अर्थमुख्य खबर

सेयर बजारमा निरन्तर पहिरो, तरलता अभाव नहटे बजार अझै घट्ने

बैंकमा लगानी योग्य रकमको चरम अभावको अवस्था अन्त्य नहुँदासम्म सेयर बजार उकालो नलाग्ने आँकलन हुन थालेको छ । बैंकसँग ऋण लगानी गर्ने क्षमता नभएपछि सेयर लगानीकर्ताले सेयर किन्ने सम्भावना न्यून हुँदा त्यसको असर बजारमा निरन्तर परेको छ ।

केन्द्रीय बैंकले तरलता अभावलाई हटाउने प्रतिबद्धता जनाएपछि अहिलेसम्म त्यसको कुनै सकारात्मक असर देखिएको छैन । जसका कारण सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

सेयर लगानीकर्ताले बढी ब्याज तिरेरै ऋण लिन चाहे पनि पाएका छैनन् । बैंकले दिएको ओभरड्राफ्ट आफूखुसी हटाइदिएको छ । जसका कारण सेयर बजारमा नयाँ लगानी गर्न लगानीकर्ताले सकेका छैनन् । विश्लेषकका अनुसार यदि सरकारले लगानीयोग्य रकमको व्यवस्था गर्न सकेन भने बजार अझै ओरालो लाग्ने देखिन्छ ।

कारोबार यति न्यून बिन्दूमा हुनुको कारण पनि बैंकसँग लगानी गर्ने पैसा नभएर हो । बैंकमा लगानीयोग्य रकमको चरम अभाव हुँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ ।

अहिले केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षबाट ४ र १२ करोडलाई यथावत् राखेर बजार घटेको होइन् । केन्द्रीय बैंकले लगानी योग्य रकम पर्याप्त मात्रामा बजारमा पठाउन नसक्दा यस्तो समस्या आएको विश्लेषकहरु बताउँछन् ।

४ र १२ करोडलाई सेयर लगानीकर्ताले पचाइसकेका छन् । तर, बैंकसँग रकम नहुँदा बजार नराम्ररी प्रभावित भएको हो । अहिले धेर थोर पैसा हुनेले मात्र सेयर किनिरहेका छन् । बैंकले ओडी बन्द गरेकाले ठूला लगानीकर्ताले समेत सेयर किन्न सकेका छैनन् । त्यसैको असर सेयर बजारमा परेको हो ।

तरलता सहज बनाउन अर्थमन्त्री जनार्दन शर्मादेखि गभर्नर महाप्रसाद अधिकारीसम्म गम्भीर देखिएका छैनन् । जसका कारण अर्थतन्त्र नै ठप्प हुने अवस्था आउन सक्छ । विगत २ महिनादेखि देशमा लगानीयोग्य रकमको अभाव छ । तर, यस विषयमा अर्थमन्त्री शर्मा र अधिकारीले कुनै पहल नगरेका कारण सेयर बजार प्रभावित भएको हो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button