No Image Headlineअर्थमुख्य खबरविशेष

नेपाल आयल निगम : मूल्य र घाटा दुवै बढेकोबढ्यै

Thrill Factory
Rungta Group

काठमाडौं- न्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।

अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९ दशमलव १८ रुपैयाँ, डिजेलमा १२० दशमलव शून्य १ रुपैयाँ, मट्टितेलमा ९३ दशमलव ९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४ दशमलव शून्य ७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६ दशमलव ४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार ९६१ दशमलव ८८ रुपैयाँ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको १३० रुपैयाँ, डिजेल र मट्टितेलको ११३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ तोकिएको छ ।

उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९ दशमलव १८ रुपैयाँ नोक्सान, डिजेलमा ७ दशमलव शून्य १ रुपैयाँ नोक्सान, मट्टितेलमा १९ दशमलव ५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा १ दशमलव ९३ रुपैयाँ नाफा, बाह्य हवाई इन्धनमा १५ दशमलव १० रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११ दशमलव ८८ रुपैयाँ नोक्सानको अवस्था छ ।

निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्याधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रवक्ता उपाध्यायका अनुसार अन्तरराष्ट्रिय बजारमा पछिल्लो समय फेरि मूल्य बढ्न थालेको छ । अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धिमा भूमिका खेलेको छ । निगमले गत भदौ ७ गते पछिल्लोपटक मूल्य समायोजन गर्दा अन्तरराष्ट्रिय बजारको मूल्य केही घटेको थियो । अन्तरराष्ट्रिय बजार मूल्य घटे पनि निगमको लागत मूल्यभन्दा कम नभएपछि निगमले मूल्य बढाएको थियो ।

अन्तरराष्ट्रिय बजारमा घट्दा पनि नेपाली बजारको मूल्य बढेको भन्दै त्यतिबेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक ८४ करोड रुपैयाँको हाराहारीमा झारेको थियो ।

आईओसीले त्यसपछि दुई पटक मूल्य बढाएर मूल्यसूची पठाएको छ । सेप्टेम्बर १ तारिख र अक्टोबर १ तारिखका दिन पठाएको मूल्यसूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि डिजेलमा भएको छ । डिजेलमा प्रतिलिटर ७ दशमलव १४ रुपैयाँ मूल्य बढ्दा हवाई इन्धनमा प्रतिलिटर ६ दशमलव ९७ रुपैयाँ, पेट्रोलमा ४ दशमलव शून्य ९ रुपैयाँ र मट्टितेलमा ३ दशमलव ५६ रुपैयाँ मूल्य बढेर आएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ दशमलव ६९ रुपैयाँले बढेको निगमले बताएको छ ।

सेप्टेम्बर १६ तारिखका दिन प्राप्त भएको मूल्यसूचीमा सेप्टेम्बर १ तारिखको भन्दा मूल्य बढेर आएको थियो । त्यो मूल्यका आधारमा निगमले १५ दिनमा १ अर्ब पाँच करोड रुपैयाँ नोक्सानीको प्रक्षेपण गरेको थियो । यद्यपि त्यसपटक निगमले मूल्य समायोजन गरेन । अहिले बढेर आएको मूल्यका आधारमा निगमको नोक्सान बढेर १ अर्ब ५० करोड रुपैयाँ नाघेको छ ।

निगमका प्रवक्ता उपाध्याय निरन्तरको नोक्सानीले निगमको वित्तीय अवस्था धरासायी बन्दै गएको बताउँछन् । प्रवक्ता उपाध्यायका अनुसार अन्तरराष्ट्रिय मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ, तर मूल्य लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नुपर्दा नोक्सानी बढ्दै गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button