देशमुख्य खबर

एमाले महाधिवेशन आजदेखि : सकभर सहमति, नभए निर्वाचनको रणनीतिमा ओली

Thrill Factory
Rungta Group

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ ।

महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।

महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।

महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

एमाले महाधिवेशनका लागि २ हजार १ सय ७५ जना प्रतिनिधि चयन भएका छन् । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।

एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडियालगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ ।

भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । अतिथिहरूले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् ।

मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरूलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनका साथै थारु साँस्कृतिक प्रदर्शनीको अवलोकनको पनि कार्यक्रम राखिएको छ । यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।

एमाले उद्घाटन सत्रमा ५ लाख जनाको सहभागिता हुने अपेक्षा गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटनअघि नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कनेछ ।

चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।

नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् । ​चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ । उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

यस्तो छ ओली रणनीति

अध्यक्ष केपी शर्मा ओलीले चितवन झरेसँगै सर्वसम्मत नेतृत्वसहित पदाधिकारी चयनका लागि छलफल थालेका छन् । सौराहाको रोयल सफारिमा बसेका अध्यक्ष ओलीले आफू निकट र पदाधिकारीका आकाँक्षीहरुसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

पदाधिकारीमा आकांक्षीहरु धेरै भएको तर सीमितलाई समेट्नुपर्ने भएपछि अध्यक्ष ओली दबाबमा छन् । त्यसमाथि ओलीलाई पूर्वमाओवादी, आफू साथ दिँदै आएका नेता र दश बुँदे पक्षधरलाई समेत सन्तुलन मिलाएर अघि बढ्नुपर्ने बाध्यता छ ।

एकताको महाधिवेशनका रूपमा लिइएको एमालेको दसौँ महाधिवेशनमा निर्वाचन जोडबल थोरै र सहमतिको प्रयास अधिकतम भएको नेताहरु नै बताउँछन् । त्यसैका लागि काठमाडौँदेखि नै निरन्तर सहमतिको प्रयास हुने भनिएकै कारण एकाधबाहेक पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी समेत घोषणा गरेका छैनन् ।

अहिलेसम्म अध्यक्षमा उपाध्यक्ष भीम रावल, वरिष्ठ उपाध्यक्षहरूमा सुवासचन्द्र नेम्वाङ र घनश्याम भुसाल, उपाध्यक्षमा देवराज घिमिरे, सचिवमा गोकुल बाँस्कोटा र महेश बस्नेतले उम्मेदवारी दिने घोषणा गरे पनि अन्य नेताहरू मौनजस्तै बसेका छन् । उनीहरूले भित्री रूपमा आफ्नो पद सुरक्षित गर्न लबिङ गर्दै सोही अनुसार रणनीतिसमेत बनाइरहेको बुझिएको छ ।

एमालेमा शक्तिशाली मानिने महासचिव पदमै पनि अहिलेसम्म कसैले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर सो पदमा आकाङ्क्षी भने मुख्यरुपमा तीन नेता देखिएका छन् । जसमा विष्णु पौडेल, शङ्कर पोखरेल र सुरेन्द्र पद आर्जन गर्न त्रिपक्षीय दौडमा छन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले आफू स्वाभाविक रूपमा महासचिवको दाबेदार रहेको बताए । उनले भने, ‘नवौं महाधिवेशनमै महासचिवमा जम्मा ६ मतले हारेको हो, त्यो भन्दा तल जाने कुरा भएन ।’ सहमतिबाटै नेतृत्व र पदाधिकारी छान्ने प्रयास भइरहेको बताउँदै नेताहरूको योगयता, क्षमता र योगदानअनुसार भूमिका पाउने उनले विश्वास व्यक्त गरे ।

निरन्तर पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा समेत सहमति र एकताको महाधिवेशन हुने बताउँदै आएका अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि वार्ता, संवाद र छलफललाई निरन्तरता दिने नीति अख्तियार गरेका छन् ।

त्यसका लागि उनले वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका नेताहरूसँग सौराहामा औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका थिए ।

सो छलफलमा सहमतिमै जोड दिएपनि सहमतिको विन्दु पहिल्याउन नसकेको नेम्वाङले बताए । उनले भने, ‘अध्यक्षसँग हाम्रो कुराकानी भइरहेको छ । तर कुनै निष्कर्ष निस्किसकेको छैन ।’

उनले आफू लागायता नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि पहलसमेत गरिरहेको दाबी गरे । ‘उहाँ पनि पोजेटिभ हुनुहुन्छ तर कसरी त ? भरे केही गरी सर्वसम्मत भएन भने फेरी कुरा त उही हो’, नेम्वाङको भनाइ छ । अर्का नेता अग्नि खरेलले पनि सहमति र एकताको महाधिवेशन भनिएकाले सोही अनुसार पहल भइरहेको बताए ।

‘सहमति नै गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । एकताको महाधिवेशन शब्दमा लेखेरमात्रै त हुँदैन, यसले दिने सन्देश के हो ? नेताहरूबीच कोसिस भइरहेको पनि होला’, खरेलको भनाइ छ । नेताहरूले भनेजस्तै अध्यक्ष ओलीले अन्तिम समयसम्म पनि सहमतिमै जोड दिनेछन् । तर, निर्वाचनको कार्यतालिका समयसम्म पनि त्यो अवस्था नदेखिए निर्वाचन नै गराएर पदाधिकारी छान्ने निष्कर्षमा ओली पुगेको उनी निकटस्थहरू बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button