अर्थ

बैंकिङ स्थायित्व कायम गर्न प्रोभजनिङमा कडाइ

Thrill Factory
Rungta Group

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

आव २०७७/७८ को वार्षिक वित्तीय विवरण तयार गर्दा नै असल वर्गमा वर्गीकरण भएका कर्जाको साधारण कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । यसअघि यस्तो सीमा १ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रवर्द्धन गर्न यसको सीमा बढाएको बताएको छ । यो व्यवस्थाले बढी कर्जा रहेको बैंकको मुनाफामा असर पर्न जाने देखिन्छ । चालू आवदेखि थप शून्य दशमलव ३ प्रतिशतले कर्जा नोक्सानी बेहोर्दा बैंकको नाफामा प्रभाव पार्ने बैंकरहरू बताउँछन् ।

गत जेठसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको गरेर रू. ४१ खर्ब हाराहारीमा कुल कर्जा रहेको छ । यसमध्ये खराब कर्जा, सूक्ष्म निगरानीको कर्जा र पुनर्तालिकीकरण गरिएका कर्जा बैंकहरूको करीब रू.३९ खर्ब बराबरको असल कर्जा रहेको केन्द्रीय बैंकले बताएको छ ।

यसमा थप शून्य दशमलव ३ प्रतिशत नोक्सानी व्यवस्था गर्दा रू. ११ अर्ब हाराहारीमा थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । यसले गर्दा बैंकिङ प्रणालीको खुद मुनाफा करीब रू. ७ अर्ब ४० करोडले घट्ने नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीले बताए । ‘थप कर्जा नोक्सानी व्यवस्था कायम गर्दा बैंकको नाफामा अलिकति फरक पर्छ,’ उनले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बैंकिङ प्रणालीलाई बलियो बनाउन यो नीति ल्याएको र बैंकहरूको पैसा अहिले अलिकति छुट्ट्याएर राखेको र पछि अवस्था सामान्य भएपछि फिर्ता हुने आश्वासन राष्ट्र बैंकले दिएको बताए ।

‘अहिले बैंकिङ प्रणालीमा केही जोखिम बढेकाले १ वर्षका लागि यस्तो व्यवस्था गरेको र अवस्था सामान्य भएपछि फिर्ता आउने आश्वासन दिएका छन्,’ दाहालले अभियानसँग भने ‘केन्द्रीय बैंकले गरेको अहिलेका व्यवस्थाको प्रभाव के हुन्छ भनेर विश्लेषण गर्न बाँकी छ ।’आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button