स्वास्थ्य/जिवनशैली

कसरी बनाउने दशैमा खसीको मासुको परिकार ?

Thrill Factory
Rungta Group

दशैंमा खसीको मासुका परिकार सबैका घरमा पाक्ने गर्छन् । रुचि र शीप अनुसार खसीको मासुका विभिन्न परिकार बनाउन सकिन्छ । त्यसमध्ये पनि दशैंका बेला बढी मात्रामा बनाइने परिकार भने पक्कु हो । किनकि अझै पनि धेरैको पहुँचमा रेफ्रिजरेटरको सुविधा नहुन सक्छ । यस्तो अवस्थामा मासु बढी हुँदा बिग्रिने सम्भावना धेरै हुन्छ । रेफ्रिजरेटर नभएको अवस्थामा खसीको मासु खानयोग्य हुनेगरी धेरै दिनसम्म राख्न पक्कु बनाइन्छ । खसीको मासको पक्कु धेरैले रुचाउँछन् पनि ।

दशैंमा पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो । पक्कु बनाएर पनि खसीको मासु बिग्रिएको गुनासो धेरैको हुन्छ । धेरै दिनसम्म खानयोग्य हुनेगरी पक्कु बनाउन त्यसमा कुन कुन मसला कति मात्रामा राख्ने र कति समयसम्म पकाएर राख्ने भन्ने जानकारी हुनुपर्छ । धेरै दिनसम्म खानयोग्य हुनेगरी खसीको मासुको पक्कु कसरी बनाउन सकिन्छ त ?

आवश्यक पर्ने सामग्रीहरू
काँचो धनियाँ र जीरा, बेसार, रातो धूलो खुसार्नी, तोरीको तेल, ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्ता र गरम मसाला ।

बनाउने तरीका
मासुको टुक्रा केही ठूलो बनाउनुहोस् । धनियाँ र जीरा भुटेर पिस्नुहोस् । बजारमा पाइने रेडिमेड धनियाँ र जीराको धूलोभन्दा घरमै बनाइएको प्रयोग गर्नु राम्रो हुन्छ ।
१ केजी खसीको मासुको पक्कु बनाउने हो भने १ चम्चा बेसार, ३ चम्चा भुटेको जीरा–धनियाँको धूलो, आधा चम्चा गरम मसला, स्वादअनुसार खुर्सानीको धूलो, सानो एक कचौरा काँचो तोरीको तेल मासुमा राखेर राम्रोसँग मोल्नुहोस् । मसाला थोरैमा पनि ५ मिनेटसम्म मोल्दा मासुभित्र राम्रोसँग पसेर पक्कु अझ स्वादिलो हुन्छ । यसरी मोलिएको मासु न्यूनतम १ घण्टा राम्रोसँग छोपेर राख्नुपर्छ ।

पक्कु बनाएर धेरै दिनसम्म राख्ने हो भने त्यसमा नून राख्नु हुँदैन । तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार राख्न सकिन्छ । नूनले खानेकुरालाई छिट्टै गलाउने हुँदा धेरै दिनसम्म राख्ने पक्कुमा यसको प्रयोग राम्रो मानिँदैन । साथै, पक्कुमा अदुवा लसुन, प्याज, गोलभेँडा केही पनि प्रयोग गरिँदैन । पक्कु सादा बनाउँदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ ।

खसीको पक्कुलाई कराइमा भन्दा कसौडीमा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमै पकाउनुपर्छ । चूलोमा कसौडी बसाएर तातेपछि मसला मोलिएको मासु कसौडीमा हाल्नुहोस् । बेला–बेलामा चलाउँदै गर्नुहोस् । मासुको पानी सुकेर केही रातो भएपछि त्यसमा ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्ता राखेर चलाउनुहोस् । त्यसपछि मन्द आगो बनाएर छोपिदिनुहोस् । १५–२० मिनेटको बीचमा चलाउँदै गर्नुहोस् । मासुको पानी सुकेर तेल निस्किन थालेपछि केही बेर नछोपी पाक्न दिनुहोस् । यसरी खसीको मासुको पक्कु तयार हुन्छ । साभार आर्थिक अभियानबाट

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button