खै कहाँबाट हो सरुवा भएर आएका भन्थे, नयाँ मास्टरको नाम गोबिन्द रहेछ। हाम्रो गाउँको निम्न माध्यमिक विद्यालयमा आएको दिन पहिलो घंटिमा वहाँ पाँचौं कक्षामा उपस्थित हुनुभयो। विद्यार्थीहरु लाई अविवादन गरि सकेपछि वहाँले सबैलाई सम्बोधन गर्दै भन्नुभयो, “नानिबबुहरू, म तिमीहरू सबैलाई बराबरी माया गर्छु; तिमीहरू सबै ज्ञानी भएर पढ्नु पर्छ ल ” नौलो सरको चोरी पक्रेर सबै केटाकेटीहरू पेट मिचिमिची हाँसे।
बीचको बेन्चमा एउटा छात्र लगभग डेस्कमुनि भुइंमा बसिरहेको थियो। उसको पछिल्तिरका साथीहरू आपसमा खासखुस गर्दै थिए, “हेर है, सबैलाई बराबरी माया गर्ने सरले आज यो बारुदेलाई लास पर्नेगरी गोदेर पाठ पढाउन सुरु गर्नुहुन्छ। गोबिन्द सरले डेस्कमुनि ईसारा गर्दै भन्नुभयो, “बाबु, के हरायो? आफ्नो ठाउँमा बस।”
हाँजिरी सुरु भयो। सरले क्रमश: नाम बोलाउँदै उठ्नेहरूलाई हेर्दै मुसुक्क मुस्काउँदै अर्को नाम बोलाउँदै गर्नुभयो। केटाकेटीहरू सुरुमा अचम्भित भए। आँफुहरूलाई हाँजिरिमा नामले बोलाएको उनिहरूले पहिलो पटक सुने। सवैले आफ्नो पालोमा जुरुक्क उठेर ‘हाँजिर’ भन्दै हाँजिरी जनाए। “बिमल क्षेत्री,” सरले भन्नुभो। बिचको एउटा छात्रले उठेर ‘हाँजिर’ भनि बस्न नपाऊँदै “ऐया आमा, मार्यो रां—को छोराले!” भनेर चिच्याउँदै उठेर छट्पटाउन थाल्यो।
केटाकेटीहरू फेरि एक हलको मेलो हाँसे। शान्त! शान्त!! भन्दै गोबिन्द सरले बिमलको स्थानमा पुगेर खबर बुझ्नुभयो। बबुरो जाँघेको आसनमा हात राखेर रुँदै थियो। अघि डेस्कमुनि बसेको केटा खुच्चिंग खाईस् भन्ने पाराले बिमलको मुखमा हेरेर मुस्काई रहेको थियो। पीडितले उसैतिर चोरी औंलाले देखाउँदै अर्को रक्ताम्य हातले सिसा कलमको एक टुक्रा गोबिन्द सरको हातमा राखिदियो।
विमललाई लिएर गोबिन्द सर आँफै अस्पताल जानुभयो।
यता बारुदेलाई घिसारेर प्राचार्यको कक्षमा लगेर धोबी धुलाई गरियो। उसका औंलाका कापामा सिसाकलम च्यापेर फनफनी घुमाइयो। एक जोर बेतका छडी भाँचिए। त्यतिले नपुगेर दुवै गोलिगांठामा गलखुट्टी लगाएर पिपलको रुखमा उभिन्ड़ो परेर झुन्ड्याईयो। दुई-तीन जना शिक्षकले बारुदेलाई धोइधाइ गरि रहँदा अरुहरु किम्कर्तव्य बिमुढ बनेर उभिई रहे।
=======================================
विमललाई अस्पतालमा आफ्ना घरपरिवारको जिम्मा लगाएर गोबिन्द सर पाठशाला फर्कनु भयो। विद्यालयमा जे भैरहेको थियो त्यो देखेर वहाँका हातगोडा फतक्क गले, शरीरमा चिटचिट पसिना आयो, वस्त्रमै दिशा-पिसाब बिसर्जन होला जस्तै भयो। वहाँको पुरै शरीर थर्र काँप्यो। पीडकलाई प्राचार्यको छेवैको कुर्चीमा बाँधेर राखिएको थियो।
“बारुदेकी आमालाई बोलाइएको छ”, प्रचार्यले भन्नुभयो।
“अनि उसको बुवा?”
