No Image Headlineप्रदेशविशेष

मधेसकेन्द्रित दल विभाजनको नालीबेली : सत्ता स्वार्थमा दल टुक्रिँदा नेतृत्वविहीन बन्दै मधेस

मधेस केन्द्रित दलहरू सत्ता स्वार्थमा लागेर पटकपटक विभाजन हुँदै आएका छन् । अहिले जनता समाजवादी पार्टी विभाजन यसैको उपक्रममात्रै हो । नेतृत्वको यो प्रवृत्तिले मधेसका राजनीतिक मुद्दा ओझेलमा परेका छन् । मधेस नेतृत्वविहीन बन्न पुगेको छ।

मधेसलाई केन्द्र बनाएर बनेका दलहरु विभाजनको कथा भने अन्य दलभन्दा रोचक छ। यतिसम्म कि विभाजन हुँदाहुँदा कतिपय दल इतिहासमै सीमित भइसकेका छन्।

पछिल्लोपटक गत बुधबार जनता समाजवादी पार्टीबाट अलग्गिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे। योसँगै मधेस केन्द्रित दल विभाजनमा एउटा अध्याय थपिएको छ। जसपाभित्र उपेन्द्र यादव र महन्थ ठाकुरबीच स्वार्थ नमिल्दा विभाजन भएको हो।

गजेन्द्रनारायण सिंहको नेतृत्वमा २०४७ वैशाख ३ गते गठन भएको नेपाल सदभावना पार्टी केही वर्ष नबित्दै विभाजन भयो । पहिलो मधेस केन्द्रित दल नेपाल सदभावना पार्टीबाट सुरु भएको विभाजन अहिले पनि जारी छ।

२०४७ सालमा मधेस मुद्दालाई लिएर राजनीतिक दलको निर्माण भयो । जसको सुरुवात गजेन्द्रनारायण सिंहले गरेका थिए। सिंहले सुरुमा नेपाल सद्भावना परिषद् नामक सामाजिक संस्था खोलेका थिए।

सामाजिक संस्था खोलेर मात्रै मधेसका मुद्दा उजागर गर्न नसकिने भएपछि उनको नेतृत्वमा २०४७ वैशाख ३ गते नेपाल सदभावना पार्टी नामक राजनीतिक दल गठन भयो। सो दलमा केही वर्ष नबित्दै विभाजनको बीजारोपण भइहाल्यो।

पार्टीमा सिंहका सहयात्री रहेका रामजनम तिवारीले तीन वर्ष नबित्दै आफ्नै नेतृत्वमा नेपाल सदभावना पार्टी (आर) गठन गरे। तिवारीको दलमा २ वर्ष नबित्दै फुट आयो। २०५२ सालमा रामेश्वर राय यादवले विद्रोह गरे। अनि जन्मियो समाजवादी जनता दल। यादवको अध्यक्षतामा गठित सो दलमा हृदयेश त्रिपाठी उपाध्यक्ष थिए भने राजेन्द्र महतो प्रवक्ता।

पार्टी टुक्राटुक्रामा विभाजित भएको दुई वर्षपछि एकता भयो। २०५४ सालमा विराटनगरमा सम्मेलन आयोजना गरेर सदभावनाका विभिन्न घटकलाई एक ठाउँमा ल्याइयो। पार्टीको नाम नेपाल सदभावना पार्टी राखियो।

त्यो एकता धेरै टिकेन। पाँच वर्षभित्रै विभाजन भयो। २०५९ चैत ११ गते राजविराजमा भएको महाधिवेशनबाट गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवी सिंहले पार्टी फुटाएकी थिइन्।

फुटको कारण थियो राजालाई समर्थन गर्ने या लोकतान्त्रिक शक्तिहरुलाई समर्थन गर्ने भन्नेमा कुरा नमिल्नु। राजालाई समर्थन गर्ने गुट बद्री मण्डलसँग लाग्यो भने बाँकी आनन्दीदेवीसँग। पार्टीको नेतृत्व बद्री मण्डलले पाए। आनन्दीदेवीले नेतृत्व गरेको दलको नाम नेपाल सदभावना पार्टी (आनन्दीदेवी) राखियो।

बद्री मण्डल पार्टीमा निष्क्रिय भएपछि लक्ष्मणलाल कर्णले पार्टीको नेतृत्व गरे। २०६४ जेठ २५ गते कर्ण र आनन्दीदेवीबीच एकता भएर नेपाल सद्भावना पार्टी एक ठाउँमा आयो। एकीकृत पार्टीको अध्यक्षता आनन्दीदेवीले गरिरहेकी थिइन्। तर एक वर्ष नबित्दै पार्टी तीन टुक्रामा विभाजित भयो।

