घट्यो कनेक्ट आईपीएसको शुल्क, अब ८ रुपैयाँभन्दा बढी नलाग्ने

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।



नयाँ कारोबार शुल्कअनुरुप बैंकरवित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकका ग्राहकले अब कारोबार रकमबमोजिम दुईदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।



५०० रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, ५०० रुपैयाँभन्दा माथि ५ हजार रुपैयाँसम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने छ ।



यसले ग्राहकलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब र मोबाइल एप, बैंक र वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोडरविथड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।
कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रतिकारोबार शुल्क दुईदेखि पाँच रुपैयाँ कायम रहेको छ ।
हालै नेपाल राष्ट्र बैंकबाट बैंक र वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबर शुल्क १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो ।
चालू आर्थिक वर्षको पहिलो चार महीनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औषत कारोबार संख्या १ लाख १७ हजार १२ ओटा तथा रकमको आधारमा दैनिक औसत ८ दशमलव ३ अर्ब रुपैयाँ बराबरको रहेको छ । आर्थिक अभियान