“त्यो माओबादीको बम बनाउने मिस्त्री थियो। एकदिन आँफैले बोकेको गोला-बारुद पड्केर मर्यो त्यसैले सबैजना यो ज्यानमारा अपराधीलाई बारुदे भन्छन्” प्राचार्यले उसको अनुहारमा बाघपन्जा जामाउँदै भन्नुभयो।
“यसलाई कुटेर यो भित्रको अज्ञानतालाई मार्न सकिन्न सर, डोरी फुकाई दिउँ; अहिले आमासँग कोही अरुपनि आएभने हाम्रो खैरियत छैन”,गोबिन्द सरले भन्नुभयो।
“यो अज्ञानी हैन, अधम हो। तपाईं नयाँ हुनुहुन्छ, यसलाई काँध नाथाप्नुस; पछि यसले तपाईंको गर्धन निमोठ्ने छ”, उपस्थितहरुले एकै सासमा भने। गोबिन्द सर केहि प्रतिबाद गर्नु भएन। बाहिर कोही भन्दै थिए, “घटनाले राजनीतिक स्वरूप लिइसकेको छ; अब बिद्यालयमा केहिदिन पढाई हुने छैन।
प्राचार्यले एकक्षण केहि सोचेर डोरी खोलिदिनु भयो। अघि उसलाई धुलाई गर्ने शिक्षकहरूले धारामा लगेर पखालपुखुल पारि पुछपाछ गरेर फेरि कुर्चीमा ल्याएर सुकाए।
बिमलको परिवार माओबादी पिडित रहेछ। उसका बुवा त्यतिबेलाको शाही नेपाली सेनामा छंदा एम्बुसमा परेर गोडा गुमाएका ज्याद्रा सेनानी रहेछन्। बहस गर्नुपर्दा पहिले बैसाखीले हिर्काएर पछि कुरा गर्दा रहेछन्।
=======================================
बारुदेकी आमा रुँदै आईन्। छोराको गालाको निलडाममा हात फिराईन्, पिंडुला र पैतालामा लागेका निशानाछाप हेरिन् अनि प्राचार्यतिर हेरेर रुँदै सोधिन्, “ यसले फेरि के बिराम गर्यो, सर?”
“के को बिराम नि झन्डै मान्छे मारेन अपराधीले! हेर नानी, व्यक्तिगत रुपमा तिमीसंग मेरो कुनै गुनासो छैन; सायद यसको शरीरको रगतमै कुनै खराबी छ जसले यसले खाएको पोषक नै विषाक्त बनाएको छ। हामीले यसलाई मान्छे बनाउन खोज्यौं तर यो त गोबन साँप पो निस्कियो। यसलाई हामीले सकेनौं। तिमीलाई यसको जिम्मा लिन भनेर बोलाएको। यो अब यहाँ रह्यो भने आँफुपनि मर्छ र साथमा हमिलाईपनि मार्छ,” प्रचार्यले एउटा रजिस्टरको पन्ना पल्टाएर उसकी आमालाई हस्ताक्षर गर्न दिंदै भन्नुभयो। गोबिन्द सरले रजिस्टर हातमा लिएर मनमनै पढ्नुभयो।
बारुदेको असली नाम दिक्पाल रहेछ। “राजकुमार दिक्पाल!” गोबिन्द सर बिस्तारै गुनगुनाउनु भयो। आमाले घुटुक्क थुक निलिन्। दिक्पालको निष्कासन पत्र रहेछ। गोबिन्द सरले रजिस्टर टेबुलमा राख्दै भन्नुभयो, “दुई-चार दिनको कारवाही भिन्दै हो तर यसलाई यसरी निष्कासन नै त गर्नु हुँदैन, सर। यसको भविष्य बर्वाद हुन्छ। गल्ती मानिसबाट नै हुन्छ, सर यो त अझै बच्चै छ। यस्तो अवस्था तपाईं हाम्रो जिन्दगीमा पनि आउँदो हो यदि हाम्रो शिर माथिबाट यसैको उमेरमा छत उडेको भए। यसलाई एकपटक सुध्रने मौका दिईनुपर्छ र हामीले यस्ता बालबालिकालाई जीवन र जगत चिन्ने बातावरण तयार गर्नु पर्छ। नजिकै रहेका एक शिक्षकले भने,
“एउटा सडेको माछाले सारा तलाउ गन्हाउँछ,
कुहेको आलु एउटाले बोह्रै समेत सडाउँछ।”
