कला/साहित्य

बलिउड अभिनेत्रीहरु फिल्म निर्माणमा लाग्नुको कारण के हो?

Thrill Factory
Rungta Group

हिन्दी फिल्म उद्योग अहिले निकै परिवर्तन भइसकेको छ। जसरी दर्शकहरुको माग बदलिरहेको छ, त्यसरी नै फिल्म निर्माणको प्रक्रियासमेत बदलिँदो छ। साथै लैङ्गिक समानता समेत फिल्मी क्षेत्रमा स्थापित हुँदैछ।

केही वर्षदेखि बलिउड उद्योगमा अभिनेताहरु फिल्म निर्माणमा निकै सक्रिय छन्। शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगनदेखि रणवीर कपूरसम्म फिल्म निर्माणमा अगाडि देखिन्छन्।

त्यसैगरि अहिले बलिउडमा अभिनेत्रीहरुको पनि फिल्म निर्माणमा आकर्षण बढ्दो देखिन्छ। अभिनयका कारण फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाएकी अभिनेत्री अनुष्का शर्माले पनि भाईस कर्नेश शर्मासँग मिलेर ‘क्लीन स्लेट फिल्म्स प्रोडक्सन हाउस’ खोलेकी छिन्। उनले ‘एनएच१०’, ‘फिल्लौरी’ र ‘बुलबुल’ जस्ता फिल्महरु बनाइसकेकी छिन्।

अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी प्रियंका चोपडाले पनि ‘पर्पल पेबल्स पिक्चर्स खोलेकी छिन्। उक्त प्रोडक्सन हाउसबाट उनले हिन्दी र क्षेत्रीय फिल्महरुको निर्माण गरेकी छिन्। जसमा मराठी फिल्म ‘भेन्टीलेटर’, नेपाली फिल्म ‘पाहुना’ र ‘व्हाइट टाइगर’ पर्छन्।

त्यसैगरि अभिनेत्री दिपिका पादुकोणले पनि फिल्म निर्माणमा पाइला टेक्दै ‘का प्रोडक्सन’  बाट फिल्म ‘छपाक’ बनाइसकेकी छिन्।  पछिल्लो समय अभिनेत्री आलिया भाट, तापसी पन्नु र कंगना रनौत पनि फिल्म निर्माणमा प्रवेश गरिसकेका छन्।

अभिनेत्रीहरुको फिल्म निर्माणमा बढ्दो चासोको ‘ट्रेन्ड’लाई सकारात्मक रुपमा हेर्छिन् इतिहासकार एस एम एम औसजा।

‘अभिनेत्रीहरु पनि अभिनेता बराबर नै काम गर्दैछन्। फिल्म निर्माणमा पहिले अभिनेताहरुले कदम राखेतापनि यसरी अभिनेत्रीहरु निर्माणमा अघि बढ्नु निकै सकारात्मक कदम हो,’ उनले भनिन्।

ट्रेन्डको कारण?

अहिले फिल्म क्षेत्रमा सबैभन्दा बढी परिवर्तन प्रविधिमा आएको छ। पहिले सिनेमा हललाई केन्द्रमा राखेर फिल्म बनाउने गरिन्थ्यो। त्यसपछि हिन्दी फिल्महरु प्रदर्शन हुने अर्को माध्यम थियो ‘दुरदर्शन’। तर पछिल्लो दश वर्षमा निकै परिवर्तन आएको बताउँछन् अतुल मोहन।

फिल्म कमाईको कारोबारबारे अतुल मोहन भन्छन्, ‘अहिलेका कलाकारहरुको पुस्ता निकै चलाख छ। उनीहरु जहिले पनि भविष्यको बारेमा निकै सोच्ने गर्छन्। कसरी बढी पैसा कमाउन सकिन्छ तथा कसरी सुरक्षित हुन सकिन्छ भनेर सोच्छन्।’

प्रविधिका साथै फिल्मको कमाईमा समेत ठुलो फरक आएको अतुल मोहन बताउँछन्। उनका अनुसार अहिले स्याट्लाइटदेखि डिजिटल, अडियो र ओवरसिस फिल्म कारोबारबाट समेत पैसा कमाइरेको छ। यति धेरै माध्यमहरु छन् जसबाट पैसा कमाउन सकिन्छ। साथै आईपीआर (इन्टेलेक्चुअल प्रोपर्टी राइट्स) पनि। जुन भविष्यमा पैसा कमाउन एक ठूलो तरिका बन्नेछ। साथै कमाई १०० देखि ३०० करोड पुगेको छ।

अतुल मोहन अघि थप्दै भन्छन्, ‘जसरी राजेश खन्ना र अमिताभ बच्चनले यश चोपडाजस्ता चर्चित निर्देशकहरुसँग फिल्म बनाए। त्यसपछि बच्चन उच्च स्थानमा आउन सफल भए। त्यसपछि अर्को पुस्ता शाहरुख खानले पनि एक फिल्म स्टुडियो खोले। अभिनेताहरु देखी अभिनेत्रीहरुलाई थाहा भयो कि फिल्म निर्माणमा पैसा छ।’

फाइदा र स्टुडियोको साथ कति छ?

