No Image Headlineअर्थमुख्य खबर

जनसांख्यिक अवसर उपयोगमा चुक्दै प्रदेश दुई

प्रदेश २ मानव संसाधन विकासको सम्भाव्यता सबैभन्दा अगाडि भएर पनि यो अवसरको उपयोग हुन नसकेको सरोकारका पक्षले बताएका छन् । प्रदेश २ भूगोलमा सबैभन्दा सानो भएर पनि जनघनत्वमा सबैभन्दा अग्रस्थानमा रहेको तथ्यांकले देखाउँछ ।

जनसंख्या विकासको एउटा मुख्य स्रोत भए पनि यसको व्यवस्थापनमा स्पष्ट नीति नभएकाले सम्भाव्यता उपयोग हुन नसकेको विश्लेषक जगदीशप्रसाद अग्रवालको बुझाइ छ । ‘जनसंख्या कुनै पनि देशमा विकासको एउटा मुख्य आधार हो । तर, जनशक्ति दक्ष हुनुपर्छ । हामीकहाँ जनसंख्या नीति नै नभएकाले यो सम्भावना उपयोग हुन सकेको छैन,’ अग्रवालले भने ।

प्रदेश २ जनसंख्यामा अन्य प्रदेशको तुलनामा अग्रस्थानमा भएकाले प्रदेश सरकारले दक्ष जनशक्ति अभिवृद्धिलाई मुख्य भागमा राखेर नीति निर्माण गर्नुपर्ने जानकारहरूको भनाइ छ । जनसंख्या आर्थिक विकासको मुख्य आधार भएकाले कति र कस्तो खालको जनशक्ति चाहिने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने अग्रवाल बताउँछन् ।

नेपाल अहिले जनसांख्यिक अवसरको उत्कर्षमा भएकाले यसको उपयोगमा चनाखो हुनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । ‘यस्तोमा जनसंख्यामा अगाडि देखिएको प्रदेश २ ले विशेष योजना नै ल्याउनुपर्छ ।

विकासको लक्ष्यमा पुग्न कति समयका लागि कस्तो जनशक्ति चाहिन्छ भन्ने निश्चित गरेर त्यसैअनुसारको नीति अवलम्वन गरिनुपर्छ,’ उनले भने ।

देशको औसत पूर्ण बेरोजगारी ११ प्रतिशत रहेकोमा प्रदेश २ मा बेरोजगारी दर १९ प्रतिशत छ । यो तथ्यांकले पनि प्रदेश २ मा जनशक्ति उपयोगको कमजोर अवस्थालाई स्पष्ट पारेको छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता योजना ल्याइएको बताउने गरेको छ । तर, त्यसको लक्षित उपलब्धि भने नदेखिएको बुझाइ जानकारहरूको छ ।
कृषि, उद्यम र पर्यटनजस्ता सम्भावना समेटिएको प्रदेश २ मा जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको पनि छ । ‘प्रदेश २ कृषि, उद्योग र पर्यटनको सम्भावना भएको क्षेत्र हो । यी सम्भावनाको उपयोगका लागि पनि जनशक्ति व्यवस्थापन अपरिहार्य छ,’ उपाध्यक्ष राजपालको भनाइ छ ।

प्रदेश २ को जनशक्तिलाई दक्षता प्राप्त बनाएर शीपसँग जोड्दा उत्पादन लागत घटाउने महत्त्वपूर्ण साधन बन्न सक्ने जानकारहरू बताउँछन् । ‘जनशक्ति २ नम्बर प्रदेशमा उत्पादन र औद्योगिक लगानी प्रवद्र्धनमा आकर्षणको आधार बन्न सक्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडिया बताउँछन् ।

प्रदेश २ ले मानव संसाधन विकासमा लगानी लगाउने हो भने अन्य प्रदेशसँग अन्तरप्रदेश सहकार्यको आधार बन्न पनि सक्ने केडियाको दाबी छ । प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसँग जोडिएको र भारत नेपाली उत्पादनको मुख्य बजार भएकाले यो अवसर उपयोगका लागि पनि प्रदेश २ को मानव संशाधन विकासका लगानी बढाउनुपर्ने राय जानकारहरूको छ ।

भौगोलिक अवस्थितिका कारण प्रदेश २ मा औद्योगिक लगानी र उत्पादनको सम्भाव्यता बढी भएर पनि उपयोग हुन नसकेको सरकारी अध्ययनहरूले नै देखाएको अवस्थामा जनशक्ति विकास यो सम्भावना उपयोगका महत्त्वपूर्ण उपाय बन्न सक्ने विश्लेषक उमेशचन्द्र ठाकुरको भनाइ छ । आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button