“आलु आलु हो साथी हो, माछा माछा नै हो तर हामी भनेको मान्छे हौँ”, गोबिन्द सरले भन्नुभयो।
“ओ नया सर, कतै नया जोगी धेरै खरानी नहोस्,” पुरानाहरुले दिक्पाललाई निष्कासन गर्नै पर्ने मनसाय राखे। कोठामा लामो हाँसोको फोहरा छुट्यो।
“कुनै काम गरेर पेट त जो कसैले पनि पाल्छ साथी हो, हामी त शिक्षक हौँ,” गोबिन्द सरले भाबुक भएर भन्नुभयो, “यहाँ कोही कुनै पेशा नपाएर शिक्षक बन्नु भएको छ भने मेरो भन्नु केहि छैन तर म शिक्षक हुनको लागि शिक्षक भएको हुँ। यसलाई एक मौका दिनुहोस्; मलाई बिश्वास छ हामीले वातावरण दिने हो भने यो बालक भित्र राजकुमार दिक्पाल बन्ने क्षमता छ।”
समुहमा कसैले भने, “ठिकै छ सर, यो बारुदेलाई एक हप्तामा दिक्पाल बनाएर देखाउनुस त्यसपछि हामी तपाईंले भनेको विश्वास गर्ने छौं।”
दिक्पाल एक हप्ताकोलागि निष्कासित भयो। ऊ अब विद्यालय फर्केर नआउन्जेल गोबिन्द सरकै घरमा वहाँ संगै बस्ने भयो। सरको डेराको ठेगाना लिएर उसकी आमा उसलाई लिएर आवस्यक सामानको जोहो गर्न घर गईन।
नभन्दै विमलको तिघ्रामा ठूलै शल्यक्रिया गरि कलमको बाँकी टुक्रा निकाल्नु परेछ । ठ्याम्मै पचास हजार खर्च भयो रे । विमलका बाहरुले विद्यालयमा झण्डै झण्डै आगो लगाएका थिए । गोविन्द सरले दिक्पालको बुवा र हजुर- हामीमा फरक के रह्यो तनि? ठिक छ आज स्कुल भन्काउँ दुईचार महिना थकाईमारौँ र पछि तपाईँहरुसँगै चन्दा मागेर नयाँ भवन बनाउँला त्यति बेला सम्म हाम्रा बाबुनानी पनि बाटोमा गुच्चा खेलुन् र दिक्पाल पनि गाडिको पछिल्लो ढोकामा झुण्डिएर लौ लौ काठमाडौँ काठमाडौँ भन्न थालोस् । गोविन्द सरले यति भनेपछि भिडको रीस मन्थर भयो । एकहप्तामा बारुदेलाई दिक्पाल बनाउन नसकेमा गोबिन्द सरले शिक्षण पेशानै त्याग्ने हुनुभयो।
=======================================
“दिक्पाल ! कपाल कोर, दाँत माँझ, कपडा लगाऊ र हिँड”, गोविन्द सरले भन्नुभयो, “हामी आज बजार जान्छौँ।” ऊ खुब रोयो । “किन रोएको?” सरले सोध्नुभयो।
“दिक्पाल त मेरो नाम हो। तपाईले कसलाई भन्नुभएको?” उसले प्रति प्रश्न गर्यो। “मैले तिमीलाई नै भनेको,” गोविन्द सरले भन्नुभयो ।
बाटोमा उसले भन्यो कि विद्यालयमा उसलाई कसैले दिक्पाल भनेर बोलाउँदैनन् ।
त्यसदिन विमलले उसको कापीमा लेखेको दिक्पाल शब्द काटेर मोटो कलमले बारुदे लेखेकोले उसले त्यसको बदला लिएको रहेछ।
सरले भन्नुभयो, “अब कहिल्यै कसैसँग बदला नलिनु, कसैले नराम्रो कुरा भनेमा सुनेको नसुन्यै गर्नु । कक्षामा एक दुइदिन विचार गर्नु उनिहरुले नराम्रो भने भने म बाहेक अरुसरहरुसँग गुनासो पनि नगर्नु । सहन नसके शिक्षकको पछि पछि बाहिर आउनु, फूलको बोट मुनी बस्नु र अर्को सरको अघि अघि कक्षामा जानु म सबै सरलाई भनिदिन्छु । तिमीले राम्रो गर्यौ भने म तिम्रो नामको अगाडि राजकुमार थपेर तिमीलाई राजकुमार दिक्पाल बनाइदिन्छु। उसले सोध्यो राजकुमार दिक्पाल को हो र?
