
नेकपा (एमाले) मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी गराएका छन् ।
ओलीलाई विष्णु प्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।


एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।
रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।
महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
को हुन् पोखरेल
विक्रम संवत् २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रूपमा जन्मिएका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्येका एक मानिन्छन् ।
आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको थियो ।
३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित उनी एमालेको एमालेको स्थायी कमिटी सदस्य, पार्टि स्कूल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै पूर्वसूचना तथा संचारमन्त्री बनेका थिए
अनेरास्ववियुको अध्यक्ष, त्रिभुवनविश्व विद्यालयको स्ववियु सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका उनले २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।