इन्टरनेट सेवाप्रदायकको स्पिड वृद्धि : राउटर बेच्ने धन्धा, ठगिँदै सेवाग्राही !
इन्टरनेट आजको अनिवार्य आवस्यकता भएको छ। जस्तोसुकै सूचना हेर्नुपरे पनि इन्टरनेटमै निर्भर हुने अवस्था छ।



घर – घर बिस्तार भएको इन्टरनेटबाट टिभी च्यानल हेर्ने सुविधाले यसको स्तरीय सेवाको आवश्यकता बढाएको छ। खर्चका हिसाबले मोबाइल डाटा चलाएर साध्य छैन । तर सेवा प्रदायक कम्पनीले गुणस्तर सुधार्न छोडेर स्पिडवारतर्फ केन्दित हुँदा सेवामा ध्यान भने दिएको पाईदैन।



टिभी च्यानलसहित लाइन दिएका इन्टरनेटमा पटक – पटक समस्या आउनु सामान्यनै भएको छ। इन्टरनेट स्लो हुने, पटक- पटक कनेक्सन टुट्ने, युट्युव र फेसबुक सञ्जाल खोल्दा लोडिङमा समय लाग्ने समस्या आएपछि प्रयोगकर्ताले स्पिड वृद्धिको फण्डाले सेवामा गुणस्तरर नपाएको गुनासो उपभोक्ताको छ । फिक्स्ड ब्रोडव्याण्ड इन्टरनेटमा गतिसँग सम्बन्धित समस्या बढी देखिने गरेको प्रयोगकर्ताको गुनासो छ।



स्पिडको नाममा राउटर बेच्ने फण्डा
आईएसपीले समस्या समाधान गर्नुको सट्टा समस्यालाईनै राउटर बेच्ने फण्डा बनाएको उपभोक्ताको आरोप छ। आईएसपीहरुले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने भन्दै ग्राहक आकर्षण गर्न खोजिरहेका छन्।
केहि समय अगाडी २५ एमबिपिएस स्पिड पाउने गरि इन्टरनेट जोडेका एक जना उपभोक्तालाई सोहि मूल्यमा २०० एमबिपिएस स्पिड दिइएको एउटा आईएसपी कम्पनीबाट एसएमएस आयो।
उनले सेवाप्रदायकलाई फोन गरे र सोधे, २०० एमबिपिएस दिएको भनेपनि नआएको बताए। उनले चलाएको राउटर हटाएर अर्को राउटर किन्नुपर्ने जानकारी पाए। ‘गुणस्तर छैन स्पिड मात्रै भनेर के गर्नु’, उनले भने।
यसअघि सानो प्याकेजको लागि जडान गरिएका राउटरले हाल ती कम्पनीले दिएको स्पिडलाई नथेग्ने भन्दै चालू अवस्थामा रहेको राउटर हटाएर महंगो मूल्यमा अर्को राउटर बेच्ने गरेका हुन्। आईएसपीले साबिककै स्पिडमा गुणस्तरीय सेवा दिन छाडेर आफुखुसी स्पिड बढाउँदै डुअल ब्याण्डका राउटर उपभोक्तालाई थमाइरहेका छन।
ग्राहकले इन्टरनेट जडान गर्दा गरेको सम्झौतामा उल्लेख भएअनुसारको क्षमता नपाए दूर सञ्चार प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ। तर स्पिडको नाममा उपभोक्ताको गुनासोमा नियामक निकाय प्राधिकरण भने मौन रहेको छ।
स्पिड वारले व्यवसायमै समस्या
स्पिड वारले व्यवसायमै समस्या पारेको इन्टरनेट व्यवसायीनै बताउँछन्। आईएसपीएनका पुर्वअध्यक्ष भोजराज भट्ट समय अनुसारका अपग्रेड प्रविधिको प्रयोग हुनु राम्रो भएको बताउँछन्।
मूल्य घट्नु र स्पिड बढ्नु राम्रो हो तर गुणस्तर बिनाको स्पिडवारले इन्टरनेट व्यवसायी र यो व्यवसायलाई नै अफ्ठेरो पार्ने उनको तर्क छ। ‘अनावस्यक प्रतिस्पर्धाले व्यवसायनै संकटमा पर्ने अवस्था छ‘, उनले भने।
नेपाली बजारमा सीजी इन्टरनेट आएपछि स्पिडवार शुरु भएको छ। सीजीले शुरुवाती समयमा व्यापार वृद्धि गर्ने नीति अनुसार विभिन्न ठूला प्याकेज सार्वजनिक गर्यो। पछि सोहि प्याकेजलाई निरन्तरता दिएपछि भने अन्य कम्पनी पनि ठूला प्याकेज सार्वजनिक गर्दै जान बाध्य भए ।
कोभिड- १९ को महामारी फैलिरहँदा नेपालमा भएको लकडाउनले लाखौं मानिसहरु घर भित्र बस्न बाध्य भएपछि इन्टरनेट बाध्यकारी माध्यम बन्न पुग्यो र यसको परिणाम स्वरुप आईएसपीहरुको व्यापारी विस्तारमा अत्यधिक वृद्धि भएको छ । नेपालमा विभिन्न इन्टरनेट सेवा प्रदायक र तीन ओटा दूरसञ्चार कम्पनीहरूले इन्टरनेट सेवा दिइरहेका छन्। आर्थिक अभियानमा प्रकाशित सामग्रीमा आधारित