उद्योग व्यापारमा प्रविधि र इनोभेसनको खाँचो छ
अनुप अग्रवाल (अध्यक्ष) नेपाली युवा उद्यमी फोरम, वीरगञ्ज
नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष अनुप अग्रवाल एक्सेस ट्रेड लिङ्कका सञ्चालकसमेत हुन् । अग्रवाल डेढ दशकदेखि उद्यम र व्यवसायमा सक्रिय छन् । उच्च शिक्षा अध्ययनपछि पुस्तैनी व्यवसायका आयामलाई फराकिलो बनाउन लागेका अग्रवालको जोन्सन इण्टरनेशनलले हार्डवेयर सामानसमेत उत्पादन गर्दछ । नेपालमा सौन्दर्य प्रसाधनको व्यापारमा सक्रिय उनले भिनी कस्मेटिक्स प्रालिद्वारा उत्पादित फग ब्राण्डको बडी स्प्रे र पफ्र्युमको बजारीकरण गरिरहेका छन् । समता दैनिक डटकमले युवा उद्यमी अग्रवालसित गरेको कुराकानीको सम्पादित अंश :
नेपाली युवा उद्यमी फोरम वीरगञ्जको अध्यक्ष बन्नुभएको छ, यो संस्थाको मूल उद्देश्य के हो ?
स्रोत र साधनको कमी नभए पनि नेपाल विकास र यसका अवसरहरुबाट निकै पछि परेको छ । उद्यम र व्यापारमा पर्याप्त सम्भावनाहरु छन् । तिनको अधिकतम् उपयोगमार्फत देशको मुहार फेर्न सम्भव छ । यो काममा युवा उद्यमीहरुको संस्थागत पहल र प्रयासको खाँचो महसुस भइरहेको थियो । आजको युग सूचना र प्रविधको हो । सूचना प्रविधिका कारण विश्व एउटा गाउँजस्तो भइसकेको छ । यस्तो अवस्थामा उद्योग व्यापारमा पनि नयाँ प्रविधि र इनोभेसनको खाँचो छ । अब पहिलाको जस्तो परम्परागत तरिकाले उद्यम गरेर हुँदैन । युवाहरुले देश विदेशमा अध्ययन गरेर आएका छन् । पढेका, देखेका र बुझेका कुराहरुलाई उद्यमका क्षेत्रमा रुपान्तरण गर्नु आवश्यक छ । अब नयाँ सम्भाव्यताको खोज र इनोभेसनको युग हो । युवाहरुलाई यो उद्देश्यमा अघि बढाउनु नै अहिलेका लागि हाम्रो मुख्य अभिप्राय हो ।
यसका लागि कस्ता कार्ययोजनाहरु बनाउनुभएको छ ?
युवा उद्यमीहरुलाई उद्यमशीलताका बारेमा विभिन्न तालीम, वर्कसप, अध्ययन अवलोकन भ्रमण, अग्रज उद्यमीहरुसँग अन्तरक्रिया र विश्वका भइरहेका नवीन खोज र अनुसन्धानका बारेमा अद्यावधिक गराउने काम भइरहेको छ । साथै यो उद्देश्यका लागि राज्यकातर्फबाट पनि उचित नीतिगत प्रोत्साहनको आवश्यकता छ । यसमा सरोकारका नियकायहरुसमक्ष विषयबारेमा अन्तरक्रिया गर्ने र समस्याहरु समाधानको पहल भएको छ । समस्याहरुको निकास निकाल्दै सम्भाव्यता खोज्ने कामलाई प्राथमिकतामा राखिएको छ ।
तपाई व्यापारमा कसरी प्रवेश गर्नुभयो, यसबारेमा केही बताइदिनुहोस् न ?
हार्डवेयरको पुस्तैनी व्यापार चलिरहेको थियो । उच्च शिक्षा अध्ययन गरेपछि यो व्यापारसँगै अन्य काम पनि गरौं भन्ने लाग्यो । नेपालमा एफएमसीजीको बढ्दो बजार सम्भाव्यता देखेपछि यो क्षेत्रमा प्रवेश गरेको हुँ । हामी उत्पादनमूलक उद्योगमा पनि छौं । व्यक्तिगत रुपमा मैले सन् २०११ देखि भारत र दुबईबाट उत्पादन गरिरहेको भिनी कस्मेटिक्स प्रालिको उत्पादनलाई आधिकारिक आयातकर्ताको रुपमा नेपालमा यसको बजारीकरण गरिरहेको छु । यो कम्पनीको ब्राण्डलाई पहिलो पटक नेपालमा मैले नै भित्र्याएको हुँ ।
नेपालमा यस्ता उत्पादनको बजार कस्तो छ ?
नेपालमा बडी स्प्रे र पफ्र्युमको बजार धेरै राम्रो छ । सौन्दर्य प्रसाधनको बजार वार्षिक ५ अर्ब रुपैयाँबराबरको छ । तर, यसको वास्तविक आकार अझ बढी हुन सक्छ । बडी स्प्रे र पफ्र्युमको बजार १ अर्ब रुपैयाँको हाराहारीमा होला । सरदर वार्षिक २० देखि ३० प्रतिशतसम्म बजार विस्तार भइरहेको छ । अहिले कोरोना महामरीका कारण केही समस्या देखिएको छ । यसमा पहिला तेस्रो मुलुकबाट आउने ब्राण्डको वर्चश्व थियो । अहिले ६० प्रतिशतभन्दा बढी बजार भारतीय उत्पादनले ओगटेको छ ।
यसको बजारमा समस्या पनि त होलान नि ? बारम्बार नक्कली उत्पादनले दुःख दिएको कुरा उठाउने गर्नुभएको छ ।
बजारमा व्यापक प्रतिस्पर्धा छ । यसको बजारमा धेरै खालको प्रतिस्पर्धा छ । भारत र तेस्रो मुलुकका ब्राण्डमा प्रतिस्पर्धा छ । खुला सीमानाका कारण अनधिकृतरुपमा आउने आफ्नै ब्राण्डसँग पनि मूल्यमा प्रतिस्पर्धा गर्नु परेको छ । बजारमा फगको नक्कली उत्पादनले समस्या पारेको छ । केही व्यापारीले चीनमा बनेका नक्कली उत्पादन भित्र्याएर बजारलाई तहसनहस पारेका छन् । उपभोक्तालाई ठगिरहेका छन् । सरकारी निकायले यसको नियन्त्रणमा आवश्यकताजति चासो लिएको छैन । अवैध व्यापारले बढावा पाएको छ । वैध व्यापार निरुत्साहित हुँदै गएको छ ।