No Image Headlineदेश

बालबालिकालाई २ महीनाभित्रै कोभिडको खोप, २ वर्षमाथिकालाई पनि लगाउने तयारी

Birgunj Metropolitan Notice

बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दुई महिनाभित्र लगाउन सुरु गर्ने सरकारले दाबी गरेको छ । हाल खरिद प्रक्रियामा रहेको फाइजरको ६० लाख डोज खोप डिसेम्बरदेखि मार्चभित्र आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

कोभाक्स सुविधामार्फत ‘कस्ट सेयरिङ’ अन्तर्गत खरिद गरिने ४० लाख डोज मोडर्ना पनि मार्चभित्र आउने सरकारी दाबी छ । औषधि व्यवस्था विभागले शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्न सकिने फाइजरलाई ५२ दिनअघि र मोडर्नालाई ४५ दिनअघि आकस्मिक उपयोगका लागि अनुमति प्रदान गरिसकेको छ ।

‘ठ्याक्कै मिति नतोकिए पनि नोभेम्बर–डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म फाइजर र मोडर्नाको सबै खोप भित्रिने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्राडा आरपी बिच्छाले भने, ‘कुनै असामान्य घटना नभए डिसेम्बरको अन्त वा नयाँ वर्षदेखि अप्रिलको अन्त्यसम्म १२ देखि १७ वर्षका करिब ३५ लाखलाई खोप लगाइनेछ ।’

सरकारी तथ्यांकअनुसार मुलुकभर उक्त उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् । १२ वर्षभन्दा माथि उमेर समूहमा कोभिड रोकथाम गर्न फाइजर खोप प्रभावकारी छ । यो खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा सुरक्षा उत्पन्न हुन थाल्छ ।

फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । यो खोपमा कुनै जीवित भाइरस हुँदैन । मोडर्ना खोप भने ४–६ साताको अन्तरालमा दुई डोज लगाउनुपर्छ । यसमा पनि कोभिडको जीवित भाइरस हुँदैन ।

सरकारले दुई वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने खोपसमेत ल्याउने तयारी थालेको छ । यस्ता खोपमध्ये दुईदेखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने भारतको कोभाक्सिन खोपलाई उच्च प्राथमिकतामा राखिएको छ ।

‘२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि उपयोग गर्न सकिने धेरै खोप हाल ट्रायल फेजमा छन्,’ डा। बिच्छाले भने, ‘भविष्यमा २ वर्षमाथिका बालबालिकाको खोपका लागि पनि सोचेका छौं ।’ विज्ञहरूका अनुसार भारतमा बनेको कोभाक्सिन खोपलाई २ वर्षमाथि उमेर समूहका लागि उपयोग गर्नका लागि मान्यता प्रदान गर्न विश्व स्वास्थ्य संगठनमा निवेदनसमेत दिइएको छ ।

यस्तै, फाइजरलाई ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका लागि समेत उपयोग गर्न अमेरिकास्थित एफडीएले मान्यता दिएको छ । त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि मान्यता दिए मात्र यो प्रयोगमा ल्याउन मिल्छ ।

‘भारतको कोभाक्सिन खोपले २ वर्षमाथिका बालबालिकामा उपयोग गर्ने अनुमति जनवरी–फेब्रुअरीमा पाउन सक्ने सम्भावना छ,’ डा। बिच्छा भन्छन्, ‘यो खोप हाम्रो पहिलो प्राथमिकतामा रहन्छ ।’ खोप शाखाको तथ्यांकअनुसार मुलुकमा २ देखि ११ वर्ष उमेर समूहका ५८ लाख १६ हजार ६ सय ३६ जना छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button