
राणा शासनविरुद्ध सङ्गठित हुँदै स्थापित भएको पुरानो दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाण्डूमा सुरु भएको छ।
महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफू सभापतिमा निर्वाचित भए कांग्रेसको राष्ट्रिय सरकार बनाउने दाबी गरे।


“कुनै पनि हालतमा नेपालमा डरत्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ,” देउवाले भने। “नेपालमा कांग्रेसको सरकार बनाइन्छ, बनाइन्छ, बनाइन्छ।”
त्यसअघि महाधिवेशनमा सम्बोधन गर्दै कांग्रेस नेताहरूले प्रतिपक्षीसँग सामना गर्न सक्ने र जनताले स्वीकार गर्ने कांग्रेस बनाउनुपर्ने बताएका थिए।
कांग्रेस नेतृत्वले मात्र देशमा शान्ति र स्थिरता दिन सक्ने दाबी गर्दै नेताहरूले त्यसका लागि पार्टीपङ्क्ति एकजुट हुनुपर्ने धारणा अघि सारेका थिए। उद्घाटन सत्रलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेताहरू विजय गच्छदार र कृष्ण सिटौला लगायतले सम्बोधन गरेका थिए।
कांग्रेस महाधिवेशनमा नेकपा-एमाले पार्टी अलग भएपछि नभेटेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा बसेका थिए।
ओलीअघि सम्बोधन गरेका प्रचण्ड र नेपाल दुवैले ओलीलाई सम्बोधन गरेनन्। सम्बोधनका क्रममा प्रचण्डले सबै कार्यक्रममा उपस्थित ‘पूर्वप्रधानमन्त्रीहरू’ र माधव नेपालले ‘नेता मित्रहरू’ भनेका थिए।
दाहालपछि बोलेका ओलीले पनि विभिन्न दलका नेताहरू भन्दै दाहाल र नेपाललाई सीधा सम्बोधन गरेनन्। तर प्रचण्ड बोलेर आफ्नो सिटमा फर्कँदै गर्दा ओलीसँग उनको संवाद भयो। देउवाको दायाँबायाँ बसेका उनीहरूबीचको संवाद होहल्लाका कारण आफूहरूले सुन्न नसकेको पछाडिको सिटमा बसेकी नेतृ चित्रलेखा यादवले बताइन्।
अर्का नेता देवेन्द्रराज कँडेलले हाउभाउबाट दुवैले एक अर्काप्रति व्यङ्ग्य गरेको अनुमान गरिए पनि संवाद सुन्न नसकिएको बताए।
कांग्रेस महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्र निर्माणका क्रममा एकजुट हुनुपर्ने भन्दै सबैलाई साथ दिएर बनाएर अघि बढ्न कांग्रेसलाई शुभकामना दिए।
“तर कांग्रेस अरूको नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरूलाई हिँडाओस्,” ओलीले भने। “शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस् भन्ने मेरो शुभकामना छ।”
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस महाधिवेशनले शान्ति, लोकतन्त्र र विकासको लक्ष्यमा अघि बढ्न प्रतिबद्धता जनाउने विश्वास व्यक्त गरे।
“कुनै पनि किसिमको प्रतिगमनकारी गतिविधि विरुद्धको आन्दोलनमा हामीले एकता प्रदर्शन गरेका छौँ,” प्रचण्डले भने।
“सबैले सोच्नुपर्ने विषय के छ भने हामी सत्तामा पुगेपछि आन्दोलनमा जनताका अघि जे प्रतिबद्धता गरेका छौँ, त्यो पूरा गर्न सकेका छैनौँ।”
एकीकृत समाजवादीका नेता नेपालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान साकार पार्ने लक्ष्यमा भूमिका निर्वाह गर्न कांग्रेसलाई शुभकामना दिए।
“नेपाली कांग्रेसको यो १४औँ महाधिवेशनले यावत् राष्ट्रिय समस्याका बारेमा छलफल गरेर कमीकमजोरीलाई सुधारेर कसरी अघि बढ्ने हो एउटा सन्देश दिनेछ,” उनले भने।
कांग्रेस महाधिवेशनलाई सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा मालेका अध्यक्ष सिपी मैनालीले सम्बोधन गरेका थिए।
अल इन्डिया कंग्रेस कमिटीका महासचिव मुकुल वास्निकले भारतीय न्याश्नल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीको सन्देश लिएर आफू आएको भन्दै नेपालले समृद्धि र विकासको गति लिने विश्वास लिएको बताए।
भारतीय जनता पार्टीका नेता हर्षवर्धनले महाधिवेशनलाई शुभकामना दिँदै नेपालका राजनीतिक दलहरूको एकता देखेर आफूलाई खुसी लागेको बताए।