No Image Headlineअर्थविशेष

नियन्त्रणतिर कोरोना संक्रमण, अर्थतन्त्रमा आशाको सञ्चार

Thrill Factory
Rungta Group

पछिल्ला साताहरूमा लगातार कोरोना संक्रमणमा कमी हुँदै गएको छ । खोपको उपलब्धताका कारण मुलुकभर नै खोप लगाउने जनसंख्यामा वृद्धिका कारण पनि कोरोना संक्रमणको अवस्था सुधार भएको देखिएको छ । साथै, खोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले पनि कोरेना संक्रमणको स्थितिमा सुधार ल्याएको स्वास्थ्यकर्मीहरूको आकलन छ ।

कोरोना संक्रमणको अवस्थामा सुधार भएका कारण ओरालो लागेको अर्थतन्त्र पनि लयमा फर्कने संकेत देखिएको छ । खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै गएका कारण बजारमा पछिल्ला साताहरूमा भीडभाड बढ्न थालेको पनि देखिन्छ ।

जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ । विगत करिब दुई वर्षदेखि नै शून्यप्रायः रहेका बजारमा चहलपहल बढेका कारण अर्थतन्त्र चलायमान हुने आशा गरिरहँदा सुरक्षा तथा सावधानीको पनि त्यति नै आवश्यकता छ ।

अन्यथा फेरि तेस्रो लहर आउन सक्ने सम्भावना भने पूर्ण नकार्न सकिँदैन । यदि फेरि तेस्रो लहर आयो र बन्दाबन्दीको अवस्थामा जाने वातावरण सिर्जना भयो भने विस्तार चलायमान हुन लागेको अर्थतन्त्रमा ठूलो समस्या आउने देखिन्छ । तर, पछिल्लो समय संक्रमणदर घट्दै जानुलाई सकारात्मक ढंगले हेर्दै सावधानी तथा सचेततापूर्वक बजार सञ्चालन गर्नु आवश्यक छ ।

एकातिर तत्कालका लागि नेपालीमा कोरोना संक्रमणविरुद्ध लड्ने क्षमता विकास हुनु सकारात्मक रहेको भए तापनि बजारमा बढ्दो भीडभाड तथा आउँदै गएका चाडपर्वका कारण जोखिम भने पूरै हटिसकेको छैन । लामो समयदेखि कोरोना संक्रमणको संकटमा गुज्रेको नेपालमा हाल ६९ प्रतिशतको हाराहारीमा कोभिड–१९ विरुद्धको एन्टिबडी विकास भएको पाइएको स्वास्थ्यकर्मीहरूको अध्ययनले देखाएको छ ।

साथै, खोप लगाएका मानिसमा ९० प्रतिशत एन्टिबडी विकास भएको पनि अध्ययनको निष्कर्ष छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरबाट स्याम्पल लिई अध्ययन गरेको जनाएको भए तापनि जोखिम पूर्ण रूपमा नहटेको स्वास्थ्यकर्मीहरूको निष्कर्ष रहेको छ ।

उक्त अध्ययन असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अध्ययनबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार देशभर ६८।६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको मन्त्रालयको दाबी छ ।

अध्ययनमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टिबडी बनेको देखिएको पनि मन्त्रालयको दाबी छ ।

मन्त्रालयले एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको जनाएको छ । तर, कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने–नगराउने, घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउने, सरसफाइमा ध्यान दिने, साबुन–पानीले हात धुने र आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउने कुरामा सबै सचेत हुँदा कोरोनाको प्रभाव अझ घट्न सक्ने आकलन रहे तापनि कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न मन्त्रालयले अनुरोध पनि गरेको छ ।

सरकारी स्वास्थ्य संस्थाको प्रयोगशालामा पीसीआर परीक्षण निःशुल्क गरेर सरकारले बढीभन्दा बढी नागरिकलाई सचेत रहन आग्रह गर्नुको पछाडि अन्य मुलुकमा कोरोनाको तेस्रो तथा चौथो लहर पनि आएको कारणले हो ।

त्यसैले संक्रमण पुष्टि भएमा सात दिनअघिदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई अलगै बस्न तथा नियमित निगरानीमा रहन र कुनै पनि स्वास्थ्य समस्या हुनेबित्तिकै परीक्षण गर्न पनि स्वास्थ्यकर्मीहरूले सल्लाह दिएका छन् ।

नागरिकले सावधानी अपनाउँदै गए पछिल्ला सातामा झैं संक्रमण घट्न जाने तथा अर्थतन्त्र चलायमान हुन गई जीवन तथा जीविकाको सुरक्षा हुन सक्छ । सरकारले पनि खोप अभियानलाई व्यवस्थित रूपले दु्रत गतिमा बढाउँदै लगे अर्थतन्त्र चलायमान बनाउन धेरै कसरत गरिरहनु पर्दैन ।कारोबार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button