No Image Headlineअर्थमुख्य खबर

सुख्खा बन्दरगाह भन्सार कर्मचारीको मिलेमतोमा अवैध छाला निकासी

बन्दरगाहमा रोकिएको छाला ‘अवैध’ : छाला उद्योगी

Thrill Factory
Rungta Group

सरकारले निकासी प्रतिबन्ध लगाएको छाला वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले जाँचपास गरेको छाला उद्योगीहरूले बताएका छन् । भन्सार जाँचपास गरेर कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) समेत तयार पारेको १ कन्टेनर छाला रोकिएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको चिनियाँ लगानीको अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर निकासी गर्न लागेको छालामा विवाद भएपछि भन्सारले रोकेको थियो । रेलमा लोड गर्न तयार पारिएको छाला विवादित भएपछि भन्सारले लोड नगर्न रेलसेवा प्रदायकलाई पत्राचार गरेको थियो ।

प्रतिबन्धित छाला निर्यात गर्न लागेकोबारे स्थानीय सरोकारवालाले चासो राखेपछि रेलमा चढाउन तयार पारिएको १ कन्टेनर छाला भन्सारले रोकेर राखेको थियो । भन्सारले सीटीडी तयार पारेर कन्टेनरमा शिलसमेत लगाइसकेकोमा पुनः छाला अनलोड गरेर नेपाल लेदर टेनर्स एशोसिएशनका पदाधिकारीहरूलाई छाला देखाइएको थियो ।

भन्सारले ओओसीयू ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल ईभीजे ७७८६ नम्बरको शिल लगाएर सीटीडी जारी गरेको थियो । प्रतिबन्धित छला निकासी हुन लागेको कुरा आएपछि रोकेर अनुसन्धान अघि बढाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

छाला उद्योगीहरूलाई बोलाएर छालाको नमूना देखाइएको खत्रीले बताए । उद्योगीहरूले उक्त छाला प्रज्ञापनमा उललेख गरिएको एचएस कोडभन्दा फरक रहेको भन्दै निकासी गर्न नमिल्ने बताएको जानकारी उनले दिए ।

भन्सारले संघका उपाध्यक्ष जावेद नबी इराकी, महासचिव महम्मद जुनैद इफ्तेखार, कोषाध्यक्ष मनोज चाचान, एभरेष्ट लेदरका प्रतिनिधि विनोद चौधरीलगायत उद्योगीहरूलाई भन्सारमै बोलाएर छालाको नमूना देखाएको थियो । उद्योगीहरूले भन्सारले जाँचपास गरेको छाला र एचएड कोड नमिलेको भन्दै छालाको नमूना परीक्षण गर्न सुझाव दिएका थिए ।

भन्सारले जाँचपास गरेको छाला र निकासीकर्ताले प्रज्ञापनमा उल्लेख गरेको एचएस कोड नमिल्ने उपाध्यक्ष इराकीले बताए ‘त्यहाँ उल्लेख भएको एचएस कोडमा नेपालबाट निकासी गर्न मिल्दैन । सरकारले त्यस्तो छालाको निकासीमा प्रतिबन्ध लगाएको छ,’ उनले दाबी गरे । भन्सार प्रमुख खत्रीका अनुसार छाला निकासीको ग्रीन च्यानलमा पर्ने भएकाले कागजपत्रमात्रै हेरेर जाँचपास गरिएको हो ।

भन्सारले त्यसअघि पनि सोही एचएस कोडमा छाला जाँचपास गरेको खुलासा भएको छ । गलत विवरण उल्लेख गरेर उक्त छाला इन्डोनेशिया पठाउन लागिएको थियो । एचएस कोड ४१०१९०००००० मा बफेलो लेदर स्प्लीटेड उल्लेख गरेर निकासी गर्न लागेको छालाको कोड र उत्पादन फरक रहेको छाला उद्यागीहरूको दाबी छ । उक्त कोडमा काँचो छाला, नुन लगाएको, सुकेको, चुना हालेर रौं सफा गरेकोलगायत छाला पर्ने उनीहरूको भनाइ छ । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यो कोडमा उल्लिखित छाला निकासीमा रोक लगाएको छ ।

उद्योगीका अनुसार स्प्लीटेड छाला निकासी गर्दा वेट ब्लु, क्रस्ड वा फिनिस्डसमेत उल्लेख गर्नुपर्छ । भन्सारले जाँचपास गरेको छला उक्त कुनै पनि वर्गमा नपर्ने संघका पदाधिकारीहरूले बताएका छन् । उक्त उद्योगले वेट ब्लु, क्रस्ड्स, फिनिस्ड, भेजिटेबल टेनेड र लेदर स्प्लीड उत्पादनको अनुमति पाएको छ । उद्योगले लिएको अनुमतिका आधारसमेत उक्त नियकासी अवैध हुने दाबी उद्योगीहरूकै छ ।

उद्योगले यसअघि पनि गलत विवरण पेश गरेर छाला निकासी गरेको छ । बन्दरगाह भन्सारका अधिकृतहरूले उद्योगले यसअघि पनि सोही विवरण घोषणा गरेर छाला निकासी गरेको बताएका छन् । गत फागुनमा सुक्खा बन्दरगाह भन्सारले छालाको नमूना पठाएर भन्सार विभागसँग राय मागेको थियो । भन्सारले त्यसबेला लेदर स्प्लीटेड (छालाको माथिल्लो तह) उल्लेख गरेर नमूना पठाएकोमा भन्सार विभागले लेदर स्प्लीट (तल्लो तह) भएको र नाँगो आँखाले हेर्दा काँचो छालाजस्तो नदेखिने भन्दै जवाफ फर्काएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास गरेको थियो ।

उद्योगीका अनुसार भन्सारले जाँचपास गरेको छाला ४ प्रकारका रसायन प्रयोग गरेर तयार प्रशोधन गरिएको पिकल लेदर हो । निकासी अनुमतिप्राप्त तहको वेटब्लु छालामा १० प्रकारका रसायन प्रयोग हुन्छ । यस्तो छाला छालाका वस्तु बनाउन प्रयोग हुन्छ । भन्सारमा रोकिएको छाला कुकुरको दाना बनाउन प्रयोग हुन्छ । केही उद्योगीहरू यो तहको छाला निकासीमा नाफा बढी हुने भन्दै प्रक्रिया पुर्‍याएर निकासी गर्न पाउनुपर्ने पक्षमा देखिन्छन् । बन्दरगाह भन्सारमा रोकिएको छाला कुन हार्मोनिक कोडमा निकासी गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले विवादित भएको विराटनगरस्थित युनाइटेड टेनर्सका सञ्चालक शदाब अख्तर बताउँछन् । ‘सरकारले यसको निकास दिनुपर्छ । यो छाला निकासी गर्दा नेपालमा उत्पादित सबै काँचो छाला खपत हुन सक्छ,’ उनले भने, यसबाट उद्योगले लाभ लिन सक्छन् ।’ अहिले नेपालमा उत्पादित छालामध्ये आधा खेर गइरहेको उनले बताए । आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button