No Image Headlineअर्थ

माथिल्लो तामाकोसीको लागत : ४८ अर्बबाट बढेर ८६ अर्ब

Thrill Factory
Rungta Group

निर्माण सकिएर व्यवसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा अनुमानभन्दा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च भएको छ । तामाकोशी जलविद्युत उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७को वाषिर्क प्रतिवेदनमा आयोजना निर्माण गर्न करिब ८६ अर्ब रुपैयाँ लागेको उल्लेख छ ।

आयोजना थाल्दा निर्माण लागत र ब्याजसहित ४८ अर्ब ४१ करोड खर्च हुने अनुमान भएपनि ८६ अर्ब नाघेको हो । यो खर्च विवरण निर्माणका लागि लिइएको ऋणमा निर्माण अवधि (११ वर्ष) मा लागेको ब्याजसहितको हो ।

२०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५४ अर्ब पुगेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी आयोजना शुरु हुँदा निर्माण अवधि (अनुमानित ६ वर्ष) को ब्याजमा १३ अर्ब २२ करोड खर्च हुने अनुमान थियो । तर, आयोजना निर्माण सकिँदा यस्तो ब्याजमा आयोजनाले ३२ अर्ब रुपैयाँ खर्चिनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ ।

ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ ।

भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको प्रतिवेदनमा उल्लेख छ ।

हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भएको थियो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो ।

भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।

रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । यो पूर्ण स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो ।

आयोजनामा सुरुमा कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब ९० करोड, नागरिक लगानी कोषको दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब ८० करोड लगानी गरेका थिए । सरकारको १२ अर्ब लगानी छ ।

१० अर्ब ५९ करोडको स्वपुँजीसहित यो आयोजना सुरु गर्दा ४१ अर्ब ६७ करोडको वित्तीय स्रोत सुनिश्चित गरिएको थियो ।

यो आयोजनामा विद्युत प्राधिकरणको ४ अर्ब ३४ करोड, नेपाल टेलिकमको ६३ करोड, नागरिक लगानी कोषको २१ करोड, राष्ट्रिय विमान संस्थानको २१ करोड, सञ्चयकोषका कर्मचारी र बचतकर्ताको १ अर्ब ८२ करोड, तामाकोशी जलविद्युत कम्पनी र प्राधिकरणका कर्मचारीको ४० करोड, कर्जाप्रदायक संस्थाका कर्मचारीको ३० करोड, दोलखाका स्थानीयको १ अर्ब ५ करोड र सर्वसाधारणको १ अर्ब ५८ करोड शेयर पुँजी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button