
सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।
बिहान ११ पछि बसेको १३ जना सर्वोच्चका न्यायाधीशहरुको बैठकले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटी मार्ग प्रशस्त आग्रह गर्ने सहमति पनि गरेका छन् ।


प्रधानन्याधीश र बिदामा रहेका न्यायाधीशबाहेक सबै न्यायाधीशहरूको बैठकले राणाले राजीनामा दिनुपर्ने निचोड निकालेको हो । बिदामा बसेका न्यायाधीशले पनि उक्त निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, सपनामल्ल प्रधान, तेजबहादुर केसी, कुमार चुडाल र नहकुल सुवेदी बिदामा छन् । उनीहरु सबैले सामूहीक निर्णयमा ऐकेबद्धता जनाउँदै प्रधानन्याधीश राणाले राजीनामा दिनुपर्ने जनाएका छन् । सर्वोच्चमा बिबाद बढेपछि सिन्हा र प्रधान बिदा छोट्याएर बुधबार काठमाडौँ फर्कदैछन् ।
वरिष्ठत न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सहभागी बैठकले सर्वोच्च अदालतको संकटमा प्रधानन्यायाधीश स्वयंले राजीनामा गरी निकास दिनुपर्ने निष्कर्ष निकालेका हुन् ।
प्रधानन्याधीस राणाले तोकेको इजलासमा सहभागी नभएर बैठक बसेका उनीहरु फुलकोर्ट बैठकमा पनि नजाने भएपछि सो बैठक अनिश्चित भएको छ ।
नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।
न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर गरेको छ । बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाँही मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’ मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले जानकारी दिए ।
सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब दिएको आरोप लाग्दै आएको छ । चौतर्फी आलोचनापछि हमालले नियुक्त भएको तीन दिन नपुग्दै राजीनामा दिए पनि प्रधानन्यायाधीश जवराको संकट भने टरेको छैन । आफू अप्ठ्यारोमा परेर जेठानलाई राजीनामा गराएको आरोप पनि जबरालाई लागिरहेको छ ।
स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर चलखेल गरेको भन्दै न्यायीक वृत्तबाटै राजीनामाको आवाज चर्किएको छ । तर प्रमुख राजनीतिक दलहरु भने यस विषयमा मौन छन् ।