बेलुका सुत्ने बेलामा गोविन्द सरले उसलाई राजकुमार दिक्पालको कथा सुनाउनु भयो । दिक्पाल दिनभर घर बस्दथ्यो गोविन्द सरले दिएको गृहकार्य सबै गथ्र्यो टि.भी. हेथ्र्यो, चित्र बनाउँथ्यो र गीत गाउँथ्यो । गोविन्द सर साँझ आएर उसलाई दिन भरिको पाठको सार भनिदिनुहुन्थ्यो। गणीत र विज्ञान पढाउँनुहुन्थ्यो, आँफुले जानेको कुरा अरुलाई सुनाउँदा कसरी पढाइलाई सहयोग पुग्छ भनेर बताउँनुहुन्थ्यो।
सरले धर्मशास्त्रका कथा भनिरहँदा ऊ ज्ञानी बनेर सुन्थ्यो । हरेक साँझ दिक्पाल सुत्नु अगाडि आफ्नो अतितको बारेमा सम्झना भएसम्मका कुरा सरलाई बताउँथ्यो। सरले यो ठिक यो कम ठिक भनेर कारण सहित सम्झाउनु हुन्थ्यो। कहिले काही ऊ सरले भनेझैं अभिनय गर्दथ्यो। गोविन्द सर मस्त भएर सुन्नुहुन्थ्यो र हेर्नुहुन्थ्यो।
=======================================
विद्यालयमा फुर्सदको समय गोविन्दसरले दिक्पालका अघिल्ला वर्षका कक्षा शिक्षकहरुसँग छलफल गर्नुहुन्थ्यो। उसको बारेमा उनिहरुका डायरीमा केही लेखिएका छन्की भनेर सोध्नुहुन्थ्यो। वहाँहरुपनि सम्झे बुझे सम्मको सहयोग गर्नुहुन्थ्यो। बारुदे मरिसकेको थियो, दिक्पाल भ्रुण बनेर गोविन्द सरको गर्भमा हुर्किइ रहेको थियो ।
अरुहरुलाई बारुदे नहुँदा विद्यालय शुन्य लाग्दथ्यो तर गोविन्द सरलाई त्यसको पत्व थिएन। पुतली र फूलबारी कक्षामा दिक्पाल एउटा होनहार प्रतिभाशाली बालक रहेछ जो नाच्न गाउन, चित्र कोर्न र अभिनय गर्न जान्ने रहेछ । एक कक्षाको रेकर्डमा ऊ तृतिय भएको पाइयो भने उसले हस्तलेखन चित्रकला र नृत्यमा पनि पुरस्कार पाएको रहेछ । दुई कक्षामा दिक्पालले सर सफाई, अनुशाशन, कक्षा दोश्रो र नृत्य र गायनमा पुरस्कार पाएको रहेछ। तिन कक्षाको शिक्षकले आफ्नो डायरीमा दिक्पाल, एकोहोरिने, टोलाउने, एकान्त प्रेमी, रुन्चे आदि लेख्नु भएको रहेछ। उसको पढाइ पनि खस्कदै गएको रहेछ।
यसै वर्ष उसको बुवाको मृत्यु भएको रहेछ भने चार कक्षामा उसलाई विषयलागेर पास भएको, अन्तरमुखी, साथीहरुको सामान भाँच्ने, विगार्ने फूल उखेल्ने, अरुलाई बिनासित्ति कुट्ने भन्ने टिप्पणी गरिएको रहेछ तर कोही पनि त्यसको गहिराइमा पुगेनछन्।
पाँच कक्षाको आधा वर्षमा उसलाई चार पटक अफिसमा ल्याएर कारवाही भैसकेको रहेछ। उसमा झगडा गर्ने, चोर्ने, अरुलाई दुःखदिने प्रवृत्ति हावी भएको उल्लेख भएको रहेछ। साथै उसकी आमा, छलफल कार्यक्रममा विद्यालय उपस्थित नभएको भन्ने समेत अभिलेख रहेछ।
निरन्तर मूल्याङ्कन गरिएको रहेछ, अभिलेख पनि राखिएको रहेछ बाँकी के गर्ने कसोगर्ने कसैलाई चासो रहेनछ वा जानकारीनै रहेनछ। गोबिन्द सरले यी सबै कुरालाई सरसर्ति टिप्नुभायो र एक साँझ दिक्पाललाई पढ्न दिनुभयो। उसले सबैकुरा रुँदै रुँदै पढ्यो घोप्टे परेर धेरैबेर रोइरह्यो।
