अर्थमुख्य खबरविशेष

विवादित बन्दै छन् मुख्य नाकाका भन्सार : दक्षताको अभाव कि बद्नियत ?

Thrill Factory
Rungta Group

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले गत कात्तिक ९ गते इन्डोनेशिया निकासीका लागि १ कन्टेनर छालाको ‘कस्टम ट्रान्जिट डिक्लियरेन्स’ ९सीटीडी० जारी गर्‍यो ।

भन्सार जाँचपासको प्रक्रिया पुर्‍याएर रेलमा लोड गर्न लागिएको कन्टेनरमा प्रतिबन्धित छाला रहेको खुलेपछि भन्सारले नै कन्टेनर रोक्न लगायो ।

वीरगञ्ज औद्योगिक कोरिडोरको अन्नपूर्ण लेदर टेनिङ इण्डष्ट्रिजले एचएस कोड र बस्तु फरक घोषणा गरेर पठाउन लागेको छाला प्रतिबन्धित सूचीमा रहेको खुलासा भएसँगै त्यसमा अहिले भन्सारले अनुसन्धान अघि बढाएको छ ।

त्यसअघि पनि सो उद्योगले पटकपटक यस्तो छाला निकासी गरेको भन्सारको कागजातले देखाउँछ । गत फागुनमा भन्सार विभागले लेखेको गोलमटोल पत्रका आधारमा सुक्खा बन्दरगाह भन्सारले सोही छाला निकासी गरेको छ ।

बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्री ‘ग्रिन च्यानल’मा पर्ने छालाको निकासीमा कागजपत्रमात्र हेरिने भएकाले निर्यातकर्ताले फरक बस्तु निकासी गरेको हुन सक्ने बताउँछन् । तर, कागजातमा उल्लेख गरिएको एचएस कोड ४१०१९०००००० मा निकासीकर्ताले घोषणा गरेको ‘बफेलो लेदर स्प्लीटेड’ पर्दैन ।

निकासी गर्न लागिएको छाला विवादित भएपछि भन्सारले छाला उद्योगीहरूलाई बोलाएर कन्टेनर खोल्दा उद्योगीहरूले नै भन्सारले प्रतिन्धित छाला निकासी गरेको बताएपछि यतिबेला विषय झन् पेचिलो बनेको छ ।

त्यसअघि गत भदौ ३१ गते पर्सा प्रहरीले वीरगञ्ज भन्सारबाट जाँचपास भएका २ ओटा ‘कम्बाइन्ड हार्भेस्टर’ नियन्त्रणमा लियो । जाँचपास भएका ५ मध्ये प्रहरीले २ ओटामात्र समात्न सफल भएको थियो ।

सरकारले २०७६ साल असारमै राजपत्रमा सूचना प्रकाशित गरेर ‘स्ट्र कलेक्टर वा वेलरविनाको कम्बाइन्ड हार्भेस्टर’को आयात प्रतिबन्ध लगाएको थियो । यो प्रविधि नभएका हार्भेस्टरले वातावरणमा नकारात्मक असर पार्ने भन्दै सरकारले रोक लगाए पनि देशकै मुख्य भन्सारबाट यस्ता उपकरण भित्रिएको भेटियो ।

जाँचपासका संलग्न कर्मचारीको असावधानीका कारण प्रतिबन्धित उपकरण आयात भएको पाइएपछि वीरगञ्ज भन्सारका कर्मचारीलाई सचेत गराइएको भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काले बताए ।

प्रहरीले गत असोज १९ गतेसम्ममा वीरगञ्ज भन्सारबाट जाँचपास भएर भित्रिएका ७३ लाख मूल्य बराबरका मालसामान पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धानको जिम्मा लगाइएको बताएको छ । पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार १२ ओटा ट्रक र एउटा गोदामबाट ती सामान पठाइएको हो ।

यतिसम्म कि, ‘भन्सार कर्मचारीसँग मिलेमतोमा कम मूल्यांकनको प्रज्ञापनपत्र बनाएर’ मालसामान भित्र्याइएको भन्दै प्रहरीले लिखित सूचना नै प्रवाह गरेको थियो । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल भने अनुसन्धानमा त्यस्तो नदेखिएको दाबी गर्दछन् ।

भन्सारमा खटिएका कर्मचारीहरूलाई सबै बस्तुका बारेमा जानकारी नहुँदा बेलाबेलामा यस्ता त्रुटी हुने पौडेलको भनाइ छ । भन्सार बिन्दुमा यस्ता उत्पादनका प्राविधिक पक्षबारे जानकार दक्ष जनशक्ति र परीक्षणको उचित प्रबन्ध नहुनु पनि समस्याको कारण भएको भन्सारका अधिकारीहरूको दाबी छ ।

भन्सार विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक खड्का भने दक्ष जनशक्ति पर्याप्त नभए पनि नाकामा खटिएका कर्मचारीले कानूनी, नीतिगत र प्राविधिक पक्षका बारेमा जानकारी छैन भनेर उन्मुक्ति नपाउने बताउँछन् ।

‘नीतिगत व्यवस्था र प्रक्रियाबारे जानकारी राख्नु पर्दछ । द्विविधा भए माथिल्लो निकाय (भन्सार विभाग) सँग सोध्न सकिन्छ,’ उनले भने, ‘भन्सार विभागसँग परीक्षणको प्रविधि नभए अन्य निकायको सहयोग लिन सकिन्छ । प्रविधि र दक्षता पुगेन भनेर उन्मुक्ति मिल्दैन ।’ आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button