अन्तराष्ट्रिय

तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तान फर्किए

Thrill Factory
Rungta Group

कामठाडौं-तालिबानका सहसंस्थापक अफगानिस्तान फर्किएका छन् । तालिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर मंगलबार कतारबाट अफगानिस्तान गएका हुन् ।

कतारको दोहामा विगत केही महिनादेखि रहेका उनी कान्दाहर पुगेका हुन् । कतारमा रहेर उनी अमेरिकी सैनिकको फिर्ती प्रक्रियालाई लिएर अमेरिकासँग वार्तामा थिए ।

तालिबानले गएको आइतबार काबुल नियन्त्रणमा लिएपछि उनी अफगानिस्तानको नेतृत्वका लागि फर्किएका हुन् ।

कान्दाहरलाई तालिबानको धार्मिक जन्मस्थल मानिन्छ । २० वर्षअघि अमेरिका नेतृत्वको सैन्य अभियानले सत्ताबाट हटाउनु पूर्व कान्दाहर तालिबानको महत्वपूर्ण आधार क्षेत्र थियो ।

बरादर कान्दाहर विमानस्थलबाट गाडीमा बाहिरिँदै गर्दा समर्थकहरुले नाराबाजीसहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा साझा गरिएको छ ।

यसैबिच तालिबानले इस्लामिक कानूनमा पनि अफगानिस्तानमा महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । इस्लामिक कानूनको फ्रेमवर्कमा रहेर अफगान महिलाहरुको सम्मान हुने तालिबानले जनाएको छ ।

गएको आइतबार अफगानिस्तानमा नियन्त्रण कायम गरेपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले महिलाहरुलाई काम गर्न छुट दिइने बताएका हुन् । तर केही प्रतिबन्ध र नियमहरु भने लागु हुने बताए ।

प्रवक्ता जाबुहुल्लाह मुजाहिदले सबै अफगानहरु इस्लामको ‘फ्रेमवर्क’ भित्र बस्नु पर्ने कुरा बारम्बार दोहोर्‍याए ।

तालिबानको शासनमा महिलाहरुको अवस्था नाजुक बन्ने र अधिकारहरु खोसिन सक्ने भन्दै अधिकारवादी समूहहरुले चिन्ता व्यक्त गरेका छन् ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले शरिया कानून लागु गरेर इस्लामिक कानूनको कडा व्याख्या गर्दै गम्भीर दण्डको व्यवस्था गरेको थियो । त्यो बेला महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो ।

मंगलबार भएको पत्रकार सम्मेलनमा मुजाहिदलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुले तालिबान शासनमा महिलाको अवस्था कस्तो रहने र अधिकारको रक्षा हुन्छ–हुँदैन भनेर सोधेका हुन् ।

उनले भने, ‘हामी महिलाहरुलाई हाम्रो फ्रेमवर्क भित्र रहेर काम गर्न तथा पढ्न दिने छौँ । महिलाहरु हाम्रो समाजमा निकै सक्रिय हुने छन् ।’ तर उनले महिलाको लुगाका सम्बन्धमा हुने कुनै कुरा बताएनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button