=======================================
दिक्पाललई पाठशाला फर्काउने अघिल्लो दिन गोविन्द सरले बिहानको प्रभात फेरिमा सबै छात्र–छात्राको अगाडि उभिएर भावुक स्वरमा बारुदेको एकहप्ता अगाडि मृत्युभएको र ऊ दिक्पाल बनेर फेरि जन्मिएको कथा सुनाउनु भयो र अब कोही कसैले कसैलाई नाम राखेर नजिस्काउनु र कसैले आफूलाई नराम्रो व्यवहार गरेमा आफू (गोविन्द सर) लाई मात्र भेटेर उजुर गर्न भन्नु भयो ।
विमलपनि वैसाखीको साहरामा पढ्न आउन थालेको थियो । अन्तमा गोविन्द सरले भन्नुभयो, “भोलिदेखि विमल र दिक्पाल एउटै स्थानमा अगाडी बस्ने छन् र आवश्यक परेको बेला दिक्पालले विमललाई हर काममा सहयोग गर्ने छ”।
त्यो साँझ दिक्पाल गोविन्द सरसँग हेडसरको घरमा पुग्यो । सबैलाई नमस्कार गर्यो र भन्यो, “सर भोलिदेखि म पढ्न आऊँ?” गहभरि आँशु झारेर हेडसरले भन्नुभयो रातीमा पनि पढाइहुने भए म तिमीलाई आजै डाक्थें। हुन्छ भोलि देखि आउनु राम्ररी पढ्नु र यो गोविन्द सरको नाक राख्नु”। त्यसपछि दिक्पाल विमलको घर पनि पुग्यो उसले त्यो दिनको घटनामा आफूलाई क्षमादिन भन्यो । खोच्याउँदै अगाडि आएर विमलले भन्यो ।
“म विरामी भएपछि तँ पनि पढ्न नआको रे हो ? तँलाई मैले के किन्याछु थाह छ? भो, म भोलि स्कुलमै दिन्छु। अब हामी कहिल्यै झगडा नगर्ने है दिक्पाल”। उनीहरुले साँझको खाना त्यहिँ खाए। हिड्ने बेलामा विमलका बाले गोविन्द सरलाई अँगालो हालेर भन्नु भयो “मास्टर हुनु त हुनु तपाईजस्तो हुनु । साला जागिरे र राजनितिक पार्टीको झोले मास्टरले यो देश विगारेको गोविन्द सर। मेरो छोरालाई पनि गोविन्द क्षेत्री बनाइदिनु होला।’’ गोविन्द सर केही बोल्नुभएन।
=======================================
भोलिपल्ट दिक्पाल पाठशाला गयो गोविन्द सरसँगै। बिमलले उसलाई एउटा फोटोको फ्रेम दिंदै भन्यो, “लेऊ,यसमा तिम्रो,मेरो र गोबिन्द सरको तस्वीर राख्ने भनेर बाले भन्नुभाछ।” उसले कक्षामा गोविन्द सरले भनेझैँ पढ्यो। सरले हरेकदिन दुईपाँच मिनेट सार्थक जीवनका बारेमा ठूला ठूला मान्छेका उदहारण दिएर केही भन्नुहुन्थ्यो त्यसको प्रभाव ससाना नानी बाबुमा राम्रो पर्न थाल्यो।
हेर्दाहेर्दै बारुदेको नामोनिशान हरायो र दिक्पाल राजकुमार दिक्पाल बन्ने तयारीमा थियो । एकदिन गोविन्द सरले कक्षामा भन्नुभयो भोलि मेरो जन्मदिन हो म यहि कक्षामा जन्मदिन मनाउने छु हेरौँ कसले के के उपहार ल्याउँछौ ? भोलि पल्ट कक्षाका सबैले केहीनकेही लिएर आएका रहेछन् । भित्तामा कागज र फूल टाँसिएको थियो र बोर्डमा लेखिएको थियो- ‘जन्मदिनको शुभकामना’ गोविन्द सर। वहाँ कक्षामा आउनासाथै सबैले उठेर जन्मदिनको गीत गाए । सरले केक ल्याउनुभएको रहेछ। मैनवत्ति बले र निभे।
