अर्थमुख्य खबरविशेष

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

Thrill Factory
Rungta Group

कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको कुल वैदेशिक व्यापार भएको थियो । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा यो आँकडा १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

यसमध्ये आयात १ खर्ब ६७ अर्ब र निर्यात व्यापार ३१ अर्ब रुपैयाँबराबर छ । व्यापारमा बढेपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको छ ।

वीरगञ्ज भन्सारले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व उठाएको छ । अघिल्लो वर्षको यही अवधिमा लक्ष्य भेट्टाउन सकेको थिएन । गत आवको पहिलो ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा थियो ।

चालू आवमा बजार र यातायात खुलेकाले वैदेशिक व्यापार र राजस्वमा त्यसको सकारात्मक प्रभाव देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

जीपकार आयात शत प्रतिशत बढ्यो
आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ≈वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महीनामा यस्ता वस्तुको आयात बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महीनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जीपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो ।

गत आवको पहिलो ३ महीनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० ओटा यस्ता साधन भित्रिएका थिए ।

चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करीब उस्तै छ ।

१ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । पिकअप गाडीको आयातसमेत ९९ प्रतिशले बढेको छ ।

ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महीनामा २२० ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

सबै प्रकारका गाडी र तिनका पार्टपुर्जाको आयात बढेको उनले बताए । गतवर्षको शुरू ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले आयात घटेको थियो । यो वर्ष बजार खुला रहेकाले त्यसको प्रभाव आयातमा देखिएको भन्सार अधिकारीहरू बताउँछन् ।

इन्धन पनि उस्तै
सवारीसाधनको आयातसँगै त्यसमा खपत हुने इन्धनको आयात पनि उल्लेख्य परिमाणले बढेको छ । सबैभन्दा बढी खपत हुने डिजेलको आयात परिमाण १३२ प्रतिशतले वृद्धि भएको छ ।

वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाका हो । गत आवको पहिलो ३ महीनामा १ लाख ५ हजार किलोलीटर (केएल) डिजेल आयात भएको थियो । यो वर्षको सोही अवधिमा डिजेल आयात २ लाख ४५ हजार केएल पुगेको भन्सारले बताएको छ । पेट्रोलको आयात ३६ प्रतिशतले बढेको छ । हवाई इन्धनको आयात ३१ हजार ५९८ केएल छ । यो परिमाण गतवर्षको पहिलो ३ महीनामा ११ हजार २३६ केएल थियो ।

कोइलाको आयात ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चालू आवको पहिलो त्रैमासिक अवधिमा १ लाख ९३ हजार ९१९ मेट्रिकटन (मेटन) कोइला आयात भएको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४० हजार ६८३ मेटन थियो । यो अवधिमा एलपी ग्यास, फर्नेस आयल र बेस आयललगायतका पेट्रोलियम पदार्थको आयात बढेको छ ।आर्थिक अभियानबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button