२०६५ मंसिर २४ गते राजेन्द्र महतोले आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरे। त्यसपछि श्यामसुन्दर गुप्ता, खुसीलाल मण्डल र सरिता गिरीले अलगअलग समूह बनाएर पार्टी विभाजन गरे। सबैले पार्टीको नामचाहिँ नेपाल सदभावना पार्टी (आनन्दीदेवी) नै राखे।

राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी दुई टुक्रामा विभाजित भयो। अनिलकुमार झा र सरिता गिरीले मिलेर संघीय सदभावना पार्टी गठन गरे भने रामनरेश रायले भिन्नै दल गठन गरे। रामनरेश पछि महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीमा लागेका थिए भने महतो र झाले नेतृत्व गरेको पार्टी मिलेर राष्ट्रिय जनता दलमा बन्यो।

फोरमको अगुवाइमा अन्तरिम संविधान २०६३ को विरोध गर्दै मधेसमा आन्दोलन भयो। सरकारले फोरमसँग २२ बुँदे सम्झौता गरेपछि २०६४ वैशाखमा मधेसी जनअधिकार फोरम राजनीतिक दलका रूपमा दर्ता भयो।

विद्रोहबाट माओवादी शान्ति प्रक्रियामा आएपछि देशमा संघीयताको आवाज उठ्न थालेको थियो। सोही समयमा उपेन्द्र यादवले मधेसी जनअधिकार फोरम गठन गरे।

फोरमको अगुवाइमा अन्तरिम संविधान २०६३ को विरोध गर्दै मधेसमा आन्दोलन भयो। सरकारले फोरमसँग २२ बुँदे सम्झौता गरेपछि २०६४ वैशाखमा मधेसी जनअधिकार फोरम राजनीतिक दलका रूपमा दर्ता भयो।

यहाँसम्म सद्भावना पार्टीका नाममा फुट्दै र जुट्दै आएका मधेस केन्द्रित दल अब फोरमका नाममा विभाजन हुन थाले। २०६४ भदौमा उपेन्द्रसँग अलग भएर भाग्यनाथ गुप्ताले मधेसी जनअधिकार फोरम (मधेस) नामक दल दर्ता गराए।

कांग्रेसबाट विद्रोह गरेर उपेन्द्र यादवको पार्टीमा लागेका विजयकुमार गच्छदारले फोरमबाट अलग भएर मधेसी जनअधिकार पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गराए। शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता लगायतका नेता गच्छदारसँगै थिए। रक्षामन्त्री बनेका भण्डारीको विवादास्पद अभिव्यक्तिका कारण उनलाई मन्त्री पदबाट हटाइयो। पार्टीले उनको बचाउ गरेन।

सोही विषयलाई लिएर पार्टीबाट अलग भएका भण्डारीले राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे। जेपी गुप्ताले मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) नामक पार्टी दर्ता गराए। भ्रष्टाचारमा मुछिएपछि गुप्तालाई कारबाही गर्दै राजकिशोर यादवले सो पार्टीको कमान्ड सम्हाले।

मधेस केन्द्रित दलहरूको उदय हुने क्रम भने रोकिएको थिएन। नेपाली कांग्रेसका प्रभावशाली नेता महन्थ ठाकुरले तराईमधेस लोकतान्त्रिक पार्टी नामक दल गठन गरे।

ठाकुरको नेतृत्वमा रहेको तमलोपा पनि विभाजित थियो। पार्टीबाट अलग भई महेन्द्र राय यादवले तराई मधेस सदभावना पार्टी (तमसपा) गठन गरे।

उपेन्द्र यादवले नेकपा एमालेबाट अलग भएका अशोक राई, राजेन्द्र श्रेष्ठसँग एकता गरेर संघीय समाजवादी फोरम गठन गरे। त्यसपछि एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसँग एकता गरेर समाजवादी पार्टी गठन गरिएको थियो। तमसपा र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको थियो। उपेन्द्र यादव र महन्थ ठाकुरबीच कुरा नमिलेपछि यो दल विभाजित भएको छ।

महन्थ–उपेन्द्रबीच सैद्धान्तिक नभएर वर्चस्वको लडाइँका कारण विभाजन भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। फरकफरक जनाधार र फरकफरक विचारबाट एक ठाउँमा आएका नेताहरुले एकअर्काको वर्चस्वलाई नमान्ने परिपाटीकै कारण दल विभाजन भएको मधेस राजनीतिका जानकारहरु बताउँछन्।

मधेसका मुद्दामा भन्दा पदमा कसरी पुग्न सकिन्छ भन्ने स्वार्थका कारण मधेस केन्द्रित दल पटकपटक विभाजित हुँदै छ। पहिले सिद्धान्तमा विमति हुँदा पार्टी विभाजन हुन्थ्यो तर अहिले आफ्नो जर्चस्व कायम गर्न र कुर्सीको खेलमा सहभागी हुन नेताहरु दल फुटाउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button