पहिले अभिनेत्रीहरुलाई हिरोको वरिपरि नाच्ने र कथाको एक हिस्सामात्र मानिन्थ्यो। तर अहिले अभिनेत्रीहरु पनि फिल्ममा मुख्य भूमिकामा देखिन थालेका छन्। अहिले धेरै फिल्महरुमा अभिनेत्रीहरुले आफ्नो अभिनय र योग्यता साबित गरेका छन्। चाहे अनुष्का शर्माको फिल्म ‘एनएच १०’ होस् या दिपिका पादुकोणको ‘छपाक’।

आजकल अनेकौ विषयमा फिल्महरु बनिरहेका छन्। धेरै कथाहरु छन् तर ति कथाहरु निर्माताहरुले पाउन सक्दैनन्। तर एक चर्चित अभिनेता तथा अभिनेत्रीले  उक्त कथामा फिल्म बनाउने निर्णय गरे भने उनीहरुलाई स्टुडियोको सहयोग मिल्ने अतुल मोहनको भनाई छ। इरोस स्टुडियोले अनुष्का शर्माको फिल्म र फक्स स्टुडियो इन्डियाले दिपिकाको फिल्मलाई सहयोग गरेको थियो। फिल्म स्टुडियोले फिल्म निर्माणको हरेक पक्षमा सहयोग गर्ने उनले बताए।

भन्छन्, ‘स्टुडियोलाई आफ्नै चाहेको सिनेमा बनाउने इच्छा हुन्छ। तर त्यस्तो नहुँदा निर्माताका ती विषयहरु छनोट गर्छन्। जसबाट उनको आईपीआर जीवनको लागि सुरक्षित हुन्छ। पाँच वा सात वर्ष मोनेटाइज गरेर विभिन्न प्लेटफर्महरुमा चलाउन सकियोस्।’

कलाकारहरु निर्माता बनेर फिल्मको लागत नघट्ने उनले स्पष्ट पारे। अभिनेता र अभिनेत्रीहरुले आफ्नो बजार दर कायम राख्छन्। उनीहरु फिल्म थिएटरमा रिलिज भयो भने शुल्क कति हुन्छ भनेर पनि तय गर्न सक्छन्। साथै सिधैँ ओटीटीमा फिल्म रिलिज हुँदा समेत उनीहरुको ‘फि’ धेरै हुने गर्छ।

ट्रेन्ड नयाँ होइन

हिन्दी फिल्म उद्योगको सुरुवातमा पनि केही अभिनेत्रीहरुले फिल्म निर्माणको काम गरेका थिए।

इतिहासकार अमृत गंगरका अनुसार फातिमा बेगमले आफ्नो करियर उर्दु मञ्चबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले आर्देशीर र्इरानीको ‘वीर अभिमन्यु’ फिल्मबाट फिल्म करियर सुरु गरेकी हुन्।

त्यसपछि आदरेहीर र्इरानीले इम्पीरियल फिल्म कम्पनी बनाइन्। जसले सन् १९३१ मा भारतको पहिलो साउन्ड फिल्म ‘आलम आरा’ को निर्माण गरेको थियो। ‘आलम आरा’ मा फातिमा बेगमकी छोरीहरु जुबैदा, सुल्ताना र शहजादिको अभिनय रहेको थियो।

सन् १९२६ मा फातिमा बेगमले ‘फात्मा फिल्मस् प्रोडक्सन हाउस खोलिन्। त्यसपछि सन् १९२८ मा ‘भिक्टोरिया फातिमा फिल्म’ को स्थापना गरेकी थिइन्। फातिमा बेगमसँग बहुमुखी प्रतिभा थियो। उनले कोहिनूर र इम्पीरियल स्टुडियो जस्ता प्रमुख स्टुडियोहरुका फिल्महरुमा अभिनय गर्नुका साथै आफ्नै प्रोडक्सनबाट फिल्महरु पनि बनाइन्, जसमा उनले अभिनय, स्क्रिप्ट लेखनदेखि निर्देशनसमेत गरेकी थिइन्।

सन् १९३० दशकमा उनले अभिनयलाई निरन्तरता दिइन्। उनले हिन्दी सिनेमाका महान निर्देशक नानुभाई वकील र होमी मास्टरसँग काम गरेकी थिइन्।

