अन्तराष्ट्रिय

अफगानिस्तानमा अशान्ति : राजधानी काबुलनजिकै पुगे तालिवान, आधाभन्दा बढी प्रान्त तालिवानको नियन्त्रणमा

Thrill Factory
Rungta Group

काठमाडौं – तालिवानले एकपछि अर्काे प्रान्तलाई आफ्नो नियन्त्रणमा लिएपछि अफगानिस्तान झनै अशान्त बन्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विद्रोही समूह तालिवानले ३४ मध्ये आधाभन्दा बढी प्रान्त आफ्नो नियन्त्रण लिएको उल्लेख गरेका छन् ।

राजधानी कावुल नजिकै रहेका र पहिला तालिवानको कम उपस्थिति रहेका प्रान्तहरु समेत तालिवानले कब्जामा लिएको छ । सरकारी सुरक्षा फौज र तालिवानबीचको भिडन्तमा सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

तालिबान लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्-तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।

बीबीसीले लेखेको छ, यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।

तालिबानले काबुलमा पनि कब्जा जमाउन सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।

पछिल्लो जानकारीअनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आ(आफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।

शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ ।

पक्तिकाको परिषद अध्यक्षले भनेका छन्गु, गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।

यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ ।

मजार-ए-शरीफ भन्ने शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।

तालिबान लडाकुहरु राजधानी काबुलको जतिजति नजिक पुग्दैछन्, त्यतित्यति मानिसहरुमा डर पैदा भएको वातावरण देख्न सकिने बीबीसीले जनाएको छ ।

शनिबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकको वातावरण थियो । त्यहाँ अफगानिस्तानमा कार्यरत विदेशी नागरिक, दूतावासका कर्मचारी र अफगानिस्तानकै नागरिक कुनै न कुनै प्रकारले बाहिर जाने उपाय खोजीरहेका थिए । तालिबानले कब्जा गरेका क्षेत्रबाट भागेर काबुल पुगेका हजारौं मानिसहरु काबुलका सडक किनारमा बनाइएको अस्थायी क्याम्पमा बसिरहेका छन् ।

तालिबान नेतृत्व र सामाजिक सन्जालमा सक्रिय समर्थकहरुले भने तालिबानले नियन्त्रणमा लिएका क्षेत्रमा स्थिति सामान्य बन्दै गएको बताएका छन् । यसका साथै तालिबानले सबै वर्ग र समुदायका लागि काम गर्ने सन्देश पनि जारी गरिएको छ ।

यस्ता सन्देश तालिबान गुटहरुको तर्फबाट लगातार जारी गरिएको छ । यसको उद्देश्य तालिबानको आक्रमणअघि नै अफगान सैनिकले आत्मसमर्पण गरुन् भन्ने रहेको बीबीसीले जनाएको छ।

तालिलबान लडाकुहरुले बन्दी बनाएकाहरुलाई मार्छन् र युवतीहरुलाई तालिबान लडाकुहरुसँग बिहे गर्न बाध्य बनाउँछन् भन्ने खालका अभिव्यक्तिहरुलाई खण्डन गर्न पनि यस्ता सन्देश जारी गरिएको अनुमान छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।

तालिवानले आफ्ना गतिविधि बढाउँदै गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सुरक्षा फौजलाई प्रभावकारी ढंगले पुनः परिचालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले बढ्दो तालिवानको प्रभावको बारेमा के गर्ने भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायसँग परामर्श भइरहेको बताएका छन् ।

त्यसैगरी देशभित्रका राजनीतिक दलहरुसँग पनि परामार्श भइरहेको जानकारी उनले दिएका छन् । पछिल्लोपटक तालिवानले आक्रमण बढाएसँगै देश गम्भीर राजनीतिक अस्थिरताको चपेटामा पर्न लागेको घानीले सम्बोधनमा उल्लेख गरेका छन् । उनले थप राजनीतिक अस्थिरता र हिंसा रोक्न सरकारले काम गरिरहेको भन्दै नागरिकलाई आश्वस्त बनाउन खोजेका छन् ।

तालिवानले आफूले नियन्त्रणमा लिएका प्रान्तहरुलाई सामान्य अवस्थामा फर्काउन लागेको छ । तालिवानका अधिकारीहरुले मिडिया मार्फत आत्मसर्मण गर्ने सरकारी सुरक्षा फौजलाई केही नगर्ने, नागरिकले आफ्ना आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने र कुनै पनि समुदायको व्यक्तिलाई आक्रमण नगर्ने भनी आश्वस्त पार्न खोजेका छन् ।

उनीहरुले यसअघि आफूहरुले अपनाएको कट्टर नीतिलाई खुकुलो पारेको र अब महिला पनि विद्यालय र काममा जान पाउने उल्लेख गरेका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेमा आफूहरुको के रणनीति हुने भन्ने विषयमा विश्वका ठूला मुलुकहरु भने मौन छन् । उनीहरुको यतिबेला ध्यान त्यहाँ रहेका आफ्ना नागरिक जोगाउनेमै देखिएको छ ।

केही पश्चिमा मुलुकले तालिवानले सत्ता कब्जा गरेकमा त्यसलाई मान्यता नदिने बताएका छन् । तर अमेरिका, वेलायत, भारत, चीन लगायतका मुलुकहरु मौन छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button