खबर फटाफटदेश

जलवायु सम्मेलन : ‘तत्कालै जलवायु वित्तको परिचालन हुनुपर्नेमा सबै राष्ट्रको एकै स्वर’

Thrill Factory
Rungta Group

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) मा सहभागी राष्ट्र प्रमुखहरूले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भीरतापूर्वक लिएका नेपालको तर्फबाट बैठकमा सहभागी प्रतिनिधि मण्डलका सदस्यले बताएका छन् ।

यही अक्टोबर ३१ देखि बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन चलिरहेको छ । याे सम्मेलनमा नेपाललगायत विश्वका एक सय २० देशका राष्ट्र प्रमुख तथा प्रतिनिधि मण्डलको सहभागिता रहेको छ ।
नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा याे सम्मेलनमा सहभागी छ । सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र यसले भोलिका दिनमा निम्त्याउन सक्ने विपत्तिको बारेमा छलफल गरिरहेको छ ।

यसै सन्दर्भमा सम्मेलनमा नेपालको तर्फबाट सहभागी प्रतिनिधि मण्डलका एक सदस्य डा. धर्मराज उप्रेतीले  सम्मेलनमा सहभागी राष्ट्रहरूले निकै नै गम्भीरतापूर्वक भाग लिइरहेको बताउनुभयो । उपस्थित राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू जलवायु परिवर्तनले खतरा उत्पन्न गराउन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा चिन्तित देखिएको उहाँले बताउनुभयो ।

छिमेकी देश भारतले सन् २०७० सम्म कार्बन उत्सर्जन (नेट जिराे) शून्यमा झार्ने प्रतिबद्धता गर्नुले नेपालका लागि निकै नै महत्त्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो । अर्काे छिमेकी देश चीन सम्मेलनमा सहभागी नहुनु र अमेरिकाले निकै नै महत्त्वका साथ सहभागिता जनाउनुले विश्व राजनीतिलाई पनि बुझ्न मद्दत गर्ने उहाँको भनाइ छ ।

डा. उप्रेतीले भन्नुभयो, ‘भारतले इमिशन २०७० सम्म शून्य प्रतिशतमा जान्छौँ भनेको छ । भारतको याे प्रतिबद्धतालाई राम्रो मान्नुपर्छ । उता चीन यसपालि उपस्थिति नै नहुनु त्यो एक खालको विश्व राजनीति हाे । योभन्दा पहिला अमेरिका अनुपस्थित हुँदा चीन उपस्थित भएको अवस्था थियो । यसपालि अमेरिका उपस्थित भएर विश्व जलवायु सम्मेलनमा एक खालको महत्त्व दिएको अवस्था छ । जलवायु कोषदेखि लिएर वित्तको परिचालनमा पनि अमेरिकाले बढी चासो देखाएको अवस्थामा तीन अनुपस्थित भएकोलाई यो वृत्तमा क्लाइमेट पोलिटिक्स के हो भन्ने हिसाबले विश्लेषण गरिएको छ ।

जे–जति राष्ट्र प्रमुखको प्रतिबद्धता छ र संयुक्त राष्ट्र सङ्घका महासचिवको प्रतिबद्धता हेर्दा जलवायु परिवर्तनले विषम रूप लिन सक्छ र विषम रूप लिनुभन्दा अगाडि नै हामीले हाम्रा प्रतिबद्धतालाई पुनरावलोकन गर्नुपर्ने देखिएकाे छ । हामीले जनाएका प्रतिबद्धतालाई प्रत्येक वर्ष अझ घटाउन सकिन्छ कि भनेर छलफल चलिराखेका छन् । विश्व समुदायका नेताहरूले बोल्ने क्रममा होस् वा विज्ञहरूले छलफलमा राख्दा होस्, अब विश्व जलवायु परिवर्तनप्रति सचेत भएको र यसले हामीलाई असर गर्छ भन्ने कुरा विज्ञानलाई विश्वास गरेको अवस्था देख्न सकिन्छ ।’

सम्मेलनमा खासगरी जलवायु परिवर्तनको चपेटामा परेका नेपाललगायतका साना राष्ट्रहरूले कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०२० देखि नै परिचालित हुनुपर्ने रकम अहिलेसम्म परिचालन हुन नसकेकोमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै छिटो भन्दा छिटो त्याे कोष परिचालन हुनुपर्नेमा जोड दिएको डा. उप्रेतीले बताउनुभयो । तत्कालै जलवायु वित्तको परिचालन हुनुपर्नेमा सबै राष्ट्रहरूको आवाज रहेको उहाँले उल्लेख गर्नुभयो ।

सम्मेलनमा जलवायु परिवर्तनका विभिन्न क्षेत्र र पेरिस सम्झाैतालाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सम्बन्धमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरलाई कम गर्न विश्व समुदायले नै भूमिका खेल्नुपर्छ भन्नेमा सबैको एक मत रहनुका साथै नेपालको पनि राम्रो सहभागिता रहेको डा. उप्रेतीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button