते एक साताको तुलनामा संक्रमित बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । २० गते ३ सय ९३ जनामा एकैदिन कोरोना पुष्टि भएको थियो भने ३ जनाको मृत्यु भएको थियो ।



कोरोनाको ओमिक्रोन संक्रमण फैलिन थालेपछि गएको २३ गते तीन महिनायताकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए ।



आइतबार एकै दिन ११६८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको कोभिडको कारण मृत्यु भएको छ । पछिल्लो केही दिनको संक्रमण दरको तथ्थाङ्क हेर्ने हो भने संक्रमणदर बढ्दै गए पनि संक्रमणदरको तुलनामा मृत्युदर स्थिर छ ।
यसअघि कोरोना महामारीको दोस्रो लहरका क्रममा एकै दिन २ सय ८७ जना सम्मको मृत्यु भएको थियो । अहिलेको तथ्थाङले मृत्युदर स्थिर देखिए पनि पहिलेको अवस्था नआउला भन्न सकिने अवस्था छैन ।
मृत्युदर घट्नुमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता र जनचेतना बढेको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘डेल्टाजस्तो घातक छैन त्यसैले पहिलाको जस्तो आत्तिनु पदैन ।’
स्वास्थ्य मन्त्रालयको तयारी के छ ?
सरकारले केही दिनयता संक्रमण तीव्र रुपमा बढेसँगै रोकथाम गर्न पनि तयारी थालिसकेको बताएको छ । हालसम्म नेपालमा २६ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टका कारण जोखिमपूर्ण अवस्था आउन नदिन सरकारले तयारी थालिसकेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले बताइन् ।
ओमिक्रोन भेरियन्टको एस जिन नेगेटिभको संख्या बढ्नु भनेको ओमिक्रोनको संक्रमण बढ्नु हो । पत्ता लगाइएका सबै एस जिन नेगेटिभ व्यक्तिहरुलाई कन्ट्रयाक ट्रेसिङको काम नियमित रुपमा भइरहेको उनको भनाइ छ ।
सरकारले खोपको उपलब्धता सुनिश्चित गर्ने, प्रवेश नाका र उच्च जोखिममा रहेको कोभिड १९ को जाँचमा वृद्धि गर्न क्वारेटिनको व्यवस्थापन गर्न, अक्सिजन, बेड तथा दक्ष जनशक्तिको व्यवस्थापन गर्न र अन्य पूर्वतयारीको स्वास्थ्य मन्त्रालय निरन्तर प्रयास गरिरहेको उनको दाबी छ ।
अब हुन सक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई अक्सिजन, आईसीयू, भेन्टिलेटर शय्या लगायतका स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको उनले बताइन् । साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिइन् ।
यस्तै, कोरोना संक्रमण भएमा व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिनमा राख्न सबै स्थानीय तह र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । सीमा नाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप प्रदेश १ मा ११, प्रदेश दुईमा ६, वाग्मतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णालीमा ७ र सुदुरपश्चिममा ५ गरी जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ ।
कोभिड १९ को पहिचान गर्न नमुना परीक्षणमा जोड दिइएको छ । नयाँ भरियन्टको पहिचानको लागि जिन सिक्वेसिङ पनि नियमित रुपमा भइरहेको छ ।
पुस मसान्तभित्र १८ वर्ष माथिका ६६ प्रतिशतलाई पूर्ण मात्राको खोप दिइसक्नुपर्ने लक्ष्यमा वागमती र गण्डकी प्रदेशले मात्र सफलता पाएका छन् । बाँकी प्रदेशमा पनि खोप कार्यक्रमले तीव्रता पाएको मन्त्रालयले जनाएको छ ।
अब संक्रमण फैलिन नदिन के गर्ने सकिन्छ त ?
मुख्य रूपमा नेपाल–भारत सिमा नाकामा निगरानी, परीक्षण गर्ने र संक्रमितको व्यवस्थापन चुस्त गतिमा गर्नुपर्ने र एरपोर्टमा कोरोना परीक्षणमा जोड दिन डाक्टर सागर राजभण्डारीको आग्रह छ ।
‘पहिलाको कमी कमजोरीबाट पाठ सिकेर अब परीक्षणको विधिको दायरालाई बढाउनुपर्र्ने बेला भएको छ । कन्ट्रयाक ट्रेसिङ र जोखिममा रहेका नागरिकको परीक्षणको दायरा बढाउने हो,’ डा. सागर राजभण्डारी भन्छन् ।
डा. राजभण्डारी स्वास्थ्यका मापदण्ड पालना गर्र्न सुझाव दिन्छन् ।
‘पहिलो लहरमा नागरिकले थाहा नपाएर लापरबाही गरे । आज त्यो स्थिति छैन । अब जिम्मेवार भएर कार्यान्वयन गर्ने समय आएको छ,’ उनी खबरहबसँगको कुराकानीमा भन्छन्,’ ‘भ्याक्सिनको दुवै डोज लगाए भनेर मास्क नलगाई हिँड्ने होइन ।’
फेरि स्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भनेर जनचेतना फैलाउनुपर्नेमा उनको जोड छ ।
यस्तै, काठमाडौँका विभिन्न अस्पतालका निर्देशकले पनि स्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले भने तेस्रो लहर नआएको भन्दै नागरिकलाई नआत्तिन आग्रह गरेको छ ।
फ्रन्टलाइनरलाई बुस्टर डोज
सरकारले आगामी माघको पहिलो साता सबै स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । माघको दोस्रो साता तेस्रो लहरको उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकलाई जोखिमबाट जोगाउन बुस्टर डोज दिन लागेको हो ।
चिकित्सक संक्रमित भएमा अस्पतालमा जनशक्तिको अभाव हुने निचोड निकाल्दै मन्त्रालय चिकित्सकलाई बुस्टर डोज दिने निर्णयमा पुगेको हो ।
‘माघको पहिलो सातादेखि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई बुस्टर डोज प्रदान गर्ने गरी काम भइरहेको छ,’ प्रवक्ता डा. मिश्राले भनिन् ।
रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई आगामी माघ दोस्रो साता अतिरिक्त खोप दिइने तयारी भएको उनले खबरहबसँग भनिन् ।
‘कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र भेरोसेल खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिहरूलाई थप एक अतिरिक्त मात्रा माघको दोस्रो साता दिने तयारी गरेका छौँ,’ उनले भनिन् ।