No Image Headlineअर्थ

सरकारले चाँदीमा भन्सार महशुल बढाएपछि सुनचाँदी व्यवसायीबीच खैलाबैला

Thrill Factory
Rungta Group

आन्तरिक खपतका लागि भनेर आयात गरिएको चाँदी भारततर्फ अवैध निकासी भएको ठहर गर्दै सरकारले चाँदीको भन्सार दर बढाएको छ। यसका साथै सुनचाँदीको आयात तथ बिक्री परिमाण रफ्तारमा बढ्दै गएपछि यसले विदेशी मुद्रा सञ्चितीमा समेत गम्भीर चाप परेपछि सरकारले यसमा नियन्त्रणका लागि समेत भनेर चाँदीको भान्सार बढाएको हो।

सरकारले चाँदीमा यसअघि लाग्दै आएको भन्सार दरमा २५.८८ प्रतिशतले वृद्धि गरेको छ। यो दरको वृद्धिले १० ग्राम चाँदीको भन्सार पहिलेको ८५ रुपैयाँबाट बढेर अब १०७ रुपैयाँ पुगेको छ भने एक किलोमा २२०० रुपैयाँ लाग्नेछ।

नेपालमा भन्दा भारतीय बजारमा चाँदीको बजार मूल्य महँगो बढी हुँदा व्यवसायीहरुले आन्तरिक खपतका लागि आयात गरेको चाँदी समेत ठूलो परिमाणमा भारत निकासी गर्ने गरेको प्रमाणहरु फेला परेका छन्। व्यवसायीहरुले दुबईलगायत तेस्रो मुलुकका शहरहरुबाट चाँदी नेपाल झिकाएर भारत पठाउने गरेका छन्। यसकारण पनि नेपालमै भन्सार दर कसेर सीमापार तस्करीका लागि निरुत्साहित गर्न खोजिएको हो।

भारतीय सीमावर्ती राज्यका शहरहरुमा रहेको चाँदीको कारोबार मूल्यलाई अध्ययन गरेर नेपाली बजारमा पनि सोही बराबर हुनेगरी भन्सार दरमा वृद्धि गरिएको अर्थमन्त्रालय स्रोत बताउँछ। ‘अब भारत र नेपालमा चाँदीको मूल्य समान हुनेछ,’ स्रोतले भन्यो। यसँगै अब नेपालबाट भारततर्फ भइरहेको चाँदीको अवैध निकासी रोकिने सरकारको विश्वास छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको चाँदीको बजार मूल्य गत असोज २५ मा १० ग्रामको १०११ रुपैयाँ थियो। असोज १८ गते भने ९९४ रुपैयाँ थियो, जुन मूल्य अहिले भारतीय सीमावर्ती प्रदेशहरुमा रहेको चाँदीको मूल्य बराबर हो। सरकारले दसैं बिदाअघि नै अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायत विभिन्न सरोकारवाला निकायका अधिकारीहरुसँग सुनचाँदीको भन्सार समायोजनबारे छलफल गरेको थियो। सोही अनुसार चाँदीको भन्सार भारतीय बजार मूल्यकै हाराहारीमा नेपालमा पनि पर्ने गरी वृद्धि गर्ने निर्णय भएको हो।

सरकारले भन्सार बढाउने निर्णय गरेसँगै नेपालमा चाँदीको मूल्य भारतीय बजारमा उस्तै वा थोरै महँगो पर्ने भएको छ। यसकारण अब अवैध निकासी निरुत्साहित हुने अपेक्षा सरकारको छ। यसअघि भारतको तुलनामा नेपालमा चाँदी सस्तो पर्दै आएको थियो। यसैले ‘बल्क’ मा चाँदी उठाएर बिक्री गर्ने ब्यवसायीहरु आफैं सीमावर्ती क्षेत्रबाट चाँदीको माग उच्च रहेको बताउँदै आएका छन्। भारत सरकारले चाँदीको अन्तर्राष्ट्रिय मूल्यमा १२.५ प्रतिशत भन्सार लगाउँदै आएको छ।

अर्कोतर्फ, ठूलो परिमाणा हुने चाँदी आयातबाट न त नेपालको अर्थतन्त्रमा ठूलो मूल्य अभिवृद्धि (भ्‍यालु एडिशन) भएको छ न सरकारको राजस्वमा नै यसको योगदान ठूलो छ। झन्डै सवा १० अर्बको चाँदी आयातबाट सरकारले एक अर्ब रुपैयाँ हाराहारी मात्र राजस्व उठाएको आँकडा छ।

अघिल्लो आर्थिक वर्षमा साढे ३७ अर्ब रुपैयाँबराबरको सुनचाँदी आयात भएको थियो, जसमा चाँदी मात्र १० अर्ब १५ करोड रुपैयाँको थियो।यसबाहेक चाँदीमा डलर ‘स्वाप’ गर्नका लागि पनि लगानी गरिन्छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चितीमा भने गम्भीर असरको संकेत देखिएको राष्ट्र बैंकको ठहर छ। यसकारण पनि अहिले चाँदीको भन्सार दर बढाइएको हो।

सुन र चाँदीको अनावश्यक आयातले आर्थिक अपराध मात्रै मौलाएको छैन्, त्यसले अर्थतन्त्रको अवस्था समेत बिग्रिँदै गएको छ।

नेपालका व्यवसायीलाई हस्तकलाका सामग्रीबाहेक सोझै सुनचाँदी निर्यात गर्ने अधिकार छैन। त्यसैले ठूलो परिमाणमा आएको सुनचाँदी तस्करी भएर भारत गइरहेको छ। सुनचाँदी खरीदमा नेपालले डलर तिर्नुपर्छ। तर त्यही सुनचाँदी भारत तस्करीको माध्यमबाट जाँदा नेपाललाई न राजस्वमा फाइदा हुन्छ न त यसले अन्य आर्थिक गतिविधिमा सहयोग नै पुर्याउँछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button