जुबैदा १९३० मा भारतको पहिलो साउन्ड फिल्म आलम आराको अभिनेत्री थिइन्। अभिनेत्री जुबेदा र निर्देशक नानुभाई वकीलले सन् १९३४ मा महालक्ष्मी सिनेटोन कम्पनीको स्थापना गरेका थिए। आफ्नो फिल्मी करियर मा उनले रवीन्द्रनाथ टैगोरको प्रतिष्ठित नाटकमा आधारित फिल्म बलिदान सहित नौसेना गान्धीको धेरै सामाजिक फिल्महरुमा एक परम्परागत आयामको एक छवि छाड्न सफल भइन्।

जद्दनबाई सन् १९३० को दशकमा हिन्दी सिनेमाको बहुमुखी प्रतिभा भएको महिलामा पर्छिन्। सन् १९३३ देखि १९३५ मा उनले केही फिल्ममा अभिनयका साथै गीत पनि गाइन्। जद्दनबाई हुसैनले गायिका संगीतकार नृत्याङ्गना, अभिनेत्री निर्देशक र निर्माताको रुपमा पहिचान बनाएकी थिइन्। उनी अभिनेत्री नरगिस की आमा थिइन्।

त्यसैगरि कनन देवी भारतीय सिनेमामा एक प्रभावशाली महिला थिइन्। उनको हिन्दी र बंगाली सिनेमामा ठुलो योगदान छ। कनन देवी जसले ‘मौन युग’ बाट अभिनयमा डेब्यू गरेकी थिइन्। उनले सन् १९४९ मा ‘मिसेस पिक्चर्स’ बाट फिल्म निर्माण गर्न सुरु गरेकी थिइन्। उनले करिब ११ वटा फिल्म निर्माण गरेकी थिइन्। धेरै प्रसिद्ध फिल्महरुमा गायिका पनि थिइन्।

पछिल्लो दिनमा महिला निर्माता र कथा

१९३० देखि १९४० दशकभन्दा आजको समय धेरै फरक रहेको अमृत गंगर बताउँछन्। उनको भनाईअनुसार जब कोही महिला कुनै विषयमा फिल्म लेख्ने तथा निर्देशन र निर्माणमा हात हाल्छन्। त्यसमा महिलाको दृष्टिकोण आउने गर्छ।

आजको बलिउडसँग त्यो युगको हिन्दी फिल्म स्टुडियोको तुलना गर्दा धेरै सामन्ती र लैङगिक भेदभाव देखिने उनको तर्क छ। साथै साम्प्रदायिक मानसिकता पनि। नत्र फातिमा बेगम, जुबेदा र जद्दनबाई जस्ता महिलाहरु त्यो युगमा उदय नहुने उनले बताए।

ती अभिनेत्रीहरुले हरेक विषयमा हात हालेका थिए। जसमा सामाजिक, ऐतिहासिक, साहसिक, विद्रोही, जुगलबाजी र थ्रिलर फिल्महरु समेत पर्छन्। पहिले बनेको फिल्म ‘बलिदान’ मा काली माताको हत्याको निन्दा गरिएको थियो। जसमा जुबैदाले अभिनय गरेकी थिइन्।

१९६० पछि आएको थियो परिवर्तन

हिन्दी सिनेमाको सुरुवाती चरणमा धेरै अभिनेत्रीहरु निर्माता बने र धेरै विषयहरुमा आफ्नो विचारहरु समेत राखे। तर समयसँगै उनीहरुको संख्या न्युन बन्यो। जसको कारण हो बढ्दो पितृसत्तात्मक मानसिकता।

सन् १९६० पछि समाजमा पितृसत्तात्मक र रुढिवादी परम्परा बढ्यो। साथै धार्मिक, सामाजिक र पारिवारिक परम्परा तोड्ने डर पनि हाबी थियो। फिल्म उद्योगमा महिला कलाकारहरुको बहुमुखी प्रतिभा बाहिर ल्याउन धर्मनिरपेक्ष, गैर- अराजकतावादी, गैर-नस्लवमादी र गैर-भाषावादी दृष्टिकोणको माहोल हुन निकै जरुरी बताउँछन् इतिहासकार अमृत गंगर।

एक्काइसौँ शताब्दीमा हिन्दी सिनेमाका अभिनेत्रीहरु परिवर्तनशील हुनुका साथै यस्ता विषयहरुका फिल्मसँग जोडिने गरेका छन्। जसले समाजको एक विषय छेडेको छ। साथै दर्शकहरुलाई सिनेमा हलसम्म तानेर पैसासमेत कमाइरहेको छ।

चर्चित अभिनेत्रीहरु जो बक्स अफिसको जिम्मा आफ्नो काँधमा लिँदै छिन्। ती अभिनेत्रीहरुको फिल्म निर्माणको सक्रियताले दर्शकहरुले पनि धेरै नदेखेका कथाहरु देख्न पाउने कुरामा इतिहासकार एस एम एम औसजा विश्वास गर्छन्।  बीबीसी हिन्दीमा प्रकाशति सामाग्रीको भावनुवाद।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button