
चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अहिलेसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् ।



सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।



सोही रकमको भुक्तानी माग गर्दै उखु किसानले गत साउन दोस्रो साता काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बक्यौता रकम भुक्तानीका लागि उद्योगी र सरकारलाई भदौ ५ गतेसम्मको समयसीमा दिएका थिए ।



किसानले दाबी गरेको तथ्यांकअनुसार बाँकी रहेको कुल ९० करोड बक्यौता रकममध्ये २५ करोड रुपैयाँको भुक्तानी बाँकी रहेको छ ।
सरकार र उद्योगीबाट आप्mनो मागको सुनुवाइ नभएपछि उखु किसानले आन्दोलन गर्ने तयारी थालेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार उखु किसानले सर्लाहीको अन्नपूर्ण चिनी उद्योगबाट ८ करोड, सर्लाहीकै महालक्ष्मी सुगर मिलबाट ५० लाख, रौतहटको श्रीराम सुगर मिलबाट ३ करोड, इन्दिरा सुगरमिल नवलपरासी बाट २ करोड र लुम्बिनी चिनी कारखानाबाट २ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
‘यो रकम चाँडोभन्दा चाँडो भुक्तानी गरिपाऊँ भनी हामीले सरकारसँग बारम्बार बिन्ती गर्दा पनि सरकारले हाम्रो कुरामा चासो दिएन । त्यसैले आन्दोलन गर्नुको विकल्प छैन । हामी आन्दोलनको पूरा तयारीमा छौं जतिबेला पनि आन्दोलन शुरू हुन सक्छ,’ उनले भने ।
उद्योगीबाट किसानले पाउनुपर्ने सबै बक्यौता रकम उपलब्ध गराइदिने भन्दै सरकारसँग धेरैपटक सम्झौता गरे पनि धेरै किसानले रकम नपाएको गुनासो गर्दै अब कुनै पनि सम्झौता गर्न आफूहरू तयार नरहेको उनले बताए ।
यसका साथै किसानले दाबी गरेको ९० करोड र सरकारले सही मानेको ६५ करोड बक्यौता रकममा कुरा नमिलेपछि त्यसको समस्या समाधानका लागि बनेको कार्यदलले पनि गोलमटोल प्रतिवेदन सार्वजनिक गर्दै किसानलाई दुःख दिने काम गरेको समितिका सचिव हरिश्याम रायले बताए ।
कार्यदलले किसानले उद्योगीबाट बक्यौता रकम पाउन बाँकी रहेको र उक्त रकम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिए पनि रकमको मात्रा कति हो उक्त कुरा नखुलाएको उनको भनाइ छ । उखु किसानको संघर्षमा अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघलगायत संघसंस्थाले समेत साथ दिएका छन् । आर्थिक अभियान