देशमुख्य खबर

जसपाको आधिकारिकता विवाद आज टुंगिँदै, महन्थ ठाकुर पक्षलाई साख जोगाउनै सकस

Thrill Factory
Rungta Group

काठमाडौ– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद निर्वाचन आयोगले आज (सोमबार) टुंग्याउने तयारी गरेको छ । जसपाको कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर आयोगले आधिकारिकता विवाद टुंग्याउन लागेको हो ।

जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै आएका छन् । उनीहरुले समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिएको छ । यादव समूहले ५१ मध्ये ३१ जना सदस्यलाई अइतबार नै लगेर रिसोर्टमा राखेको छ ।

कार्यकारिणी सदस्य र सांसदको बहुमत पुर्‍याउन अर्को पक्षले चलखेल गर्न सक्ने भन्दै यादब समूहले प्रशिक्षणको नाममा कार्यकारिणी सदस्य तथा सांसदहरुलाई रातभर नै गोदाबरी रिसोर्टमा राखेको हो । उनीहरू सोमबार रिसोर्टबाट सिधै आयोग जादैछन् ।

‘हेडकाउन्ट’ रोक्न अन्तरिम आदेश माग गर्दै सर्बोच्च पुगेको ठाकुर पक्षको मागलाई अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसले ठाकुर पक्ष साख जोगाउने चुनौतिमा परेको छ ।

महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट हालेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको हो ।

ठाकुर पक्ष अब के गर्ने भन्ने रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेका छन् । पहिलो पटक गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारविरूद्ध आन्दोलनमा गएको जसपा प्रतिनिधिसभा पुनर्स्थापनापछि भने अनौपचारिक रुपमा विभाजित छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गरेका थिए । ओलीले विश्वासको मत माग्दा तटस्थ बसेर ओलीलाई अदृष्य रुपमा सघाएका उनीहरु ओलीले पुनः प्रतिनिधिसभा विघटन गरेपछि उनको सरकारमा सभागी भएका थिए ।

अदालतले मन्त्रीहरुलाई हटाइदिएपछि यो समूहमा अन्योल बढेको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेर ओलीलाई नै सत्ताबाट हटाइदिएपछि ठाकुर पक्षको राजनीतिक अझ संकटमा परेको छ ।

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन, नागरिकतालगायतमा मागमा ओली सकारात्मक भएको भन्दै उनको समर्थनमा उभिएका थिए । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि देउवाको पक्षमा विश्वासको मत दिएको थियो ।

ओली कदको विरोधमा उत्रिँदै आएको यादव समूह अहिले सरकारमा जाने तयारीमा छ । पार्टीको आधिकारिकतासँगै यो पक्षमा को मन्त्री बन्ने भन्नेमा दौडधुप पनि जारी छ ।

ठाकुर पक्ष पार्टीभित्र भने चरम अविश्वासमा परेको छ । सत्ता र राजनीतिक दुवै संकटमा परेपछि यो समूह आफ्ना पुरानै मागलाई दोहोर्‍याएर प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइरहेको छ । यतिबेला पार्टी र जनतामाझ आफ्नो विश्वास बचाउने चुनौतीमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button