कोरोना संक्रमण बढेपछि माघ १५ सम्म विद्यालय बन्द गर्दै सरकार, अरु केके भए निर्णय

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।
यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।
नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।
२५ जना भन्दा बढी भेला हुन रोक
सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।
‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।
बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।
हवाइ उडानमा खोप कार्ड अनिवार्य
आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।
होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड
होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।
सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।
अस्पतालमा भर्ना हुने संक्रमितहरु बढे
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्रकुमार बस्नेतका अनुसार वीरका साथै समन्वय गरेका उपत्यकाका १३ र प्रदेशका ७ वटा अस्पतालमा बिरामीको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा उनले भने, ‘सबै अस्पतालहरुमा एक हप्ता अगाडिभन्दा दोब्बर संख्यामा बिरामीहरु भर्ना भएका छन् ।’ कोभिडको संक्रमण बढेको भन्दै उनले जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन आग्रह गरे ।



