बढ्दै कोरोना सन्त्रास : विवेकशील साझा र राप्रपा नेता कमल थापाले रोके एकता अभियान

कोराना भाइरसको संक्रमण बढ्न थालेपछि विवेकशील साझा पार्टी र राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आआफ्ना एकता अभियान स्थगित गरेका छन् ।
विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो ।


विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
यस्तै राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए ।