तस्करीलाई ‘बरदान’ बन्दै भीसीटीएस:९० प्रतिशत विवरण फर्जी, किन खोजिँदैन मालबस्तुको स्रोत ?
भेइकल्स एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयनको २ वर्ष बितिसके पनि यसको प्रभावकारिता न्यून देखिएको छ । सरकारले अनौपचारिक कारोबारलाई कस्दै कर चुहावट नियन्त्रण गर्ने घोषणासहित २०७६ साउनदेखि लागू गरे पनि कार्यान्वयनको प्रभावकारिताका उपायमा सरकार उदासीन देखिँदा यसको दुरुपयोग बढेको छ ।
भीसीटीएसलाई २ नम्बरी कारोबार नियन्त्रण र राजस्व छली नियन्त्रणको मुख्य औजार बनाउने बताइराखेको राजस्व अनुसन्धान विभागले व्यवसायी समातिएको खण्डमा २५÷५० हजार रुपैयाँ जरीवाना गर्नेबाहेक अन्य कुनै उपलब्धिपूर्ण काम गर्न सकेको छैन । व्यवसायीहरूका अनुसार जबसम्म भीसीटीएस भएको मालसामानको स्रोतमा निगरानी हुँदैन, तबसम्म अनौपचारिक कारोबार नियन्त्रण सम्भव छैन ।
अहिले राजस्व अनुसन्धानले व्यापारिक प्रयोजनका मालबस्तुको ढुवानीमा भीसीटीएस भएको छ कि छैन भन्नेमात्रै हेर्ने गरेको छ । तर, यो प्रणालीमा आएको मालसामानको स्रोत के हो भन्ने चासो नराख्दा सीमा क्षेत्रबाट भन्सार छलेर ल्याइएको मालसामान पनि भीसीटीएसमा निर्वाध रुपमा ढुवानी भइरहेको छ ।
उदाहरणका लागि एउटा व्यापारिक फर्मले २ करोड रुपैयाँको मालसामान भन्सार तिरेर आफ्नो गोदाममा राखेको छ । अहिले त्यो व्यापारिक फर्मले भन्सार नतिरेको १० करोडको मालसामान भिसीटीएसमा इन्ट्री गरेर पठाइरहेको छ । बिक्रेताको बील र भ्याट नम्बर भएपछि भीसीटीएसले त्यस्तो सामान लिने गरेको छ ।
राजस्व अनुसन्धानले भीसीटीएस अनिवार्य गरे पनि प्रणालीमा आउने मालसामानको वैधानिक स्रोत नखोज्दा भीसीटीएस दुई नम्बरी करोबारीका लागि धन्धा चलाउने सजिलो हतियार बनेको छ ।
‘भीसीटीएसको घोषित उद्देश्य राम्रो भए पनि कार्यान्वयनका विरोधाभासले यो प्रणाली तस्करी धन्धा चलाउनेका लागि बरदान बनेको छ,’ एक व्यवसायीले भने, ‘पहिला त तस्करीको मालसामान बाटोमा समातिन्थ्यो । अहिले भीसीटीएस २ नम्बरी मालसामान ओसार्ने सजिलो आवरण बनेको छ ।’
व्यवसायीले भीसीटीएस भरेको विवरण र आन्तरिक राजस्व कार्यालयमा कर प्रयोजनका लागि पठाएको विवरण आपसमा भिडाउने हो भने ९० प्रतिशत कारोबार नमिल्ने दाबी ढुवानी व्यवसायीको छ ।
भन्सार, राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागबीच एकीकृत प्रणालीमार्फत काम भएमात्रै अनौपचारिक व्यापार निरुत्साहित हुने दाबी ती व्यवसायीको छ । अहिले भन्सारबाट भित्रिने र व्यापारीका गोदामबाट पठाइने मालसामानको भीसीटीएस हुने गरेको छ ।
तर, कुन व्यापारिक प्रतिष्ठानले कति सामान भन्सार तिरेर भित्र्यायो र कति फर्जी बील काटेर तस्करीका सामान भीसीटीएसमा सामेल गरेर पठायो भन्ने अहिलेसम्म खोजविन गरिएको छैन । यसले अनौपचारिक कारोबार नियन्त्रणका लागि भनेर ल्याइएको भीसीटीएस २ नम्बरी धन्धालाई सहज माध्यम बनेको छ ।
यो तथ्यबाट राजस्व अनुसन्धान विभाग बेखबर छैन । भीसीटीएस र आन्तरिक राजस्वमा फरक विवरण भरेको पाइएपछि केही व्यापारिक फर्ममाथि कारवाही अघि बढाएको पनि छ । तर, समातिएमा कारवाही गर्ने, नसमातिए भीसीटीएसलाई दुई नम्बरी व्यापारलाई वैधता दिलाउने माध्यम बनाउने विडम्वना देखिएको व्यवसायी बताउँछन् ।
केही राजनीतिक पहुँच भएका व्यापारी र राजस्व अनुसन्धानका अधिकारीहरूले भीसीसीटीएसमा इन्ट्री भएको मालबस्तुको स्रोत खोज्न चाहाँदैनन् । जसबाट उनीहरुले अवैध लाभ आर्जन गरिरहेका छन् । त्यस्ता २ नम्बरी व्यवसायीले अनुसन्धानका अधिकारी र राजनीतिक दलका नेताहलाई आर्थिक प्रभावमा पारेको स्रोतको दाबी छ ।
भीसीटीएस लागू हुनेबित्तिकै पनि निजीक्षेत्रले यसको विरोध गरेको थियो । कर चुहावट गर्न नपाइने भएपछि विरोधमा उत्रिएको निजीक्षेत्र विभागले मालसबस्तुको स्रोत नखोजेपछि अहिले मौन बसेको छ । त्यतिखेर भीसीटीएसको कार्यान्वयन अव्यावहारिक भएको भन्दै उद्यमी व्यवसायीहरू प्रदर्शनमै उत्रिएका थिए ।
भीसीटीएस लागू भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका बेला राजस्व अनुसन्धान विभाग भने यो प्रणालीलाई थप कसिलो बनाउन लागेको बताइरहेको छ ।
सरकारले कर छली नियन्त्रण र वैध व्यापार प्रवद्र्धनका लागि भीसीटीएस प्रणाली ल्याएकाले सरोकारका सबै निकाय र पक्षले यसको कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णप्रसाद पाण्डे बताउँछन् ।
‘प्रणालीको प्रवद्र्धनका लागि व्यवसायी र भन्सार एजेन्टलाई यसबारे थप जानकारी दिने तयारी विभागले गरेको छ,’ उनले बताए ।
व्यावसायिक प्रयोजनका लागि ढुवानी हुने सबै प्रकारका मालसामान भीसीटीएसमा आउनु पर्दछ । नियमतः व्यावसायिक प्रयोजनका लागि मालबस्तु ढुवानी गर्ने आयातनिर्यातकर्ता, उद्योग, भन्सार, एजेन्ट, ढुवानी कम्पनी, बितरण र थोक बिक्रेताले यो प्रणालीमा विवरण इन्ट्री नगरी मालसामान ओसारपसार गर्न पाउँदैनन् ।
तर, यस्तो मालसमान कहाँबाट आयो भन्नेबारेमा भीसीटीएसले नखोज्दा यो कर चुहावट गर्नेहरुका लागि हतियार बनेको छ ।