सबैले सरलाई उपहार दिँदै केक खाए। दिक्पालको पालो आयो। उसले अप्ठ्यारो मानेर प्लास्टिकमा पोको पारेको उपहार अगाडि बढायो। अरुको उपहार झिल्झिले कागजले बेरेर रिवनले बाँधिएको थियो। उसको उपहार पत्रिकाले बेरेर प्लास्टिकको थैलीमा राखिएको रहेछ। सबैको अनुमति लिएर गोविन्द सरले दिक्पालको उपहार खोल्नुभयो। पत्रिका भित्र एकथान सुकिलो पुरानो गलवन्दी र ढाकाको टोपी थियो। सबैजना गलल हाँसे। त
र गोविन्द सरले केही नबोली आफ्नो टोपी पट्याएर कोटको खल्तिमा राख्नुभयो र दिक्पालले दिएको टोपी लगाउँदै गलवन्दी झिकेर घाँटीमा एक फन्का घुमाइ दूवै फूर्का छातिमा झुन्ड्याएर भन्नुभयो, “आहा!” सबैले तालि बजाए। धेरैबेर। घर जाने बेलामा दिक्पालले गोविन्द सरलाई भन्यो, “सर, आज हजुर मेरो बुवा जस्तो देखिनु भाको छ।’’
त्यो वर्षको जाडोभरि गोविन्द सरले अर्को गलवन्दी र टोपी लगाउनु भएन।
त्यसदिन देखि गोविन्द सरले झैं अरु शिक्षकहरुले पनि कहिल्यै कक्षामा पाठमात्र पढाउनु भएन बरु विद्यार्थी पढाउनुभयो।
दिक्पालहरुले फेरि गित गाए, चित्र कोरे, नाचे, अभिनय गरे, देउसी भैलो खेले, चन्दा बटुलेर सामाजिक काम गरे।
गोविन्द सरले सबैजनालाई निकै गहिरिएर अध्ययन गर्नुहुन्थ्यो र आवश्यक ठानेमा विद्यार्थीको घरमा बासै बस्ने गरि पनि जानुहुन्थ्यो। यसले गर्दा विद्यालयमा समस्या ग्रस्त भनेर चिनिएका खास खास छात्र–छात्राहरुको प्रगति सोचेभन्दा छिटो हुन गयो।
=======================================
त्यसको तीन वर्ष पछि आठौँ कक्षा उत्तीर्ण गरेर दिक्पाल लगायत उसका सबै साथी नजिकैको माध्यमिक विद्यालयमा भर्ना भए। यता गोविन्द सरको प्रेरणाले कुनैपनि दिप्कालले फेरि बारुदे हुनु परेन।
दुईवर्ष पछिको प्रवेशिका परीक्षाको नतिजामा दिक्पाल जिल्ला प्रथम भयो। उसलाई जिल्लाका विभिन्न संघसंस्थाले पुरस्कृत गरे। हरेक पटक उसले गोविन्द सर र अन्य गुरुहरुलाई संझना गर्यो। एकदिन जि.शि.का ले उसलाई शिक्षादिवसको दिनमा एक समारोह विच उसलाई पुरस्कृत गर्ने खबर पठायो।
त्यसैदिन उसले गोविन्द सरलाई भेटेर भन्यो, “सर, त्यो पुरस्कार म हजुरको हातबाट लिन चाहन्छु।’’
पुरस्कार थाप्ने क्षण दिक्पालले भावुक भएर भन्यो, “यसको असली हकदार गोविन्द सर हो। यदि सबै शिक्षक गोविन्द सर भैदिए समाजका कुनै दिक्पालले ‘बारुदे’ बन्नु पर्दैन त्यसैले म यो पुरस्कार उहाँको हातबाट लिन चाहन्छु।’’ ताली बज्यो ढाका टोपी र गलबन्दीमा सजिएर गोविन्द सर मञ्चमा आउनु भयो।
वहाले शिक्षा अधिकारीको हातमा हात खप्ट्याएर दिक्पाललाई नगद, प्रमाणपत्र र तक्मा लगाइ दिनुभयो। दिक्पालले आफ्नो गलाबाट तक्मा झिकेर गोविन्द सरलाई लगाइदिँदै वहाँलाई अँगाले हालेर रोयो। दर्शकदिर्घामा लामो समयसम्म ताली बज्यो। गोविन्द सरको गलवन्दीको फूर्काले दुबैजना प्राणीका आँखा ओभाना पारिए।
=======================================
