सकियो माओवादीको आठौँ महाधिवेशन, प्रचण्ड परिवारबाट चार जना केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार सकिएको छ । गत आइतबार पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन ८ दिनमा सकिएको हो ।



उद्घाटनसत्र सकिएसँगै १२ गते सुरु भएको बन्दसत्र २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो । त्यसबीचमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर माओवादीले छलफल गरेको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ प्रचण्डले दिएका थिए । त्यसक्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको प्रचण्डले बताएका थिए ।



१७ पुसमा मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यको निर्वाचन प्रक्रिया सुरु गरेको थियो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गरेको माओवादीले जनाएको छ । महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत गरेको थियो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो ।



प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए जसलाई महाधिवेशनले सर्वसम्मतले पारित गरेको माओवादीले जनाएको छ ।
प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका ४ जनालाई केन्द्रीय समितिमा अटाएका छन् ।
उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।