देशमुख्य खबर

लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै, माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री

Thrill Factory
Rungta Group

बुटवल-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुने भएका छन् । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्‍वान गरिसकेका छन् ।

बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्‍वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । विपक्षी गठवन्धनका दलहरू सरकार गठनको कसरतमा जुटेका छन् ।

विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । सरकार गठनको दाबी गर्न प्रदेश प्रमुखसमक्ष जाने माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए ।

उनकाअनुसार उपधारा २ अनुशार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी गरिनेछ । दिउँसो ३ बजेपछि केसी मुख्यमन्त्री हुने बरालले बताए ।

मुख्यमन्त्रीसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गठबन्धनको तयारी छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

लुम्बिनीमा माओवादी र कांग्रेसबीच मुख्यमन्त्रीको विषयमा आलोपालो गर्ने सहमति भएको छ । सरकारको नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

अन्य मन्त्रालयको बाँडफाँटको विषयमा कुनै कुरा नभएको पनि जानकारी दिए । ‘माओवादीको जनयुद्ध दिवस फागुन २ हो । २ गतेसम्म कुल प्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । फागुन ३ गतेदेखि मेरो कार्यकाल हुन्छ ।’ उनले भने।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button