अर्थमुख्य खबर

विध्युत खपत रणनीति : बारा-पर्सा कोरिडोरमा २ हजार मेगावाटको पूर्वाधार बनाइने

Thrill Factory
Rungta Group

नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा ५ वर्षभित्र २ हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउने भएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले व्यापक रूपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणले मुख्यरूपमा उद्योगहरूलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार  विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारणा अघि बढाएको छ ।

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने  काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकाले उद्योगहरूलाई थप विद्युत् आपूर्ति दिन सकिनेछ ।

निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सबस्टेसन बनाउन लागिएको छ । प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगहरूलाई तत्काल २०० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टील उद्योगहरूले क्षमता विस्तारका लागि थप विद्युत्को माग गर्दै आएका छन् ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूलाई तत्काल २०० मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टीललाई थप २० दशमलव ५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले  हाल १६ एमभीए  क्षमताको ट्रान्सफर्मर राखेकाले सोही क्षमता अनुसार विद्युत् दिन सकिनेछ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत् दिन सकिने प्राधिकरणले बताएको छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button