त्यसपछिका दिनमा पनि दिक्पालले कहाँ कहाँ के के पढ्यो; के के प्रगति गर्यो, उसका साथीहरुले के के गर्दैछन भन्ने खबरहरू अईनै रहे यता गोबिन्द सरको प्रयासमा ओठ लेप्र्याउनेहरु वहाँलाई साथ दिन थाले। गोबिन्द सरको लगन र परिश्रमको साथ पाएर गाउँलेहरूको आफ्नै गाउँको पाठशालामा मा. वि. तहको पठन पाठन गराउने सदिक्षापनि साकार भयो दिक्पाल नियमित रुपमा आफ्नो पढ़ईको बारेमा गोबिन्द सरलाई लेखि रहन्थ्यो ऊ प्रमाणपत्र तहको परीक्षामापनि जिल्ला भरिमा अब्बल बनेर पेश भयो।
सबैले दिक्पाललाई स्नातक तहमा डाक्टर, इन्जिनियर, वैज्ञानिक के के बन्न पढ्नु पर्ने बिज्ञान बिषय लिएर पढ्न आग्रह गरे तर उसले स्थानीय क्याम्पसमा शिक्षा शास्त्रमा गणित र बिज्ञान बिषय लिएर अध्ययन गर्यो र पढाईमा कुनैपनि विषय सानो वा ठुलो हुन्न जे पढेपनि अब्बल दर्जाको बन्नुपर्छ भन्ने गोबिन्द सरकै बिचारलाई मुर्तरुप दियो।
दिक्पालले स्तानकोत्तर तहको दोश्रो वर्षको परीक्षाको तयारी गर्दै गर्दा उसकी आमाको निधन भएछ। उसका दुइवटा विषयको परीक्षा छुट्ने भएछ्न। तर गोविन्दसरले उसलाई उच्च मनोवल साथ परीक्षा दिन प्रेरित गरि रहनुभयो। गोबिन्द सरकै सल्लाह बमोजिम काज क्रियाको अवधीका अधिल्ला तीन दिनमै तेह्रौं दिनको सम्पूर्ण प्रकृया पुरा गरियो र दिक्पाल परीक्षामा सामेल भयो। झण्डै सात महिना पछि एकदिन उसले लेख्यो, “सर, मैले राम्रो अंक ल्याएर स्नातकोतर उतिर्ण गरे।’’
=======================================
हप्तादिन अगाडि दिक्पालको विवाह उसँगै शिक्षामा काम गर्ने एउटी सहकर्मीसँग तय भएछ।
गोविन्द सरले ई–मेल मार्फत खबर पाउनुभयो। लेखिएको थियो, “पिताजी, आमालाई लिएर घर सिगार्न थाल्नुहोला। म एक दुई दिनमा आउँछु।’’
=======================================
आज २०७१–मंसीर–१८ गने दिक्पालको विहेको जन्तिवाजा गोविन्द सरको आँगनमा घन्केको छ र वहाकी धर्म पत्नी कचौरामा दुध लिएर आफू र दिक्पाललाई पछ्यौरीले ढाकेर रिती पुरा गर्दै हुनुहुन्छ। उता गोविन्द सर बुढ्यौली बिर्सेर पंचे बाजामा नाच्दै हुनुहुन्छ।
वहाँको शिरमा वहाको तीसौँ जन्म दिनको उपहार टोपी सगरमाथा भएर बसेको छ भने गल्बन्दीको फेरोले आँगनमा सुर्य-चन्द्रको घेरा बनाएको छ। उता मण्डपमा दिक्पालको बिदाई हुँदै गर्दा गोबिन्द सर नाँच्दा नाँच्दै टक्क अडिनु भयो र अगाडि बढेर आफ्नो शिरको टोपी दिक्पाललाई लगाई दिनुभयो। बाटोभरि जानिफकारहरूले गलबन्दी र ढाकाटोपीको कथा एकअर्कालाई सुनाई रहे।
सम्पादक ज्यु नमस्कार,
मेरो कथालाई उचित ठानेर स्थान दिनु भएकोमा आभारी छुl साथै जो जो शिक्षक, अभिभावक, विद्यार्थी वा अरु जो कसैले यो कथा एक पटक पढ्नुहुन्छ, वहाँहरूले यसलाई अवस्य मन पराउनुहुन्छ भन्ने विस्वास लिएको छुl