No Image Headlineअर्थप्रदेश

युवा उद्यमशीलता : नीति र प्रक्रियतागत झमेलाले सम्भावनाभन्दा चुनौती धेरै

Thrill Factory
Rungta Group

वीरगञ्ज- नेपालमा युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको सरोकारका पक्षले बताएका छन् । नीति र प्रक्रियागत समस्याका कारण सम्भावनाको उपयोग हुन नपाएको उनीहरुले बताएका हुन् ।

नेपाली युवा उद्यमी फोरम वीरगञ्ज (एनवाईइएफ) र इकोनोमिक रिपोटर्स एसोसिएशनले वीरगञ्जमा आयोजना गरेको ‘युवा उद्यमशीलता :  अवसर र चुनौती’ विषयक अन्तरक्रियामा सहभागीहरूले उद्यमशीलता प्रवद्र्धनका लागि नीतिगत सुधार र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले उद्यम व्यापारमा भित्रिएको प्रविधिले अवसर सृजना गरेको बताए । प्रविधिले ल्याएका अवसरहरूको उपयोगमा युवा उद्यमी सचेत हुनुपर्ने उनले बताए ।

अबको उद्यम व्यापार प्रविधिमा आधारित नयाँ खोजको नै भएको अध्यक्ष लाठको भनाइ थियो । अबको व्यापार व्यवसाय प्रविधिमा आधारित हुनुपर्ने उनको जोड थियो ।

सम्भावना भएका ठाउँमा चुनौतीहरू हुने भन्दै उनले चुनौतीहरूकै माझ अवसरको खोजी गर्नुपर्ने उनले बताए ।

व्यापार सहजीकरण भन्सारको मुख्य उद्देश्य भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले स्पष्ट पारे । भन्सारको मूल अभिप्राय नै व्यापार सहजीकरण भएकाले पछिल्ला वर्षहरूमा भन्सार मूल्यांकन र भन्सार दरसम्बन्धी थुप्रै सुधार भएको दाबी उनले गरे ।

व्यापार सहजीकरणका लागि भन्सार प्रशासन र प्रक्रियालाई प्रविधिमा आधारित बनाउँदै लगिएको पनि उनले बताए । ‘भन्सार प्रशासन निजीक्षेत्रमैत्री बन्दै गएको छ । युवा उद्यमीका लागि थुप्रै अवसरहरु छन् । त्यसको उपयोगका क्रममा आउने चुनौतीहरूलाई समाधान गर्दै जानुपर्दछ,‘ उनको भनाइ थियो ।

युवा उद्यमीहरू कर र यसका प्रक्रियामा बारेमा जानकार हुनुपर्ने भनाइ आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा प्रमुख सुनीलकुमार यादवको थियो । ‘कर प्रशासन पारदर्शी हुँदै गएको छ । कार्यालयबाट प्रवाह हुने सेवा र प्रक्रियाबारे वेभसाइटमै जानकारी राखिकोले त्यसलाई व्यवसायीले अध्ययन गर्नु पर्दछ,’ उनले आग्रह गरे ।

करसम्बन्धी अधिकांश सेवा अनलाइनबाटै दिन थालिएकोले सेवाग्राहीलाई पेपरलेस र झन्झटरहित सेवा प्रवाह गर्नु यसको मुख्य उद्देश्य भएको प्रमुख यादवले बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले युवा उद्यमीहरू नयाँ खोज र अनुसन्धानमा आधारित उद्यममा अग्रसर हुनुपर्ने बताए । अहिले प्रविधिको युग भएकाले कुनै पनि व्यापार व्यवसायबारे नयाँ कुराको जानकारी तुरुन्तै हुने र यसबाट उद्यम सहज हुँदै गएको उनको भनाइ थियो ।

‘अवसरसँगै चुनौती पनि हुन्छन् । यसलाई कसरी समाधान गर्ने भन्नेमा युवा उद्यमीहरू सचेत भने हुनु पर्दछ,’ गुप्ताले भने, ‘अहिलेका युवा विदेशबाट उच्च शिक्षा लिएर आएका छन् । उनीहरूलाई ज्ञानको कमी छैन । त्यसमा अद्यावधिक भने हुनै पर्दछ,’ एउटा उद्यमी व्यावसायिक चुनौतीसँग डराउन नहुने पनि उनले बताए ।

नेपाल–भारत सोसियो इकोनोमिक फोरमका अध्यक्ष अशोककुमार टेमानीले अहिलेका युवा उद्यमीहरू देश विदेशबाट उच्च शिक्षा लिएर आएकाले त्यहाँको सिकाइलाई स्वदेशको आवश्यकतामा रुपान्तरण गर्नुपर्ने बताए । उद्यमका क्रममा आउने समस्याको समाधानमा उद्यमी सधैं चनाखो हुनुपर्ने सुझाव टेमानीको थियो ।

नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले सरकारको नीति उद्यम र व्यापारमैत्री नभएको भन्दै नीति र प्रक्रियागत सुधारको खाँचो औंल्याए । उद्यममा प्रवेश गर्न चाहानेले जोखिमसँग डराउन नहुने र समस्याबाटै सम्भावनाको खोजी गर्नुपर्ने पनि बताए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले युवा उद्याशीलता प्रवद्र्धनका लागि सरकारी नीति र त्यसको कार्यान्वयनका समस्याहरूको समाधान खोजिनुपर्ने सुझाव दिए । नयाँ उद्यमीलाई भन्सार र कर प्रशासनका प्रक्रियादेखि ऋण प्राप्तिसमेतमा झमेला हुने गरेको अध्यक्ष तिवारीले बताए ।

नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले नेपालमा उद्यम व्यापारको पर्याप्त अवसर भएको बताए । अवसरको उपयोगमा नीति र प्रक्रियागत समस्या रहेको उल्लख गर्दै अग्रवालले त्यस्ता अवरोधको समाधानमा सरकार गम्भीर हुनुपर्ने आग्रह गरे । नेपाल अहिले जनसांख्यिक अवसर उपयोगको अवस्थामा भए पनि त्यो अवसर खेर गइरहेकोतर्फ पनि उनले सरोकारका निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा फोरम वीरगञ्जमा संस्थापक अरविन्द्र अमात्य, चार्टर्ड एकान्टेन्ट सुवास खण्डेलवाल र बैंकर्स ग्रुप वीरगञ्जका अध्यक्ष नितेस खड्गीले युवा उद्यमीहरूले क्षेत्रगत अवसरहरूलाई पहिचान गर्नुपर्ने सुझाव दिएका थिए । कुनै पनि काम गर्दा आइपर्ने समस्याहरूलाई रचनात्मक तरिकाले समाधान गर्न सके त्यो अवसरको रुपमा रुपान्तरण हुने उनीहरुको धारणा थियो ।

कार्यक्रममा एनवाईइएफका उपाध्यक्ष सन्दीप अग्रवाल, सदस्य विकास ठाकुर, पत्रकार रितेश त्रिपाठी, अनिल तिवारीलगायतले उद्यमशीलता प्रवद्र्धनमा जोड दिएका थिए । कार्यक्रमको संयोजन एनवाईइएफका सदस्य किशन क्यालले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button