२०२२ भित्र चलाउने वाचा गरेको मेट्रो रेल १ वर्षअघि नै सञ्चालनमा : उत्तर प्रदेशबाट सिक्ने कि, भाषणमात्रै ठोक्ने ?
नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको कानपुर शहरमा मेट्रो रेल सञ्चालनमा आएको छ।
३२ किलोमिटर लम्बाई मध्ये पहिलो चरणमा निर्माण सकिएको ९ किलोमिटर रेल सञ्जालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन्।
कानपुरदेखि मोतीझील सम्मको ९ किलोमिटर रेलमा ९ वटा स्टेशन राखिएको छ। मंगलवार एउटा रेलमा प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तर प्रदेश रेल विभागका अधिकारीले यात्रा गरेर उद्घाटन गरेका हुन्।
नेपालमा पनि गत चुनावमा मेट्रो रेल र मोनो रेल ल्याउने वाचा गरेका राजनीतिक दलहरुले भने ५ वर्ष सम्म यसको नामै लिन सकेनन्।
नेपालले समयमै मेट्रो रेलको सुरुवात गर्न नसके अवको ८/१० वर्षमै काठमाडौंका हरेक चोकमा कोटेश्वर/जडिबुटीको जस्तै जाम हुने पूर्वाधार विज्ञ सुर्यराज आचार्यले बताए।
उच्च जनघनत्व तर अत्यन्तै न्युन सडक पूर्वाधार भएको काठमाडौंले मेट्रोरेल निर्माणका लागि गरेको आलटाल भविष्यका लागि महंगो पर्ने उनको भनाई छ।
कानपुरमा मेट्रो रेल सञ्चालनमा आएसँगै उत्तर प्रदेशका ५ वटा शहरमा मेट्रो रेल सेवा सुरु भएको मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन्।
बुधबारदेखि उक्त रुटमा एक साथ १२ वटा रेल सञ्चालनमा आउने छन्। सुरुवातमा यी रेलहरु हरेक स्टेशनमा १० मिनेट रोकिएर यात्रा गर्ने छन्। रेलको संख्या थपिएपछि स्टेशनमा रोकिने समय पनि कम हुदै जाने बताइएको छ।
कानपुरदेखि मतीझील सम्मको भाडा ३० भारतीय रुपैयाँ तोकिएको छ। यसको न्युनतम भाडा भने १० भारतीय रुपैयाँ मात्रै तोकिएको छ। कानपुर मेट्रो रेलको टिकटहरु पनि क्युआर कोडसहितको हुने बताइएको छ।
उत्तर प्रदेश रेल विभागले ९ किलोमिटर रेलको ट्याक २ वर्षमै तयार पारेको हो। यो ९ किलोमिटर दुरीमा ९ वटा स्टेशन राखिएको छ।
३२ किलोमिट लम्बाईको यो परियोजनाको लागत ११ खर्ब भारतीय रुपैयाँ रहेको छ। दोस्रो चरणको काम पनि द्रुत गतिमा भइरहेको बताइएको छ।