नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’आयोजना हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपरासीपूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडौँ, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ । प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।