२७१ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जना संक्रमणमुक्त
नेपालमा थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभर पीसीआरबाट कुल २५१ र एन्टीजेन परिक्षणबाट २० जना गरि कुल २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।
विगत २४ घण्टामा ९ हजार १५७ ओटा पीसीआर र १ हजार ७२९ ओटा नमूना एन्टीजेन परिक्षण गरि कुल १० हजार ८८६ जनाको परीक्षण भएको मन्त्रालयले बताएको छ । उक्त अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको पनि मन्त्रालयले बताएको छ ।
हाल मुलुकभर ९७ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ ।त्यस्तै आईसीयूमा ७८ जना छन् भने देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल संस्थागत आईसोलेशनमा २३७ जना छन् भने होम आईसोलेशनमा ४ हजार ६९४ जना रहेका छन् ।विगत २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएको छन् ।