नक्कली भ्याट बिल प्रकरणमा १८ करोड बिगो माग्दै ४ जनाविरूद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागले नक्कली भ्याट बिल अनुसन्धानको क्रममा सञ्चालक बारा प्रसौनी गाउँपालिका- ४ का अर्जुनप्रसाद पटेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामा बारा राजपुर- ५ घर भई महालक्ष्मी नगरपालिका- १ बस्ने जयकिशोर साह, सिरहा रामपुर- ९ पिपराका सूर्यजितप्रसाद साह र सर्लाही भक्तिपुर घर भई हाल कागेश्वरी नगरपालिका काँडाघारी बस्ने तोयानाथ अधिकारी छन्।


उनीहरूसँग १८ करोड ३५ लाख २२ हजार २८६ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।
उनका अनुसार वस्तु तथा सेवा खरीद नै नगरी झूटा मूल्य अभिवृद्धि कर बिजकमात्र खरीद गरेर उनीहरूले राजस्व चुहावट गरेको अनुसन्धानका क्रममा खुलेको छ। अनुसन्धानमा मूल्यअभिवृद्धि कर ६ करोड १५ लाख ९७ हजार ९२७, लाभांश १ करोड ५४ लाख ५६७ र आयकर १० करोड ६५ लाख २४ हजार ८९२ रुपैयाँ छलेको छ ।
यसैगरी, विभागले वीरगञ्ज महानगरपालिका- ७ स्थित तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरिनारायण साह तुराह, किशोर साह र सूर्यजित प्रसाद साहविरूद्ध मुद्दा दायर गरेको छ।
नक्कली भ्याट बिल प्रकरणमा उनीहरूसँग २ करोड १८ लाख ९८ हजार १२४ रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले बताएको छ।
यस्तै, विभागले विदेशी मुद्दा अपचलन गरेको कसुरमा मुस्ताङ दामोदरकुण्ड गाउँपालिका- १ घर भई हाल पोखरा बस्ने छिरिङ ढुण्ढु गुरुङविरूद्ध पनि मुद्दा दायर गरेको छ।
अवैध डलरको कारोबार गरी २ करोड ३२ लाख ७४ हजार १८० रुपैयाँ अपचलन गरेको कसूरमा उनीविरूद्ध मुद्दा दायर गरिएको विभागले बताएको छ। उनलाई बिगोको दोब्बर जरिवना र तीन वर्ष कैद सजाय माग गरिएको छ।
यसैगरी, विभागले भन्सार चोरी पैठारी गरी राजस्व छलेको अभियोगमा बाँकेका सैपादिन मिया र भारतीय नागरिक अमन मित्तलविरूद्ध मुद्दा पनि दायर गरेको छ। उनीहरूसँग १ करोड ८९ लाख ८९ हजार ४४७ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको छ ।