
सुचित्रा भर्खरै स्नानगृहबाट बाहिर निस्केकी थिईन् l



“अलख, भिक्षान्देही!”, आँगनमा कुनै भिक्षुले अलख जगाए l



एउटै धोतीको पेटिकोट, त्यसैको सारी र उसैको ब्लाउज लगाएकी गृहिणीले कपडा फेर्न पनि भ्याएकी थिईनन्; घरमा अर्को पात्र पनि थिएन l



भिक्षुले फेरि अलख जगाए l उनी असमन्जसमा परिन् l एकाबिहानै घरमा आएको योगीलाई धेरैबेर कुराउनु पनि उचित हुन्नथ्यो र बाहिर निस्किहाल्ने अवस्थामा पनि उनि थिईनन् l
उनलाई स्वस्थानीकी गोमा पात्रको याद आयो र दोस्रोपटक नसोची कचौरामा चामल लिएर पिंढीमा आईन् l भिक्षु उनलाई कुरिरहेको थियो l
बाक्लो लामो कालो केश पछाडि लगेर चुल्ठी पारेको, झुप्प परेर पुष्ट गाला टल्काउँदै घुंग्रिएको घना दाह्रीमा चितुवा जस्तै लाग्ने पच्चीस तिसको अभुतपुर्व योगी उनलाई देखेर मुसुक्क हाँस्यो l
सामान्यत: उनी मुल ढोका बाटै भिक्षा दिन्थिन् l तर, आज उनलाई खै केले संघारबाट धकेलेर पिंढीमा पुर्यायो l बलेनीमा उभिएर भिक्षुले आकाशतिर हेरेर सिदा थाप्यो यता पिंढीको गगनमा उभिएर याचाकलाई भिक्षा दिंदै गरेकी सुचित्राको उचाईले भिक्षुलाई आफ्नो उचाई बढाउनुपर्ने भयो जुन सम्भव थिएन l
फलत: सुचित्रा रुपी आकाश आफै झुकेर याचकको बराबरीमा आउन करलाग्यो l सुचित्राका आँखाले भिक्षुका आँखामा आफुलाई देखे l उनको केशबाट एक थोपा जल याचकको कमण्डलुमा तप्लक्क झर्यो l
त्यही थोपाको सागरमा भिक्षुले आफु तैरिंदै डुब्दै गरेको देख्यो l भिक्षा दिएर सुचित्रा उभिँदै गर्दा योगीले आफु धर्तीरुपी सुचित्राले वक्षस्थलमा उठाएका कुमेरु सुमेरु पर्वतको कप्चेरमा किंकर्तव्यविमुढ भएर अड्किएको देख्यो l
त्यसपछिका केहिदिन भिक्षुले एउटै घरमा मात्र भिक्षा माग्न थाल्यो l अलिदिन पछिको कुरा हो कुनै टोलबासीले अलख सुनेर बाहिर निस्कँदा भिक्षुणी सहितको भिक्षुलाई देखेर जिब्रो टोक्दै भने, “आम्मामामा, साक्षात भगवती ! हैन कहाँबाट ल्यायौ यस्ती राम्री जोगिनी?” मुसुक्क हाँसेर तिघ्रे जोगीले भन्यो, “भिक्षामा पाएको हुँ l”