कला/साहित्य

लघुकथा-आत्मबोध

खेमलाल पहारी

Thrill Factory
Rungta Group

कोरोना दम्भको दोश्रो तेश्रो दमनकरी आक्रमण संसारभर भैरहँदा ऊ पनि रुघाखोकीले आक्रान्त भएर कुना पसेको हप्ता दिन भएको थियो ।

यसैबीच उसकी धर्मपत्नीले मासिक धर्म निभाईदिएकोले ऊ हातमा रबरका र नाक मुखमा कपडाको कोरोना कवच लगाएर आफ्नो धर्म निभाउन भान्छा छिर्यो । ऊ महिनामा जम्मा आठ दश पटक त भान्छा सम्हाल्दो हो त्यसैले पनि भान्छाका पलहरूलाई विशेष बनाउन ऊ हरसम्भव प्रयास गर्दथ्यो ।

आफूले महिना दिनअघि छोराछोरी र जहानको जिब्रोमा छोडेको भान्छाको स्वाद स्मरण गराउन उसले दोकानबाट रस र स्वाद मगायो र खुब मन लगाएर भोजनको तयारीमा जुट्यो ।

ओखलको टिंगटिंग, सिलौटोको लसलस, तेलको च्वाईं, मरमसलाको झ्वाईं अनि कुकरमा पन्युको टक्र्याकटुक्रुक चल्दै गर्दा सानी छोरी दगुर्दै भान्छामा आएर बुढी औंला ठड्याउँदै भनिन्, “वाह मलाई भुटेको एक दुई चौटा ”।

“कसरी थाह पायौ ? ’’ उसले सोध्यो ।

“घरै बसाएको छ”, उनले भनिन् ।

उसले श्रीमतीलाई ढोकामा बोलाएर लामो सास लिन भन्यो ।

“सूप बनाउनु है, मीठो होला जस्तो छ’, उनले भनिन् ।

उसले नाकबाट कवच हटायो । नाक निष्प्राण थियो । कुकरको नाक अफुतिर फर्कायो, त्यो पनि पलाँसको फूल समान थियो ।

कुनै अदृश्य शत्रुले पछाडिबाट आक्रमण गरेको आभास भयो उसलाई । मुटु छाति छेडेर बाहिर आउला झैँ गर्यो । आँखा वरिपरि अन्धकार छायो । ऊ कुर्चीमा गएर थेचारियो ।

विस्तार्रै दष्टिपर्दामा बीचैमा सथ छोडेका, अकालमा कसम तोडेका मानिसको तस्वीर देखिए । प्लास्टिकको थैलीमा लपेटिएको आफू र पर जमिनमा लटपटिएर बिलौना गर्दै गरेका परिवार पनि देखिए ।

उसलाई क्षणभरमै शौच होला, बान्ता होलाजस्तो भयो । पेट कटक्क काट्यो । बायाँ छात्ति चसक्क घोच्यो । जानुअघि उसले सोच्यो । सानी छोरी आज भान्छामा नआएको भए जाति हुन्थ्यो ।

पर्दामा टुहुरा टुहुरीको दुर्गतिको सजीव चित्र देखेपछि उसले स्वर्गवासी आमाबा देख्यो । वहाँहरू भन्दै हुनुहुन्थ्यो, ‘’उठ छोरा, खाना पस्क । बुहारी नाति नातिनी भोकाएका छन् र तिमी पनि तात्तातो खाऊ ।’’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button